शान्ति श्री परियार, गायिका
तपाईको विचारमा सहर भनेको के हो ?
सहर जनघनत्व बढी भएको ठाउँ हो । सहरमा शिक्षित वर्गको बाहुल्य हुन्छ । सेवा–सुविधाको हिसाबले पनि सहर अग्रपंक्तिमा हुन्छ।
घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई असाध्यै मनपरेको सहर अष्ट्रेलियाको एरिल्याण्ड हो । यो ठाउँ निकै मनोरम छ । सहर पनि गाउँजस्तै छ । वरिपरी वन जंगल छ । जता गयो सफासुग्घर देखिन्छ।
नेपालभित्र मनपर्ने सहर कुन हो ?
केही समयअघि सुदुरपश्चिमको बैतडी गएको थिए । त्यहाँको एउटा मन्दिर घुम्दा निकै रमाइलो लाग्यो । त्यहाँको सुन्दर दृश्य हेरेपछि सुदुरपश्चिम नभएर सुन्दर पश्चिम रहेछ भन्ने थाहा पाएँ । भौगोलिक हिसाबले पछि परेपनि सुदुरपश्चिमका ठाउँहरू सारै सुन्दर र मनमोहक छन् ।
उपत्यका बाहिरमा अन्य सहर कस्तो लाग्छ ?
हिमाल, पहाड र तराई सबैतिरका जिल्ला निकै सुन्दर छन् । यहाँको मौमस र हावापानी संसारका अन्य मूलुकहरुमा पाइन्न । हामीलाई प्रकृतिले नै बेग्लै बनाएको छ ।
पोखरा पनि नेपालको सुन्दर ठाउँ हो । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् । यो सहरमा छुट्टै दृश्य र मनोरञ्जन लिन पाइन्छ । यहाँको प्राकृतिक सुन्दरता मनमोहक छ । फेवाताल, प्याराग्लाइडिङ र गुफा पोखराका मुख्य आकर्षण हुन् । यी चिजले धेरैलाई पोखरामा तानेको छ।
नेपाल बाहिर कुन–कुन देशका सहर पुग्नुभयो ?
अष्ट्रेलिया, कोरिया, जापान, हङकङ, दुबई, ओमन, कतारलगायत देशका सहर पुगेकी छु।
कस्तो लाग्यो त्यहाँका सहर ?
निकै आर्कषक लाग्यो । विदेशी मूलुकका हरेक ठाउँहरू व्यवस्थित छन् । जापानकै कुरा गर्ने हो भने त्यहाँ सहरमा बस्नेले नै सहरलाई सुन्दर बनाएका छन् । सहरमा कसैले पनि फोहोर गर्दैनन् । बरु मिलेर सफा गर्छन् । बाहिरबाट घुम्न जानेहरुलाई स्वागत सत्कार गर्न जानेका छन् । हाम्रो पुस्ताले सिर्जेका र प्रकृतिले दिएका पक्षलाई पनि जोगाउन सकेनौं।
के कारणले हामी पछि पर्यौं जस्तो लाग्छ ?
हामीकहाँ कानुन र नीति नियम छ तर त्यसको कार्यान्वयन गर्ने निकाय कमजोर भयो । सबैतिर डामाडोल मात्रै छ । राजनीति भागबण्डामै चलेको छ । नेताहरुले देशलाई गरिखाने भाडो बनाएका छन् ।
कसैले पनि देश र जनताको भविष्य सोचेका छैनन् । सहर विकासका काममा राजनीति हावी भयो । सहरमा बस्नेहरुले आफ्नो दायित्व बुझेनन् । यसैले पनि सहर बिग्रिएको हो भन्ने लाग्छ ।
उपत्यका कस्तो लाग्छ ?
काठमाडौं पनि राम्रै लाग्छ । तर, पछिल्लो समय अलिकति भद्रगोल भएको छ । देशैभरका मानिसहरू यही थुप्रिएका छन् । अवसर खोज्दै काठमाडौं छिर्नेहरूको संख्या अझै पनि घटेको छैन ।
सरकारकै गैरजिम्मेवारीले काठमाडौं फोहर बनेको हो । धराप सडक, पार्किङ असुविधा, अस्तव्यस्त बिजुलीका तार, ट्राफिक जामलगायत सहरवासीका मुख्य समस्या हुन् । यी विषयमा सहरवासीले जिम्मेवार निकायलाई घच्घच्याउन सकेका छैनन् । यहाँका सहरमा बस्नेको मन पनि धमिलो छ । एकले अर्कोलाई सम्मान गरेको देखिन्न।
तपाईं कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
सबैतिर सफा होस् । सहरका अवसर र सेवा–सुविधामा सबैले एकैखाले अधिकार पाउन् । सडक फराकिलो होस् । सबैतिर सफा, हरियाली र प्रदूषणमुक्त होस् । सहर सुरक्षित होस् । सबै मिलेर बसेको देख्न पाइयोस् । यति भयो भने सहर सुन्दर हुन्छ जस्तो लाग्छ।
सहर किन अस्तव्यस्त भएको होला ?
जिम्मेवार सरकार भएन । सरकारी तहको कामकारवाही पारदर्शी भएन । व्यक्तिगत फाइदामा सरकारी निकायका कर्मचारीले काम गर्न थाले । मेरो दायित्य सहरको विकास गर्नु हो भन्ने कसैले हेक्का राखेनन् । नागरिक पनि सहरप्रति त्यति जिम्मेवार छैनन् । आफ्नो दायित्व बिर्सिएका छन्।
विदेशका सहर घुम्दा कस्ता सुविधाहरू देख्नुभयो ?
विदेशका सहर धेरै नै सम्पन्न छन् । नागरिकले हरेकखाले सेवा–सुविधा सहजरूपमा लिन सक्छन् । सहरमा सबैले समान अधिकार पाउँछन् ।
उनीहरूको दाजोमा पुग्न हामीलाई धेरै समय लाग्छ । मैले घुमेका अधिकांश सहर आधुनिक सहरको अवधारणा अनुरूप विकास भएका छन् । तर, हाम्रा सहर आधुनिकताको हकमा पछाडि नै छन् । हाम्रोमा देशलाई ‘लिड’ गर्ने व्यक्ति नै सच्चा भएनन्।
हाम्रा सहरलाई विदेशका जस्तै बनाउन के गर्नुपर्ला ?
हाम्रा सहर र विदेशका सहरको मान्यता र विशेषता फरक छ । हामीले विदेशी स्डाइलमा सहरीकरण गर्नुपर्छ भन्ने होइन । हाम्रो आफ्नोपनलाई टेकेर सहरको विकास गर्नुपर्छ । हिजोको मौलिकतालाई जोगाएर काम गर्नुपर्छ । इतिहास, संस्कृति र परम्परा छैन भने त्यसलाई सहर भन्न मिल्दैन।
सहरी निकायले कसरी काम गर्नुपर्ला ?
जिम्मेवार निकायमा बसेकाहरूले विकासका काम गरिदिए पुग्छ । भ्रष्टाचार नगरिदिए हुन्छ । यहाँ त सानो काम गर्न पनि घुस खाने प्रवृत्ति छ । यहाँको ऐतिहासिक पक्षलाई हेर्ने हो भने हाम्रा सहर विश्वमै नमुना हुन्छन् । यहाँका सहरको ऐतिहासिक पक्ष धेरै राम्रो छ । विदेशका धेरै सहरहरू मानिसले नै सिँगारेका हुन्।
भएका योजनालाई समयमै सकाउने । यस्तै, भ्रष्टाचार नगर्ने, सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठ्ने गरी नियम बनाउने, सरकारी सेवा सुविधालाई चुस्त बनाउने, देशभित्र भएका सम्भावनाको अध्ययन गर्नेलगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने हाम्रा सहर पनि व्यवस्थित नै बन्छन्।
उपत्यकाको मुख्य समस्या के देख्नुहुन्छ ?
उपत्यका समस्याले जेलिएको सहर बनेको छ । सहरका सबै पक्ष अव्यवस्थित भएका छन् । जता गएपनि नागरिकले सास्ती खेप्नुपरेको छ । धुवाधुला, अव्यवस्थित पार्किङ, बिजुलीका तार, ट्राफिक जामलगायत नै उपत्काका मुख्य समस्या हुन्।
उपत्यकाको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार छ । विश्वमा जहाँ गएपनि उपत्यकाको जस्तो मौसम पाइँदैन । मलाई यहाँका ऐतिहासिक मठ–मन्दिर ज्यादै मनपर्छ।
मन नपर्ने पक्ष ?
धुवाँधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङ, लगायत पक्ष मन पर्दैन।
नेपाल र विदेशका सहरबीचको भिन्नता के पाउनुभयो ?
आधुनिकताको पक्षलाई हेर्दा हामी धेरै पछाडि छौं । इतिहास, मौलिकता, हावापानी, सम्पदा, डाँडाकाँडा र प्राकृतिक सौन्दर्य अरु देशमा भन्दा यहाँ फरक छन्।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई स्वीजरल्याण्ड जान मन छ।
उपत्यका नजिकै घुम्ने जाने ठाउँ ?
खाँसै घुम्न हिड्ने बानी छैन । कहिलेकाही दक्षिणकाली र चन्द्रागिरीतिर जान्छु।
सपिङ गर्न कता जानुहुन्छ ?
भाटभटेनीतिर जान्छु।
पछिल्लो समय पुगेको सहर कुन हो ?
केही दिनअघिमात्रै कतार घुमेर फर्केकी थिएँ ।
प्रस्तुति : शिवहरि घिमिरे
प्रकाशित: ७ श्रावण २०७५ ०२:५६ सोमबार