coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

भैरहवास्थित बेलहिया नाकाबाट नेपाल भित्रिएका मालबाहक गाडीहरु । तस्विर : नागरिक

बुटवल– भैरहवा भन्सारले यसपटक राजश्व संकलनमा लक्ष्य भेटाउन सकेन। गत आर्थिक बर्षमा उसले लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजश्व असुली गरेको छ। आर्थिक बर्ष २०७४/२०७५ मा  भैरहवा भन्सारले ७० अर्ब ८ करोड ३७ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुलीको लक्ष्य भन्दा ११ अर्ब ३५ करोडले कम हो।

भन्सार विभागले भैरहवालाई गत आर्थिक बर्षका लागि ८१ अर्ब ४३ करोड ७५ लाख संकलनको लक्ष्य दिएको थियो। तीन बर्षअघिको मधेश आन्दोलन र नाकाबन्दीमा पूर्वी नाकाहरु ठप्प हुँदा भैरहवा भन्सारले आयात धानेको थियो। त्यतीबेला सवारी साधनका आयातकर्ताहरु पूर्वबाट मोडिएर भैरहवा आए। त्यसपछिका दुई बर्ष यो नाकबाट सवारी साधनको आयात ह्वात्तै बढ्यो। त्यसले भन्सारको राजश्वमा उल्लेख्य बृद्धि भयो। तर यसपाली सवारी साधनको आयात घटेको छ। त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको भन्सारका सूचना अधिकृत कलिराम पौडेल बताए। अघिल्लो बर्ष कुल राजश्वमा सवारी आयात बापतको राजश्व ४४.७२ प्रतिशत थियो। यो बर्ष ३७.२२ प्रतिशतमा झरेको छ।

संकटका बेला भैरहवा नाकातर्फ तानिएका आयातकर्ताहरु यो बर्ष सवारी साधन आयातका लागि पायक पर्ने  बीरगञ्ज तर्फ नै फर्किएका छन्। ‘अघिल्ला बर्षहरुमा सवारी साधनको आयात जुन गतिमा बढ्यो त्यही अनुपातमा बिभागले पनि लक्ष्य बृद्धि गरीदियो’, भन्सारका सुचना अधिकृत पौडेलले भने, ‘तर यो बर्ष सवारी साधनको आयात बढेन बरु घट्यो। त्यसैको असर राजश्व संकलनमा देखिएको हो।’ यो बर्ष क्लिङ्करको आयात पनि केही घटेको छ। आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो। 

एकातिर आयात घट्नु र अर्कोतिर भारतमा लागु भएको अनलाइन सिष्टमका कारण भैरहवास्थित बेलहिया–सुनौली नाकामा लोडेड गाडीहरु घन्टौ जाममा बस्नुपर्ने बाध्यता छ। भारतीय पक्षले सडकमै चेकजाँच गर्छ। मालबाहक गाडीहरु हप्ता दिनसम्म जाममा पर्न थालेपछि व्यवसायीहरुले तुलनात्मक रुपमा सहज नाका खोज्न थालेका हुन्। भैरहवाबाट आयात हुने, क्लिङ्कर, खाद्यान्न तथा किराना मालसामानको आयात कपिलबस्तुको कृष्णनगर नाकातर्फ मोडिएकाले पनि राजश्व असुलीमा प्रभाव परेको भन्सार कार्यालयले जनाएको छ।

अघिल्लो बर्षको तुलनामा आयात घटेपनि कुल राजश्व असुलीको एक नम्बरमा भने सवारी साधन नै छ। यो नाकाबाट आयात भएको सवारी साधनबाट कुल २६ अर्व ८ करोड, ८४ लाख संकलन भएको छ। यो नाकाबाट आयात हुने उत्कृष्ट दश बस्तुमध्ये पहिलो नम्बरमा जिप, कार, भ्यान दोस्रोमा मोटरसाइकल, तेस्रोमा एमएस विलेट, चौथोमा डिजेल, पेट्रोल, पाँचौ नम्बरमा क्लिङ्कर, टायल छन्।  खाद्यान्न र आलुप्याजको आयात पनि उच्च छ।

संकलित कुल राजश्वमध्ये भन्सारतर्फ २८ अर्ब ६५ करोड ८८ लाख संकलन भएको छ। यो रकम लक्ष्यको ८६.६३ प्रतिशत हो। भन्सारतर्फ ३३ अर्व ८ करोड लक्ष्य तोकिएको थियो। मूल्य अभिबृद्धि कर मा २७ अर्ब १५ करोड ९८ लाख र अन्तशुल्कबाट १४ अर्ब २६ करोड ३७ लाख असुली भएको छ। मूल्य अभिबृद्धि करतर्फ लक्ष्यको जम्मा ७५ प्रतिशत राजश्व असुलेको भन्सारले अन्तशुल्क मा लक्ष्य भन्दा १५ प्रतिशत बढी राजश्व संकलन गरेको छ।

बिभागले तोकेको लक्ष्य भेटाउन नसकेपनि अघिल्लो आर्थिक बर्षको तुनलामा राजश्व असुली १३ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष २०७३/२०७४ मा ६१ अर्ब ९८ करोड संकलन भएको थियो। भैरहवा नाकाबाट फेब्रिक सेन्थेटिक, रद्दी कागज, अदुवा सुठो, दालचिनी जस्ता केही जडीबुटीजन्य वस्तु तथा हस्तकलाका सामान र सीमित वस्तु थोरै परिमाणमा निकासी हुन्छ।

प्रकाशित: ६ श्रावण २०७५ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App