coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

तामाङ साहित्यको ताकत

बिना तामाङ

भाषा पहिचान हो, सभ्यता हो । भाषा म¥यो भने कुनै पनि जातिको पहिचान र सिंगो सभ्यता नै मर्छ । यसर्थ अहिले विश्वका धेरै आदिवासी जनजाति आफ्नो भाषा संरक्षण र सम्बद्र्धनमा कटिबद्ध छन् । उनीहरू आफ्नो मातृभाषालाई अग्घोर प्रेम गर्छन् । यो प्रेमको स्वरूप भने देश, काल र परिस्थितिअनुरूप भिन्नभिन्न हुन सक्छ । कोही भाषालाई लिपिबद्ध गरेर, कोही दैनिक जीवनयापनका क्रममै बोलचालमै प्रयोग गरेर त कोही मातृभाषामा साहित्य सृजना गरेर भाषाप्रतिको आफ्नो प्रेमभाव प्रस्तुत गरिरहेका छन् । जबसम्म भाषा जीवित छ तबसम्म त्यो समुदाय अस्तित्वमा रहन्छ । भाषाको अवशानपश्चात् शिथिल हँुदै गएर अन्ततः अस्तित्व नै नामेट हुन पुग्छ । उनीहरूसँग आफ्नो भन्ने केही रहँदैन, केवल भौतिक उपस्थितिमात्रै हुन्छ ।

राज्यको भाषिक नीतिले सन्तुलन ल्याउनुपर्नेमा थप अन्योल बढाइदिएको छ । अप्ठ्यारा बाटाबाट यात्रा गर्नुपर्दाको सास्ती खेपिरहेका छन् मातृभाषी साहित्यकारहरू । साहित्यकार–लेखकलाई प्रंशसा, हौसला दिँदै निरन्तर सृजनामा लाग्न प्रेरित गर्दा तामाङ साहित्यमात्र बलियो बन्ने होइन, समग्र नेपाली साहित्य स्तरीय बन्न पुग्छ ।


नेपालमा १२३ भाषा जीवित अवस्थामा छन् । यीमध्ये केही भाषा छिट्टै नै विलुप्त हुने खतरामा छन् । कारण, त्यो भाषा बोल्नेको संख्या न्यून हँुदै जानु । तामाङ, नेवार, राई, लिम्बु, थारु, गुरुङ, मगरलगायतका जातिले आफ्नो भाषाप्रेम र त्यसप्रतिको उत्तरदायित्वलाई राम्ररी निर्वाह गर्दै आएका छन् । राज्यको भाषिक नीतिबाट पीडित उनीहरूले साहित्य र पत्रकारितामार्फत् भाषाजोगाउ अभियान चलाएका छन् । केहीले त पाठ्यक्रममै आफ्नो भाषाका सामग्री राखेर पठनपाठनउन्मुख समेत भएका छन् । जसले गर्दा बालबालिका पनि आफ्नो मातृभाषाप्रति सजग भएका छन् । उनीहरू नै हुन् आगामी पिँढी र युग सम्हाल्ने पुस्ता । यही सेरोफेरोमा तामाङको पनि आफ्नै भाषा, संस्कृति र सभ्यता छ । कुनै समय राज्यको क्रूर शासन र व्यवहारको मारमा यो जाति परेको थियो । जसले गर्दा यो जातिले रफ्तारमा आफ्नो समुदायलाई अगाडि लैजान सकेन । यद्यपि, प्रजात्रन्त प्राप्ति अघिदेखि नै आफ्नो भाषा र संस्कृति मोहलाई पुस्तक तथा पत्रपत्रिकाका माध्यमबाट प्रस्तुत गर्दै आएका थिए । त्यो काम छिटपुटमात्रै भए पनि प्रजातन्त्रपश्चात् भने यसले गति लिएको थियो । तामाङ भाषा उत्थान, संरक्षण र सम्बद्र्धनका लागि साहित्य तथा पत्रकारितामा उनीहरू सक्रियरूपमा लागिपरेका छन् । भलै राज्य यसप्रति उदासीन किन नरहोस् ! यो आलेखको मुख्य उद्देश्य तामाङ समुदायको साहित्यिक गतिविधि र यसका चुनौतीमा केन्द्रित रहनु हो । त्यसको लागि प्रथमतः तामाङ साहित्यको परिभाषा आवश्यक पर्छ । तथापि, परिभाषा आफैमा सर्वमान्य नहुन सक्छ । तर पनि परिभाषित हुनु आवश्यक हुन्छ । तामाङ साहित्यको आकाश त्यति फराकिलो छैन, तसर्थ अहिलेलाई यी तीन प्रकारका सामग्रीलाई नै तामाङ साहित्य मानिएको छ ।

१. तामाङ भाषामा सिर्जित कुनै पनि लिखित अथवा मौखिक रचना ।

२. तामाङ जातिको मूल्य–मान्यता, संस्कृति, पहिचान र परिवेशमा आधारित सामग्री । जुन कुनै पनि भाषामा हुन सक्छ ।

३. तामाङ भाषामै लेखिएका तामाङ मूल्य–मान्यता, संस्कृति, पहिचान र परिवेशमा आधारित कुनै पनि आलेख ।

उपरोक्त परिभाषामा तामाङ साहित्यलाई व्याख्या गर्ने हो भने यसको धरातल पनि फराकिलो हुन जान्छ । यसमध्ये कुनै एकलाई बन्देज गरेर वा कुनै एकमा मात्र सीमित हुँदा तामाङ साहित्यको घेरा अत्यन्त साँघुरो हुन पुग्छ । अहिलेलाई हामीले उल्लिखित तीनवटै सीमाभित्रका सामग्रीलाई तामाङ साहित्यका रूपमा लिइरहेका छौँ ।

पछाडि फर्केर हेर्दा

इतिहासको कुनै कालखण्डमा राज्यले पिँधमा धकेलेको यस जातिको साहित्यको इतिहास धेरै लामो नहुनुलाई कुनै आश्चर्य मान्नु पर्दैन । भारतीय भाषाहरूको सर्वेक्षण (लिंग्विस्टिक सर्वे अफ इन्डिया, १९०८ इ.) मा जर्ज ए. ग्रियर्सनले दुईवटा नैतिक कथा फजुलखर्ची छोरो (फाङफुङ् जा)र मौलविको दाह्री (मौल्बिला दारी )लाई तामाङ भाषामा अनुवाद गरेका थिए । तिनै कथालाई नै तामाङ साहित्यको प्रारम्भिक साहित्य मान्न सकिन्छ । यस हिसाबले तामाङ साहित्यको इतिहास एक शताब्दी नाघिसकेको छ । कृतिको रूपमा भने बुद्धिमान मोक्तानको जिक्तेन ताम्छ्योइ (१९५६ इ.) पहिलो भएको पाइएको छ । त्यसलगत्तै सन्तवीर लामा (पाख्रिन) को ताम्बा काईतेन् व्हाई रिमठिम र स्येबु—स्येमु व्हाई रिमठिम (१९५७ इ., १९५९ इ.) प्रकाशित भयो । त्यसैगरी जंगवीर बोम्जन र हर्कवीर पाख्रिनको तामाङ गीत (१९६३) संयुक्तरूपमा प्रकाशित भयो । यी सबै पुस्तक दार्जीलिङबाट प्रकाशित भएका थिए । यसबाट के प्रष्ट हुन्छ भने तामाङ साहित्यको विकासमा दार्जीलिङमा बसोबास गर्ने नेपालीमूलका भारतीय तामाङको उल्लेखनिय भूमिका रहेको छ । त्यतिखेरका साहित्यकारहरूले आफ्ना कृतिमा लोकजीवन, लोकसंस्कृति र लोकदर्शनलाई विशेष महŒव दिएको पाइन्छ ।

निष्ठुरी चलन यो धर्म
छोरीको कस्तो यो कर्म
माइतीको हड्डी मेरा पास
जहिले जाला एक मुठी श्वास
खरानीको होल रास
तामाङ दस्तुर धान्नलाई
जलेको हड्डी टुक्रालाई
सबै माइती दाजुभाइ
घेवामा आउनु लिनलाई

सन्तवीर लामा पाख्रिन ‘स्येबु स्येमु’

आफ्नो पुस्ताको अन्त्यसँगै अघिल्लो पुस्ताबाट हस्तान्तरण हँुदै आएका रीतिरिवाज, परम्परा, धर्मसंस्कृति लोप हुने सम्भावनालाई दृष्टिगत गरी दस्तावेजीकरण गर्ने मनसायमा ती पुस्तकहरू प्रकाशनमा आएका हुन् भन्ने आकलन अध्ययन गर्दा थाहा पाउन सकिन्छ । यस अर्थमा त्यो पुस्ता पनि आफ्नो भाषा र संस्कृतिप्रति सजग थियो भन्ने प्रमाणित हुन्छ । तीस र चालीसको दशकतिर भने तामाङ साहित्यमा केही जागरुकता आएको पाइन्छ । त्यस समयका सृजनामा संस्कृति मोह, अन्याय, अत्याचार, विभेदविरुद्धका आवाज, महिला जागरण, सामाजिक चिन्तन प्रशस्त पाइन्छन् । लेखनको हिसाबले गणेश योन्जन, अमृत योन्जन, चन्द्रकुमार मोक्तान, मोक्तान भाइ, प्रताप बललगायत यस समयमा साहित्य सृजनामा क्रियाशील रहे । विधागत हिसाबले त्यस समयमा कविता, कथा र इतिहास लेखन बढी रहेको पाइन्छ ।

समयक्रमसँगै तामाङ साहित्यले आफूलाई परिष्कृत गर्दै लगेको देखिन्छ । २०४७ मा प्रजातन्त्रको उदय भएपश्चात् पहिलो पटक नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय अधिराज्यको रूपमा स्वीकारेर नेपालभित्र बोलिने सम्पूर्ण भाषालाई ‘राष्ट्रिय भाषा’को मान्यता प्रदान गरेपछि तामाङ साहित्यमा पनि त्यसको प्रभाव पर्यो । यस समयमा विभिन्न तामाङभाषी पत्रपत्रिका प्रकाशनमा आए । रेडियो, एफएमहरूमा तामाङभाषी कार्यक्रमहरू सञ्चालन हुन थाले भने साहित्यका अन्य विधा कथा, कविता, जीवनी, प्रतिभा परिचय, उपन्यास, नाटक, अनुवादलगायत गीतसमेत प्रकाशनमा आएको पाइन्छ । १४ वर्षको अन्तरालमा ६० भन्दा बढी पुस्तक प्रकाशनमा आउनु तामाङ साहित्यले एक किसिमले फड्को मारेको अवस्था मान्न सकिन्छ । विशेषत अघिल्लो चरणका लेखकहरूको निरन्तरताका साथै नयाँ साहित्यकारको प्रवेश पनि यो अवधिमा भयो । प्रजातन्त्र प्राप्तिपश्चात् पनि राज्यले जनताको मनोभावलाई सम्मान गर्न सकेन सोही कारण तामाङभाषी लेखकले पनि सृजनाका माध्यमबाट सरकारलाई व्यंग्य गरे । पचासको दशकमा भने स्रष्टा दुपवाङ्गेल मोक्तान, रविन्द्र तामाङ, अमात चोथेन, निर्मलकुमार लामा, विगेन्द्रसिं तामाङ, मोहन घिसिङ, इन्द्रराम मोक्तान, कुमारी तामाङ, अजितमान तामाङ, ध्यानबहादुर मोक्तान, बुद्ध योन्जन, यकिना अगाध, अर्जुन ग्लान, दिपेन्द्र दोङ, योकबहादुर घिसिङ, क्रान्ती लामा, नेपालप्रसाद स्याङ्दानलगायतका स्रष्टा विशेषरूपमा सक्रिय रहे । कविता, कथाका साथै उपन्यास विधामा यतिखेरका साहित्यकारको कलम चलेको देखिन्छ । तामाङ साहित्यलाई स्थापित गर्दै लैजान त्यस समयमा नेपालबाट स्योम्हेन्दो, दामछिक् छारम्हेन्दो, याम्बु, लास्सो, तिप्लिङ, तामाङ टाइम्स, नाङसाल, तामाङ डाजाङ, पुपुम्हेन्दो, छारगोङमा, प्राङबोला छारन्हान र सिक्किमबाट छारग्याम, कलकत्ताबाट जिन्लाप, कालिङपोङबाट जाम्बुलिङ, आसामबाट रिमठिम नामक पत्रपत्रिका प्रकाशित भएको पाइन्छ । तीमध्ये केही पत्रिका अहिले बन्द भइसकेका छन् भने केही निरन्तर छन् ।
 

समय र चेतनाको हिसाबले साठीको दशकमा तामाङ स्रष्टाहरूले आफ्ना सृजनामा पहिचान, भाषा भेषभुषा, संस्कृति तथा परम्परा, अधिकार, हकदावी, नारी मुक्तिका आवाज बुलन्दरूपमा उठाएको पाइन्छ । ०६२÷०६३ को आन्दोलनपश्चात् राजनीतिकरूपमा भएको परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव तामाङ साहित्यमा पर्नु  अस्वाभाविक भएन ।

तसर्थ

हराएको आफूलाई खोज
बिर्सिएको आफ्नो इतिहास फेरि सम्झ
अनि आस्याङ !
तिम्रो मैच्याङले पाइदिएको छोरो थेबाको
भविष्य के हुनुपर्ने हो ?
त्यो तिमी आफै सोच !

प्रताप बलको कविता, ‘आस्याङ तिमी आफै सोच’

समावेशी, संघीयता, धर्मनिरपेक्षता, सीमान्तकृतका मुद्दामा यस समयका लेखकहरू केन्द्रित भए । यसकारण यो समयको साहित्य रोषपूर्ण अभिव्यक्ति, आवेग, आक्रोशले भरिए । त्यसो हुनाले साहित्य केही हदसम्म नाराजस्तो देखियो भन्ने आरोप पनि खेप्नुप¥यो । यद्यपि, यस अवधिमा महिला लेखक पनि तामाङ साहित्य आकाशमा प्रशस्त सम्भावना बोकेर प्रवेश गरे । सिर्जना गोले, अस्मिता थिङ, सञ्चु ब्लोन, रिना बोम्जनलगायतका महिला स्रष्टाको उपस्थितिले तामाङ साहित्य थप बलियो बन्यो । ईश्वर थोकर, के.आर. गोले चालिसे, रामकुमार जिम्बा, मिन दोर्जे थिङ, विश्वनाथ योन्जनलगायतका स्रष्टा यस समयमा सक्रिय रहे । विधागत हिसाबले गजल, ताङ्का र मुक्तक विधामा पनि कलम चलाएको पाइन्छ ।
२०६८ पश्चात् भने नयाँ स्रष्टाहरू नवीन विचार, भाव र चेतनासहित तामाङ साहित्यमा देखापरेका छन् । राज्यसँगको असन्तुष्टि, पहिचानप्रति जागरुकता, प्रणयभाव, सामाजिक द्वन्द्व, जनयुद्ध र त्यसले ल्याएको विचलन मुख्यतया यस समयका सृजनामा पाइन्छ । साहित्य भावनात्मक, विचारात्मक र  कलात्मक हुनुपर्छ । बिम्ब र मिथको प्रयोगले त्यसमा मिठास तथा नवीनता दिन्छ, यसमा कसैको विमति सम्भवतः रहँदैन । त्यसैको अभ्यास अहिले तामाङ साहित्यमा भइरहेको छ । विस्तारै तामाङ साहित्य पनि कलात्मक र बिम्बप्रधान हुँदै गएको छ ।

समकालीन  तामाङभाषाी लेखकमा फूलमान बल, राजु स्याङ्तान, मोक्तान थेबा, लक्ष्मी रुम्बा, हीरामाया घिसिङ, अस्मिता थिङ, सजना गोले, कविराज काल्तेन, योगेश राल्फाली, इन्द्र घिसिङ, अर्जुन पाख्रिन, स्वयम्भरसिं लामालगायतका स्रष्टाको बलियो उपस्थिति रहेको छ ।

संस्थागत योगदान

तामाङ साहित्यलाई हालको अवस्थासम्म ल्याइपु¥याउन जति स्रष्टाको देन छ त्यति नै साहित्यिक संघसंस्थाहरूको पनि भूमिका रहेको तथ्यलाई नकार्न सकिँदैन । काठमाडौँमै प्रत्येक शनिबार विविध स्थानमा संस्थाहरू नियमितरूपमा साहित्यिक गतिविधि र कविता वाचनका कार्यक्रम आयोजना गर्छन् । यस्ता कार्यक्रममा काठमाडौँका साथै काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, रामेछापलगायतका जिल्लाबाट स्रष्टाहरू उपस्थित हुने गर्छन् । यसरी कार्यक्रम आयोजना गर्ने संस्थाहरुमा तामाङ डाजाङ सबैभन्दा जेठो संस्था हो । भृकुटीमण्डपस्थित आरआर क्याम्पसमा प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला चलाउँदै आएको यो संस्था एक दशकभन्दा बढी समयदेखि क्रियाशील छ । स्थापनाको हिसाबले यो सबै भन्दा जेठो संस्थाको रुपमा परिचित छ । स्रष्टा समाज, सेमलेङ न्हान, नाङसाल क्लबले पनि  क्रमशः पहिलो, दोस्रो र तेस्रो शनिबार साहित्यिक गतिविधि सञ्चालन गर्दै आएका छन् भने तामाङ साहित्यले आवश्यकताबोध गरेअनुसार स्रष्टाहरूको पहलमा तामाङ साहित्यिक एकेडेमीसमेत स्थापना भएको छ । हाल उक्त एकेडेमीका कुलपतिमा भाषाविद् अमृत योन्जन छन् । तामाङ साहित्यकारलाई हौसला, प्रेरणाका साथै सिर्जनामा उत्प्रेरित गर्न साहित्यिक संस्थाहरूले पुरस्कारको व्यवस्था पनि गरेको छ ।  कालिका तामाङ नारी प्रतिभा पुरस्कार, सुलभ तामाङ प्रतिभा पुरस्कारजस्ता सम्मान स्थापित छ । यस हिसाबले पनि तामाङ साहित्यको अवस्था सन्तोषजनक मान्न सकिन्छ ।
 

चुनौती

यो समुदायको भाषाप्रतिको मोहको नतिजास्वरूप तामाङ साहित्य हिजोभन्दा आज परिष्कृत तथा बलियो बन्दै गएको छ । भाषिक आन्दोलनको रूपमा पनि तामाङ साहित्य अघि बढिरहेको अवस्था छ । हिजोका दिनमा प्रकृति र लोकजीवनलाई साहित्यमा समेट्ने गरेकोमा सत्तरीको दशकमा आइपुग्दा भने तामाङ साहित्यमा विविधतालाई ध्यान दिएको पाइन्छ । पहिचानको मुद्दालाई स्थापित गराउन साहित्य सृजना गर्नेदेखि अनुवाद साहित्यमा समेत जोड दिइएको छ । यति हुदाँहुँदै पनि तामाङ साहित्यमा केही चुनौती छन् । जसलाई नजरअन्दाज गर्दा भविष्यमा यसको उन्नति हुन सक्दैन ।  

साहित्य समय र समाजसँगै हिँड्नुपर्छ । यसले मानवीय संवेदनालाई पनि उत्तिकै छुनुपर्छ । विचारोत्तेजक वा अधिकारमुखी आलेखबाट मात्रै साहित्य समृद्ध हुन सक्दैन । सन्तुलितरूपमा साहित्य सृजना हुन सके त्यसले गति लिन सक्छ । अहिलेसम्म बढीमात्रामा प्रेम, विछोड, राजनीतिक नारा र केही सामाजिक विसंगतिलाई विषय बनाएको पाइन्छ । यसले तामाङ साहित्यमा समयबोध हुन नसकेको भान हुन्छ । भाषा संरक्षणका निम्तिमात्रै साहित्य सृजना गरिनु लाभदायी हुँदैन । साहित्यको मर्मलाई आत्मसात गरी प्रयोगवादी रचना, अलग धार, नवीन विषयमा साहित्य सृजना गरिनुपर्छ भन्ने मान्यता स्थापित भएको अवस्था छ । तामाङ साहित्यलाई स्तरीय बनाउन उल्लिखित कुरामा सजग रहनुपर्छ । यसका लागि साहित्यिक संस्थाहरूले प्रशिक्षण, कार्यशाला–गोष्ठी निरन्तर सञ्चालन गर्नुपर्छ । स्रष्टाहरूले अध्ययनको दायरा र बुझाइको धरातल अझ फराकिलो बनाउनुपर्छ । नेपाली साहित्यसँगै विश्वसाहित्यसँग परिचित हुँदा नै परिष्कृत सृजनामा सघाउ पुग्छ । हामीले तामाङ साहित्यमा कत्तिको उत्कृष्ट रचना दिन सकेका छौँ भन्ने कुरा अन्य समुदायले पनि थाहा पाउनु जरुरी छ । तसर्थ, राम्रा साहित्य नेपाली भाषामा अनुवाद गरिनुपर्छ । अंग्रेजीमा पनि अनुवाद गरिनुपर्छ । हामी आफैमा मात्र सीमित हुनुको कुनै अर्थ रहन्न ।
 

केही अन्योल

तामाङ साहित्यको परिभाषाअनुसार साहित्यलाई बुझ्ने र त्यसअनुसार साहित्यकार पहिचान गर्ने क्रममा यो समुदायकै केही उत्कृष्ट लेखक किनारामा परिरहेको अवस्था छ । नेपाली साहित्यकै धरोहरका रूपमा परिचित साहित्यकार पारिजात तामाङ हुन् । उनले नेपाली साहित्यलाई उत्कृष्ट सृजना दिएकी छन् । तामाङ भाषा वा तामाङ सभ्यतामाथि नलेखेकै कारण उनलाई तामाङ साहित्यकारका रूपमा समुदायले नलिएको देखिन्छ । चर्चित कवि कृष्णभूषण बललाई पनि तामाङ समुदायले आफ्नो नदेखेको अवस्था छ ।

समकालीन नेपाली साहित्य लेखनमा बलियो उपस्थिति जनाइरहेका कुमारी लामा, सुदिप पाख्रिनलगायतका शक्तिशाली लेखकलाई पनि तामाङ समुदायले वास्ता नगरेको देखिन्छ । तामाङ साहित्यको परिधिमा नसमेटिएका यी लेखकलाई उत्साह दिन सक्दा यिनले नेपाली साहित्यको मूलधारमै बलियो हस्तक्षेप गर्न सक्छन् । तामाङ साहित्यलाई अझ खँदिलो र पठनीय बनाउन हामीले अझै गम्भीर गृहकार्य गर्न बाँकी छ । तामाङ समुदायबाट नेपाली साहित्यमा बलियो प्रतिनिधित्व जनाइरहेका साहित्यकारलाई हामीले सम्झिनुपर्छ । तिनको योगदानलाई पुनः मूल्यांकन गरिनुपर्छ । यस विषयमा बहस जरुरी छ । एकांगी सोच र एकोहोरो यात्रा गर्दा गन्तव्यमा पुग्न ढिला हुन सक्छ ।

मातृभाषामा साहित्य सृजना आफैमा चुनौतीपूर्ण काम हो । त्यसमाथि राज्यको भाषिक नीतिले सन्तुलन ल्याउनुपर्नेमा थप अन्योल बढाइदिएको छ । अप्ठ्यारा बाटाबाट यात्रा गर्नुपर्दाको सास्ती खेपिरहेका छन् मातृभाषी साहित्यकारहरू । साहित्यकार–लेखकलाई प्रंशसा, हौसला दिँदै निरन्तर सृजनामा लाग्न प्रेरित गर्दा तामाङ साहित्यमात्र बलियो बन्ने होइन, समग्र नेपाली साहित्य स्तरीय बन्न पुग्छ ।

प्रकाशित: २५ भाद्र २०७३ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App