८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटना कम गर्न सेफ्टी ब्यारियर

नारायणगढ–मुग्लिन सडकखण्डमा बनाइएको वायर रोप सेफ्टी ब्यारिएर । तस्बिर : नागरिक

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनाको जोखिम कम गर्न केबुल ब्यारियर सिस्टम राखिएको छ।

बढी दुर्घटना हुने दुई स्थानमा केबल ब्यारियर सिस्टम प्रयोग गरिएको हो । जसअन्तर्गत सडकखण्डको पाँच सय मिटर दूरीमा वायर रोप सेफ्टी ब्यारियर राखिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए ।

दुर्घटना जोखिम बढी रहेको मुग्लिन क्षेत्रमा दुई सय मिटरमा वायर रोप ब्यारिएर राखिएको छ । यस्तै, पाँच किलोनजिक तीन सय मिटरमा अर्काे रोप ब्यारियर राखिएको इन्जिनियर खनालले बताए । चिनियाँ टोली नै आएर सडकखण्डमा सेफ्टी ब्यारिएर राखिदिएको हो।

विश्वमा सडक सुरक्षामा अपनाइने सफल उपायका रूपमा रहेको केबुल ब्यारियर सिस्टम नेपालमा भने पहिलोपटक नारायणगढ–मुग्लिन सडकखण्डमा प्रयोग गरिएको इन्जिनियर खनालले जानकारी दिए । चीनको छेन्दु जिक्वान हाइवे फ्याकल्टी म्यानुफ्याक्चरिङको को सहयोगमा रोप ब्यारियर राखिएको उनले बताए । यो प्रविधि सडक सुरक्षाका लागि विश्वभर नै उत्कृष्ट ठहरिएको इन्जिनियर खनालको भनाइ छ । ‘यसले लोड पनि धेरै थेग्न सक्छ,’ उनले भने, ‘अरू सेफ्टी ब्यारियरको तुलनामा यसबाट धेरै सुरक्षा हुन्छ ।’

विश्वमा सडक सुरक्षामा अपनाइने सफल उपायका रूपमा रहेको केबुल ब्यारियर सिस्टम नेपालमा पहिलोपटक नारायणगढ–मुग्लिन सडकखण्डमा प्रयोग गरिएको हो ।

सडकखण्डको नदी किनारतर्फ राखिएको वायर रोप ब्यारियरले साना सवारीसाधन तथा बसलाई मात्र नभई सामान सहितका ट्रकलाई समेत नदीमा खस्नबाट बचाउने उनले बताए । यस प्रणालीले तीस टनसम्मको लोड थेग्न सक्ने उनले जानकारी दिए । नेपालका पहाडी सडकहरूमा डब्लु–बिम मेटल क्र्यास ब्यारियर र न्यु जर्सी कंक्रिट क्र्यास ब्यारियर राख्ने गरिएको पाइन्छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यसअघि यस्तै सेफ्टी ब्यारियर बनाइएका छन् । भार धेरै भएका सवारीसाधनहरू ठोक्किँदा रोक्न नसकेका कारण धेरै धनजनको क्षति हुने गरेको छ । केबुल ब्यारियर सिस्टमको मर्मत–संभारसमेत छिटो– छरितो गर्न सकिने भएकाले समेत सडक दुर्घटनाको जोखिम धेरै भएको नारायाणगढ–मुग्लिन सडकखण्डमा उपयुक्त भएको सडक आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर खनालले बताए ।

दुर्घटना जोखिम कम गर्न सडकमा रुम्बल स्ट्रिप समेत बनाइँदैछ । सडकखण्डमा रहेको साघुँरो पुलमा हुन सक्ने दुर्घटना जोखिम घटाउन स्ट्रिप बनाउन थालिएको हो । सडकखण्डमा रहेका १८ पुलमा स्ट्रिप बनाउन लागिएको इन्जिनियर खनालले बताए । अहिले खोर र भोर्ले पुलमा स्ट्रिप बनाइएका छन् । १८ पुलमध्ये चारवटा पुल मात्र विस्तार गरेर निर्माण थालिएका छन्।

सडकको तुलनामा पुल साघुँरो हुँदा सवारी दुर्घटना जोखिम बढेको छ । बाटो ठूलो भए पनि पुराना पुलहरू साँघुरा भएकाले बोटल नेक फर्मेसनको बाटो हुँदा समेत तीव्र गतिमा आएका सवारीसाधनहरू दुर्घटनामा पर्ने गरेका छन् । साँघुरो पुलमा दुर्घटना नहोस् भनेर स्ट्रिप बनाउने काम थालिएको इन्जिनियर खनालले जानकारी दिए ।

पुलनजिक आइपुगेका सवारीसाधन स्ट्रिप माथिबाट गुड्दा घर्रर्रर्र आवाजसहित थर्कन्छन् । यसले सवारीसाधनका चालकलाई गति कम गर्न सचेत बनाउने उनले बताए । खोर पुलमा थर्मोप्लास्टिक पेन्टस्को रुम्बल स्ट्रिप बनाइएको हो । बाँकी १७ पुलमा अस्फाल कंक्रिटको स्ट्रिप राख्न थालिएको इन्जिनियर खनालले जानकारी दिए ।
 

 

प्रकाशित: ७ श्रावण २०७५ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App