७ वैशाख २०८१ शुक्रबार
अर्थ

विदेशबाट पैसा ल्याउनेमा एनएमबि पहिलो बैंक

सुनिल केसी
प्रमुख कार्यकारी अधिकृत, एनएमबि बैंक

काठमाडौं - लगानीयोग्य पुँजी (तरलता) अभाव खेपिरहेका बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सक्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेपछि ऋण ल्याउने पहिलो संस्था एनएमबि बैंक बनेको छ।

राष्ट्र बैंकले गत चैत २० गते प्राथमिक पुँजी (कोर क्यापिटल)को २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले चासो विदेशी वित्तीय संस्थातर्फ मोडिएको थियो ।

यही क्रममा एनएमबि बैंकले विदेशी तीन वित्तीय संस्थाबाट करिब चार अर्ब रुपैयाँ ल्याउन लागेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई बैंकबाट साढे दुई अर्ब ऋण लिन लागेको जानकारी दिए । ‘राष्ट्र बैंकले ऋण ल्याउन स्वीकृति दिइसकेको छ,’ केसीले आइतबार नागरिकसँग भने, ‘बाँकी डेढ अर्ब जति रकम ल्याउन राष्ट्र बैंकसँग स्वीकृति लिने प्रक्रियामा छौं ।’एनएमबि बैंक राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको पनि उनले दाबी गरे । उक्त बैंकलाई गत शुक्रबार राष्ट्र बैंकले ऋण लिन स्वीकृति दिएको हो।

एनएमबि बैंकले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग करिब डेढ अर्ब कर्जा लिन लागेको हो । बैंकले उक्त ऋण कृषि, ऊर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, विद्युत् प्रसारण लाइन, केबलकार, सुरुङमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला व्यवसाय, लघुवित्त लगायतमा लगानी गर्नेछ।

मुलुकमा लगानीको वातावरण तयार भएसँगै निक्षेपको तुलनामा कर्जाको माग बढेपछि बैंकहरुले विदेशी संस्थाबाट ऋण लिन थालेका हुन् । नेपाल इन्भेस्टमेन्ट, सानिमा लगायत बैंकले विदेशबाट पैसा ल्याएर नेपालमा ऋण लगानी  गर्ने तयारी गरिरहेका छन् । उनीहरुले गर्न आइएफसीसँग सम्झौता गरिसकेका छन् ।विदेशी वित्तीय संस्थाबाट लिइने ऋणले अहिले बैंकिङ प्रणालीमा देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा उनीहरुले गरेका छन् । आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्नुपर्ने बैंकर्सकोे भनाइ छ।

राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीयोग्य पुँजीको अभाव कम गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्राको अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । यसले पनि थप विदेशी रकम भित्र्याउन सहज हुने अनुमान गरिएको छ।दुवै प्रक्रियाबाट डेढ खर्ब रुपैयाँ भित्र्याउन सक्ने अनुमान विज्ञले गरेका छन् । राष्ट्र बैंकले विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुलाई विदेशी मुद्रा ल्याउन सहज हुने अपेक्षा गरिएको छ।

२८ वाणिज्य बैंक हाल सञ्चालनमा छन् । उनीहरुले ल्याउने रकमले अहिले बजारमा देखिएको लगानीयोग्य पुँजीको अभाव कम हुने राष्ट्र बैंकको भनाइ छ ।राष्ट्र बैंक गत असारको अन्त्यमा ल्याएको मौद्रिक नीतिमा हेजिङ फन्डको व्यवस्था पनि गरेको छ । यसले डलरमा आउने उतारचढावको जोखिमलाई हुन नदिने हुँदा ऋण पनि केही सस्तो हुन्छ।

‘पूर्वाधार परियोजनामा भित्रिने विदेशी लगानीलाई यस बैंकमा छुट्टै कोषमा जम्मा गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । यस कोषले विदेशी लगानीकर्ताले बेहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पु¥याउनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ, ‘यस सुविधाबाट ठूला जलविद्युत् अयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास गरिएको छ । यसका लागि उपयुक्त कार्यविधि तयार गरिने छ ।’विदेशी संस्थाबाट ऋण लिन विभिन्न बैंकले राष्ट्र बैंकमा निवेदन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘राष्ट्र बैंकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन खुला गरेपछि उनीहरुले प्रक्रिया अघि बढाएका हुन्,’ उनले भने।

एनएमबिले विदेशी तीन वित्तीय संस्थाबाट करिब चार अर्ब रुपैयाँ ल्याउन लागेको छ । यसमध्ये दुई बैंकबाट साढे दुई अर्ब ऋण लिन राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । बाँकी डेढ अर्ब रकम ल्याउन स्वीकृति लिने प्रक्रियामा छौं । विदेशबाट ऋण ल्याउनेमा हामी पहिलो बैंक बनेका छौं ।

निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढी भएकाले बैंकिङ प्रणालीमा तरलता संकट देखिएकोले अहिलेको समस्या आन्तरिक निक्षेपले मात्र सम्बोधन गर्न नसक्ने एक बैंकर्सले बताए । ‘तरलता समस्या बढेपछि ब्याजदर माथि गएको हो,’ उनले भने, ‘आन्तरिक बचतले मात्र अब पुग्दैन । त्यसैले बाहिरबाट ऋण ल्याउनु परेको हो ।’
चालु आर्थिक वर्षमा बैंकहरुले निक्षेप परिचालनभन्दा कर्जा लगानी बढी गरेकाले आन्तरिक बचतले नपुग्ने देखिएको हो । निक्षेप सुस्त गतिमा र कर्जाको माग अधिक बढेकाले अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी अभाव देखिएको राष्ट्र बैंकको भनाइ छ।

निक्षेपको तुलनाका कर्जा लगानी बढेपछि अहिले कर्जाभन्दा निक्षेप बढाउने अभियानमा बैंकहरु लागेका छन् । बैंकहरुले विदेशी मुद्रामा ऋण लिनुका साथै स्वदेशमै संकलन हुने निक्षेपको ब्याजदर बढाएर पैसा तानिरहेका छन् । बैंहरुले मुद्दतीमा ११ प्रतिशत र बचतमा सात प्रतिशत ब्याजमा निक्षेप संकलन गर्दै आएका छन् ।

प्रकाशित: ७ श्रावण २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App