१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

नाफामा गएपछि आइपिओ ल्यायाैं

औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई)का वरिष्ठ उपाध्यक्ष पनि हुन् । शिवम् सिमेन्टका प्रवर्द्धक समेत रहेका मोरसँग औद्योगिक क्षेत्रको लामो अनुभव छ।

मोर प्रवर्द्धक रहेको शिवम् सिमेन्टले पव्लिक कम्पनीको रुपमा पहिलो पटक उद्योग क्षेत्रका स्थानीय र सर्वसाधरणको लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । विगत तीन वर्षदेखि निरन्तर नाफामा गएपछि शिवम् सिमेन्टले आइपिओ निष्काषन गर्ने अनुमति पाएको हो । नेपालमा सिमेन्ट बजारको अवस्था, चुनौती, अवसर लगायत समग्र मुलुकको अर्थतन्त्रको बारेमा मोरसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी :

शिवम् सिमेन्टले कहिलेदेखि आइपिओ जारी गर्दैछ ?
साउन १३ गतेदेखि स्थानीयको लागि दुई प्रतिशत छुट्टयाएका छौं । आठ लाख ८० हजार कित्ता सेयर २५ प्रतिशत छुट दिन लागेका हौंं । स्वीकृत भएको चार सय रुपैयाँमा स्थानीयलाई तीन सय रुपैयाँमा दिने तयारी गरेका छौं । आह्वान पत्र ३ गते आइसकेको छ।

कम्पनीको चुक्ता पूँजी कति हो ?
तीन सय ८७ करोड २० लाख रुपैयाँ छ।

कति प्रतिशत सेयर पव्लिकमा लैजाने योजना छ ?
दुई प्रतिशत प्रभावित क्षेत्र र १० प्रतिशत साधारण जनतासहित कुल १२ प्रतिशत पव्लिकमा जान्छ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
चैत्रमा व्यालेन्स सिट बनाउँदा २ सय १६ करोड रुपैयाँ रिजर्भमा थियो । भ्याट बाहेक करिब अहिलेसम्म एक हजार करोडबढिको सेल्स रहेको छ ।पव्लिकमा सेयर जारी गर्ने सिमेन्ट मध्ये शिवम् सम्भवत पहिलो सिमेन्ट उद्योग हो ।

किन पव्लिकमा जाने योजना बनाउनु भयोे ?
हाम्रो पहिलेदेखिनै केही अंश जनतामा जाऔं भन्ने थियो । हुन अहिलेसम्म पारदर्शीनै छौं । अझै बढी कसरी पारदर्शी हुन सकिन्छ ।

जनताको सहभागिता गराउँदा कम्पनीको ग्रो हुँदा त्यसलाई सबै लाभान्वित हुन सकुन् भन्ने सोच राखेर चार वर्ष अघि पव्लिकमा जाने निर्णय गरेका हौं । सरकारको नियम अनुसार पव्लिकमा जान लगातार तीन वर्षदेखि प्रोफिटमा गएको हुनुपर्छ । पव्लिकमा जान आवश्यक सबै मापदण्ड पूरा गरेका छौं । स्वतन्त्र भ्यालुएटरबाट भ्यालुएसन गराएर, ग्रेडिङ पनि गरेका छौं।

शिवम् सिमेन्टको सवल पक्ष के हो ?
हामीले एउटैमात्र शिवम् ब्राण्ड बनायौं । नेपालमा तीन थरीका सिमेन्ट भए पनि ओपिसी मात्र बनाएका छौं । हामी आउँदा १०÷१२ प्र्रतिशत ओपिसीको बजार थियो ।

अहिले ओपिसी ब्राण्डका सिमेन्ट मुलुकभर लोकप्र्रिय भएका छन् । सिमेन्ट उत्पादनमा कुनै सम्झौता नगरी गुणस्तर कायम गरेकाले शिवम् ब्राण्डनै आँफैमा प्रख्यात भएको छ ।  ९६ प्रतिशत लाइम स्टोन र चार प्रतिशत जिप्सन मिलाउने हो।

कुल उत्पादन कति छ ?
उत्पादन सुरु गर्दा सात सय टन ग्राण्डिङ र १२ सय टन क्लिंकरबाट सुरु गरेको हो । अहिले क्षमता बढाएर तीन हजार टन ग्राण्डिङ र १९ सय टन क्लिंकरमा गएका छौं।

मुलुकमा सिमेन्ट उद्योगको अवस्था कस्तो छ ?
बजार बढिरहेको छ । भूकम्प पछि १०-१२ प्रतिशतका ग्रोथ थियो । अहिले२० प्रतिशत ग्रोथ रहेको छ । गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्नुपर्छ भन्ने भूकम्पले पाठ सिकाएको छ । पूर्वाधार निर्माण विगतमा कमी थियो ।

अहिले पनि कम छ । तर, पूर्वाधारका परियोजना अघि बढेका छन् । स्थानीय, प्रदेश, संघीय सरकारको निर्वाचन भएर मुलुक सम्वृद्धिमा अघि बढेकाले सिमेन्ट उद्योगको अवसर अझै बढिरहेको छ । किनकी मुलुक निर्माणमा अघि बढेको छ । अब आर्थिक क्रान्तिमै अघि बढ्ने हो।

सिमेन्ट उद्योगमा कच्चा पदार्थको अवस्था के छ ?
नेपालमा प्रचुरमात्रमा लाइन स्टोन रहेको छ । यसमा सरकारको इच्छाशक्ति भयो भने विकास गर्न सक्छौं । चुन ढुंगाको गुणस्तर पनि राम्रो छ । वन, खानीका नीतिगत समस्याले केही झंझट रहेको छ ।  वनको उपभोग गर्दा त्यतिकै क्षेत्रफलमा सरकारलाई जग्गा उपलब्ध गराउनु पर्ने अवस्था छ ।

यसले केही समस्या हुन्छ । नेपालमा जग्गा किन्न भनेको निकै कठिन छ । धेरै क्षेत्रफलमा जग्गा पाउननै समस्या छ । चुन ढुंगा उपभोग गरेपछि त्यो जग्गा सरकारकै हुने हो । बरु सरकारले दस्तुर लिएर यो झन्झट हटाउनु पर्छ । वनमन्त्रीसँग समस्याको बारेमा ध्यानाकर्षण गराएका छौं । यो समस्या समाधान भए उद्योग सञ्चालन गर्न सघाउ पुग्छ । यसले व्यापार घाटा कम गर्न पनि सघाउ पुग्छ।

प्रतिस्पर्धा कस्तो छ ?
नेपालमा गुणस्तरमा प्रतिस्पर्धा हुनु राम्रो हो । आ–आफ्नो ब्राण्ड र क्वालिटी अनुसार मूल्य निर्धारण भैरहेको छ । खुल्ला अर्थतन्त्रमा कार्टेलिङ गर्नु हुँदैन । सबैको आफ्नै सप्लाई सिस्टम र मूल्य रहेको छ । सरकारले यातायात क्षेत्रमा देखिएको कार्टेलिङ हटाउन पहल गरेको छ । त्यो सकरात्मक हो।

सिमेन्ट उद्योगमा अवसर देखेरै विदेशी कम्पनीले यहाँहरुसँग साझेदारिता गरेका हुन् ?
नेपालमा शिवम् सिमेन्ट परिवारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याएको छ । चीनको ३२-३३ कम्पनी भएको होङ्सीलाई ल्याएका छौं ।

सबैले पार्टनरसीप गर्ने खोजे पनि उसले शिवम्लाई रोज्यो । ज्वाइन्ट भेन्चरमा हामीले काम गरेको हो । १५–१७ महिनामै सिमेन्ट उत्पादन गर्न सफल भएका छौं । यसले विदेशी साझेदारपनि उत्साहित भएका छन्।

ठूला आयोजनाले अहिले पनि विदेशबाट सिमेन्ट ल्याइरहेका छन् । स्वदेशी सिमेन्टको गुणस्तर नभएर हो या अन्य कारण छन् ?
गुणस्तरको कारण होइन । बजारमा गुणस्तरको कुरा आए पनि सत्यता छैन । नेपाली सिमेन्ट गुणस्तरमा कुनै समस्या छैन । विदेशी परियोजनालाई सिमेन्ट र रडमा कर छुट दिएको कारण हो ।

हामी प्रतिस्पर्धा गर्न सक्षम छौं । छुट दिने हो भने स्वदेशी उद्योगलाई पनि दिनुपर्छ । विदेशी आयोजनामा सप्लाई गर्न कठिन भएको छ । चीन सरकारले बाहिरी रिङरोडमा विदेशबाट सिमेन्ट ल्याए कर छुट भए पनि उक्त परियोजनाले सिवम् सिमेन्टनै प्रयोग गरिरहेको छ । गुणस्तरीय नभएको भए उक्त आयोजनाले प्रयोगनै गर्ने थिएन । त्यसैले स्वदेशी उत्पादन निकै राम्रो छ।
सिमेन्ट निर्यातको सम्भावना के छ ?
व्यापार घाटा कम गर्नको लागि सिमेन्टमात्र होइन अन्य वस्तुको उत्पादन बढाएर निर्यात गर्नुपर्छ । अहिलेसम्म त नेपालमै माग अनुसार पूरा गर्न सकेका छैनौं ।

दुई छिमेकी मध्ये भारतमा सजिलो छ । चीनमा ढुवानी खर्च लागत धेरै पपर्छ । विहार र युपीमा ढुवानी लागत कम पर्ने भएकाले सजिलो हुन्छ । हामीले भारत निर्यात गर्ने प्रयास गरिरहेका छौं । नेपालमा गुणस्तर चिन्ह (एनएस) आवश्यक भए जस्तै भारतमा निर्यात गर्नको लागि आइएसआई आवश्यक भएकाले शिवम्ले उक्त प्रमाण पत्र लिइसकेको छ।

सिमेन्ट उद्योग अझै फस्टाउनको लागि कस्तो नीति आवश्यक छ ?
सरकारले खानीसम्मको बाटो, विद्युत लाइन बनाउने लगायतका सुविधा दिए पनि अन्य विषयमा पनि ध्यान दिनुपर्छ । जग्गा सोध भर्ना गर्नुपर्ने व्यवस्था हटाउनु पर्छ । दोहोरो नीति हटाउनु पर्छ । अरुलाई दिएका जस्तै छुट दिनुपर्छ । सिमेन्टमा ९६ प्रतिशत कच्चा पदार्थ स्वदेशी भएकाले यसलाई प्रोत्साहन गर्नुपर्छ।

मुलुकको औद्योगिक वातावरणलाई कसरी हेर्नु भएको छ ?
विगतका सरकारको समयावधि नौ महिनाको हुन्थ्यो । धेरै लामो समयपछि स्थीर सरकार आएको छ । प्रधानमन्त्री, अर्थमन्त्रीले पनि आर्थिक क्रान्तिको कुरा गरिरहनु भएको छ । आर्थिक सम्वृद्धिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । संक्रमणकाल अन्त्य भएको छ । अब औद्योगिक क्रान्ति आउँछ ।

अहिले प्रमुख समस्या उद्योग स्थापना गर्न जग्गा समस्या छ । यसमा ठूलो प्रश्न चिन्ह छ ।अहिले सातै प्रदेशमा औद्योगिक पार्क बनाउन प्रक्रिया अघि बढाएको छ । त्यो सकरात्मक छ । हेटौंडा, शक्तिखोर लगायत सातै प्रदेशमा औद्योगिक क्षेत्र बनायो भने वातावरणीय प्रभाव मूल्यांकन गर्न सजिलो छ । नभए कुनै उद्योग सुरु ग¥योकी बस्ती बस्न सुरु गरिहाल्छन् । पछि त्यही बस्ती उद्योगको लागि टाउको दुखाई बन्छ।

सरकारले ल्याएको बजेट र मौद्रिक नीतिलाई निजी क्षेत्रले कसरी हेरिरहेको छ ?
सरकारले बजेटमा सबै क्षेत्रलाई समेट्न खोजे पनि पूरा गर्न सकेन । बजेट अपेक्षित नआए पनि मौद्रिक नीतिले उद्योगी, व्यवसायीलाई उत्साहित बनाएको छ । सरकारले आठ प्रतिशतको आर्थिक वृद्धिको जुन लक्ष्य लिएको छ । त्यो पूरा गर्न मौद्रिक नीतिले सघाउ पुग्ने देखिन्छ । लिक्युडिटी क्रन्चको समस्या थियो ।

अहिले मौद्रिक नीतिले सम्बोधन गरेको छ । निजी क्षेत्रले पनि माग गर्दै आएको थियो । धेरै छुट दिएको छ । नीतिगत रुपमा कार्यबिधी बनाएर दीर्घकालीन रुपमा अन्य समस्या पनि समाधान होस् भन्ने चाहान्छौं । अहिलेसम्म मुलुक रेमिटेन्सले धानेको छ । व्यापार घाटा निकै बढेर गएको छ । अहिले वैदेशिक रोजगारी घट्दा रेमिटेन्स घटेको छ । स्वदेशमा रोजगारी सृजना गर्न नसक्ने हो भने झन् ठूलो समस्या आउँछ।

नेपालमा कुन क्षेत्रमा लगानीको सम्भावना देख्नुहुन्छ ?
मुलुकमा औद्योगिकीकरण गर्नुपर्छ । राजनीतिकिकरण गर्ने होइन र साँच्चिकै आर्थिक सम्वृद्धिमा जाने हो भने पाँच वटा विषयलाई राज्यले प्राथमिकता दिनुपर्छ । हाइड्रो, टुुरिजम्, खानीजन्य उद्योगमा लगानी भित्राउनु पर्छ । यी उद्योगमा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न सकिन्छ । शिक्षा र मेडिकल हब बनाउनु पर्छ।

सरकारले वातावरण बनाए लगानीको लागि प्रयाप्त पूँजी छ त ?
निस्चयनै । लगानीको लागि पूँजीको अभाब छैन । सरकारको इच्छाशक्ति चाहिन्छ । शिवम् सिमेन्टलाई ११ वटा बैंकले करिब तीन सय करोड रुपैयाँ बढि ऋण दिएर हाम्रो परियोजना अघि बढेको हो । बाहिरबाट पनि परियोजना आउने सम्भावना उत्तिकै छ।

एफडिआइको सम्भावना के छ ? लगानीकर्ताले कस्तो वातावरण खोजिरहेका छन् ?
एफडिआईको मर्म अनुसार लगानी आउन सकेको छैन । तर,विभिन्न मन्त्रालयको भन्झटिलो प्रक्रियाले कठिनाई भएको छ । लगानीको लागि एकद्वार प्रणालीबाट कानुनी भन्झट हटाउनु पर्छ ।

लगानीकर्तालाई आकर्षित गर्ने नीति ल्याउनु पर्छ । हामीलाई ठूलो लगानी आवश्यक छ भन्ने प्राथमिकीकरण गर्नु पर्यो । जस्तै भारतको गुजरातमा कसैले लगानी गर्न चाह्यो भने त्यहाँका सचिव होटलमै भेट्न आउँछन् । के–के चाहियो भनेर सुविधा दिन्छन् ।

 

 

 

 

 

 

प्रकाशित: ७ श्रावण २०७५ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App