४ वैशाख २०८१ मंगलबार
राजनीति

समिति गठन नहुँदा संसद् अनिर्णित

काठमाडौं – प्रतिनिधिसभाको बैठक एक सातासम्म स्थगित भएको छ। संसद् स्थगित भए पनि संसदीय समितिले संसदको कामलाई निरन्तरता दिने गर्दछ। संसद् लामो समयसम्म स्थगित हुने र समिति पनि गठन नहुनुले संसद् अनिर्णयको बन्दी बन्न पुगेको सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेलले बताए। अबको संसद् बैठकमा नेकपा चुप लागेर नबस्ने पनि उनले बताए। प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्म स्थगित भएको छ। लामो समय स्थगित भएका कारण संसद्का सबै गतिविधि ठप्प जस्तै भएका छन्। संसद स्थगित भएपछि सभामुख कृष्णबहादुर महरा दुई दिनका लागि आफ्नो निर्वाचन जिल्ला दाङ पुगेका छन्।

नेकपाका सांसद भानुभक्त ढकाल आफ्नो व्यक्तिगत कामका कारण शनिबार विराटनगर पुगेका छन्। सत्तापक्ष सांसदहरु व्यक्तिगत काममा उपत्यका बाहिर लागेका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदहरु सरकार विरुद्धको आन्दोलनका लागि तयारीमा लागेका छन्। साउन १५ गतेसम्मको सरकारविरुद्धको आन्दोलनका लागि कांग्रेस सांसद कोही जिल्ला फर्केका छन् भने कोही काठमाडौंमा विरोधमा उत्रन थालेको सांसद तथा पार्टी सचेतक पुष्पा भुषालले बताइन्। निषेधित क्षेत्र घोषणा गरेर जायज माग राख्न नदिएका कारण कांग्रेस प्रदर्शनमा उत्रिएको उनले बताइन्। ‘सबै जिल्लामा कांग्रेसको देशव्यापी विरोध कार्यक्रम भएकाले त्यसको तयारीका लागि जिल्ला जान आवश्यक भएका सांसदलाई जिल्ला पनि पठाइएको छ,’ उनले भनिन्।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरू भने अति आवश्यक काम बाहेक अन्य काममा उपत्यका छाडेका छैनन्। संसदीय समिति गठन नभएका कारण संसद् नहुँदा संसदको काम समितिबाट हुन सक्ने अवस्था पनि नहुनु र सरकारले संसद सचिवालयमा नयाँ विधेयक समेत दर्ता नगर्दा संसद सचिवालयमा कर्मचारीलाई समेत काम गर्न अप्ठ्यारो परेको सचिवालयका एक अधिकारीले बताए। संसद् सचिवालयमा चारवटा विधेयक मात्रै दर्ता छन्। जसमा बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखा परीक्षण विधेयक, सार्वजनिक सुरक्षा ऐन २०४३ लाई संशोधन गर्न बनेको विधेयक मात्र संसद्मा रहेका छन्।

प्रकाशित: ७ श्रावण २०७५ ००:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App