coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आधा जनसंख्यामा ब्रोडब्यान्ड

काठमाडौं  – पछिल्लो पाँच महिनामा ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक ४० लाखभन्दा धेरै थपिएका छन् । सरकारले भ्वाइस सेवाबाट डाटामा परिवर्तन हुने ग्राहक बढेकाले डाटामा थप कर लगाइएको स्पष्टीकरण दिइरहेको बेला ब्रोडब्यान्ड चलाउनेको संख्या बढिरहेको पाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्ने व्यवस्थापन सूचना प्रणाली (एमआइएस)का अनुसार पछिल्लो पाँच महिनाको अवधिमा ब्रोडब्यान्ड ग्राहकको संख्या ६ प्रतिशतले बढेको छ । प्राधिकरणले पछिल्लोपटक सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार ब्रोडब्यान्ड चलाउनेको संख्या ५०.३२ प्रतिशत पुगेको छ । जबकि, २०७४ माघमा यस्तो संख्या ४४ प्रतिशत थियो।

पछिल्लो तथ्यांक अनुसार ब्रोडब्यान्ड इन्टरनेट चलाउने कुल ग्राहक संख्या एक करोड ४७ लाख ३८ हजार दुई सय ५१ पुगेको छ । माघमा यस्तो संख्या एक करोड ६ लाख ९० हजार तीन सय ८४ थियो । माघदेखि जेठसम्मको तथ्यांक हेर्दा ४० लाख ४७ हजार आठ सय ६७ जना नयाँ ग्राहक ब्रोडब्यान्ड इन्टरनेटमा थपिएका छन् । ५१२ केबिपिएसदेखि माथिको इन्टरनेट र मोबाइलमा थ्रिजी र फोरजी सेवालाई ब्रोडब्यान्ड भनिन्छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५-०७६ देखि २०७७-०७८ सम्मको मध्यकालीन खर्च संरचनामा तीन वर्षमा ६० प्रतिशतको पहुँचमा ब्रोडब्यान्ड पुर्याउने उल्लेख छ।   

हरेक क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोग बढ्दै गएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताए । ‘पछिल्लो समय शिक्षा, स्वास्थ्यदेखि विभिन्न सेवा क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोग बढ्दै गएको छ,’ अर्यालले नागरिकसँग भने, ‘यसको व्यापकताले ग्राहकको संख्या बढ्दै गएको हो ।’ त्यसैगरी, मुलुकमा फोरजीको सुरुवात र थ्रिजीको विस्तारले पनि ब्रोडब्यान्डमा ग्राहक बढाउँदै लगेको उनको भनाइ छ।

प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट विभिन्न जिल्लाका सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा सञ्चालनमा आउन थालेकाले पनि यसमा केही थपिएको प्राधिकरणको भनाइ छ । थ्रिजी, फोरजी सहित अप्टिकल फाइबार लगायत नयाँ प्रविधिमार्फत ब्रोडब्यान्ड इन्टरनेट थपिँदै गएको अर्यालले बताए।  

तथ्यांकले पनि फिक्स (तार र बेतार)का ग्राहकभन्दा मोबाइल ब्रोडब्यान्डका ग्राहक तीव्र रुपले बढेको देखाउँछ । जेठको तथ्यांक अनुसार मोबाइल ब्रोडब्यान्ड ग्राहक संख्या ३८.९८ प्रतिशत अर्थात एक करोड १४ लाख १९ हजार छ । पाँच महिनाको अवधिमा यो संख्या ४.४२ प्रतिशतले बढेको हो।

फिक्स ब्रोडब्यान्डका ग्राहक भने ११.३३ प्रतिशतमात्र छन् । यो भनेको झन्डै ३३ लाख १८ हजार सात सय हो । पाँच महिनाअघि यो संख्या ९.४७ प्रतिशतमात्र थियो । यस हिसाबले हेर्दा फिक्स लाइन १.८६ प्रतिशतले मात्र बढेको छ । तथ्यांक अनुसार फिक्सभन्दा मोबाइल ब्रोडब्यान्ड इन्टरनेटको संख्या वृद्धि हुँदै गएको छ ।अर्कोतिर हेर्ने हो भने मोबाइल भ्वाइस सेवा लिएका ग्राहकले डाटा प्रयोग तीव्ररुपमा बढाएका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले डाटा खपतमा उल्लेख्य वृद्धि भइरहेको बताउँदै आएका छन्।

आर्थिक वर्ष २०७३-०७४ मा दूरसञ्चार सेवा संकलन भएको झन्डै एक खर्बको राजस्वमध्ये २१.५ प्रतिशत डाटाबाट संकलन भएको थियो । ‘ग्राहक अहिले भ्वाइस सेन्ट्रिकबाट डाटा सेन्ट्रिकतिर परिवर्तन भइरहेका छन्,’ आर्यालले भने, ‘यसले गर्दा डाटाको खपत बढेको छ भने यसबाट हुने राजस्व पनि बढिरहेको छ ।’

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले शुक्रबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा भ्वाइस सेवाबाट ग्राहक डाटाटिर बढिरहेकाले यसमा थप कर लगाउनुपरेको बताएका थिए । उनले भने अनुसार मोबाइल भ्वाइस सेवाको सट्टा डाटाको प्रयोग गर्दै म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमो, स्काइप जस्ता सामाजिक सञ्जाल प्रयोग बढिरहेको छ । यसले गर्दा मोबाइल भ्वाइस कलको राजस्व घटिरहेको छ भने डाटाबाट हुन आम्दानी बढिरहेको छ । सरकारले चालु आर्थिक वर्षदेखि इन्टरनेटमा पनि सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टिएससी) लगाएको छ । यो १३ प्रतिशत कर फिक्स लाइनसहित मोबाइल डाटामा पनि लागू भएको छ ।  
 

 

प्रकाशित: ७ श्रावण २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App