coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अधूरो पुलमा अल्झिएको मधेस समृद्धि

कमला पुल निर्माण नसकिँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य सिरहा र धनुषाका बासिन्दा तस्बिरःमिथिलेश/नागरिक

सिरहा - हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा कमला र बलान नदीमा पुल शिलान्यास हुँदा सप्तरी, सिरहा र धनुषाका ग्रामीणदेखि सहरीया बासिन्दासमेत खुसी भए । राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका नागरिक मख्ख परे।

२०६८ सालमा ठेक्का लागेर निर्माणसमेत सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए । तर, आज आठ वर्ष भइसक्दा पनि पुल नबन्दा उनीहरूको आशा निराशामा परिणत भएको छ ।

सिरहा र धनुषाबीच द्रुत सम्पर्कको सेतु हो – कमला नदीको पुल । यो पुल निर्माणले धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र हुँदैन, यहाँका जनताको जिवनस्तरसमेत द्रुत गतिमा उकासिने छ । उसो त यो पुलसँग सिरहा र सप्तरीको मात्र नभई मधेसकै समृद्धि जोडिएको छ ।सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल निर्माण पछि धकेलिँदै गएको छ । दुईपटक म्याद थपिए पनि पुल अझै पूरा हुन सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको छ । तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो । तर ठेकेदारको लापर्वाहीका कारण पुल पूरा हुन अझै ५० प्रतिशत काम बाँकी रहेको इन्जिनियर मण्डल बताउँछन्।

सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने कमला पुल निर्माण पछि धकेलिँदै गएको छ । दुईपटक म्याद थपिए पनि पुल अझै पूरा हुन सकेको छैन ।

यस्तै सप्तरीसँग सिरहाको द्रुत सम्पर्क स्थापित गर्ने बलान नदीको पुल निर्माण पनि अलपत्र छ । हुलाकी सडकखण्डको सिरहा र सप्तरी जोड्ने ४ सय ७० मिटर लम्बाइको बलान पुल ०६८ फागुन १५ गते शर्मा पप्पु जेभीले ०७२ भदौ १४ सम्म बनाइ सक्ने गरी सम्झौता गरेको थियो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार उक्त कम्पनीले ४२ महिनामा पुल निर्माण सक्न २४ करोड ६२ लाख रुपैयाँमा ठेक्का लिएको थियो । यो पुल निर्माणमा पनि दुईपटक म्याद थप भइसकेको इन्जिनियर मण्डलले बताए । दश वर्ष अघिको डिजाइनमा निर्माण सुरु भएको पुल समयमै नसकिँदा नदीहरूले धार परिवर्तन गरेर अझ फराकिला बनेका छन् । जसले गर्दा पुल प्रयोगमा ल्याउनसमेत चुनौती थपिएको छ ।

मधेसको लाइफ लाइन अलपत्र
मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माण हुनुपर्ने पुलहरू वर्षांैसम्म ‘होल्ड’ हुँदा यसको प्रत्यक्ष मार यहाँको विकासमा परेको छ । धनुषाको लक्कडमा निर्माण भएको कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमला पूर्वी बाँधबीच भएर बग्ने कमला नदीमा पुल निर्माण भइरहेको छ । दुई बाँधबीच १२ सय मिटर दूरीमा ४ सय ७० मिटरको पुल बन्दै छ ।

कमला नदीमा पुल नहुँदा १२ सय मिटरको दूरी पार गर्न दुवैतिर(सिरहा र धनुषा)का बासिन्दाको सहरा बनेको छ नाउ (डुंगा) । कमलु नाउवालाले दुवैतिरका बासिन्दालाई वारपार गराउँदै आएका छन् । कमलु भन्छन, ‘नदीमा पानीको बहाव बढेर बाढीको रूप लिँदा नाउ चलाउन खतरा हुन्छ । पाँच वर्ष भयो, कमलाको बाढीले नाउ पल्टाउँदा सात जनाको ज्यान गएको थियो ।’ धनुषाको हथमुण्डा, लक्कर, बरेबा, कठाल, बनरझुल्ला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो ।

यी गाउँका बासिन्दा किनमेल गर्न नाउ चढेर सिरहा बजार आउँछन् । सामान किनमेल गरेर फेरि नाउबाटै कमला नदी पार गर्छन् । धनुषा सगहाराकी सकिना खातुन भन्छिन्, ‘सुक्खायाममा नाउको यात्रा सुरक्षित नै हुन्छ तर, वर्षायाममा भने जोखिम हुन्छ । वर्षौंदेखि अलपत्र कमला पुल बनिदिए हाम्रो यात्रा सुरक्षित हुन्थ्यो ।’संसदीय र स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको आकर्षक नारा थियो– हुलाकी राजमार्गमा आउजाउ सहज बनाउने । सप्तरी, सिरहा र धनुषामा उक्त राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा खुबै बिक्यो ।

हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल उम्मेदवारहरू सांसद, मेयर, अध्यक्ष बने । उनीहरूको जीवनशैली फेरियो तर, मधेसी जनताको जीवनशैली उस्तै छ ।‘चुनावअघि कमला पुलको अवस्था जस्तो थियो चुनाव सकिएको दश महिनापछि पनि उस्तै छ,’ डुंगाबाट कमला नदी पार गरिरहेका धनुषा सगरहाराका विश्वनाथ मण्डलले नागरिकसँग भने, ‘चुनावपछि नेताहरूले नारा बिर्सेजस्तो छ ।’

हुलाकी राजमार्ग मधेसको द्रुत सम्पर्क मार्ग हो । जसले मधेसी जनताको आर्थिक, सांस्कृतिक पक्षलाई मात्र बलियो बनाउँदैन, समग्र मधेसलाई समृद्धिको बाटोमा लैजाने बताउँछन्, सिरहाका बुद्धिजीवी किशोरी यादव । ‘भारतीय सीमासँग नजिक रहेकाले यसले पूर्णता पायो भने यो क्षेत्र गुलजार हुन्छ।’

नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको तराई–मधेसलाई अन्नको भण्डार पनि मानिन्छ । जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ, भनिन्छ । तर, मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै घाटा भइरहेको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । तराई–मधेसमा ५५ प्रतिशत खेतीयोग्य भूमि छ । ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहर यसै क्षेत्रमा छन् । स्रोत, साधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि (गरिब) छन् ।

पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरुसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्नसके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव रहेको प्रदेश २ का सांसद जगतप्रसाद यादव बताउँछन् ।
 

प्रकाशित: ७ श्रावण २०७५ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App