coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिँगारिँदै सहिदको जन्मस्थल

इलाम– जिल्लाको देउमाई नगरपालिका–२, चित्रेस्थित सहिद रत्नकुमार बान्तवाको जन्मस्थलमा पर्यटक आकर्षित हुन थालेका छन्। भौगोलिक रूपले निकै दुर्गम भएपनि रत्नकुमारजस्ता प्रतिभा जन्माएको चित्रेमा सडक यातायातसमेत सहज हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो। 

सरकारले सहिदको जन्मघर र उनले भूमिगतकालमा भेला, बैठकलगायत आयोजना गर्न निर्माण गरेको सुरुङको संरक्षणमा काम गरिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहिदको जन्मस्थलमा भौतिक पूर्वाधार निर्माण गर्न ८० लाख रुपैयाँ खर्चेको छ। स्थानीय जनश्रमदानसमेत गरेर सहिद रत्नको जन्मघर, उनले निर्माण गरेको सुरुङ संरक्षण तथा सभाहल र सहिद रत्नसहित उनीसँगै मारिएका बम बान्तवाको सालिक निर्माणको काम गरिएको रत्न–बम प्रतिष्ठानका अध्यक्ष डा. देवी क्षेत्री दुलालले बताए। ‘यो ऐतिहासिकस्थलमा अहिले वनभोज गर्ने, औपचारिक कार्यक्रमहरू आयोजना गर्ने आगन्तुक थपिएका छन्,’ उनले भने, ‘यहाँसम्म पुग्न सडक पनि सजिलो भएकाले पनि मानिसको आकर्षण बढेको छ।’ 

सदरमुकामभन्दा करिब ४० किलोमिटरमा रहेको चित्रे पुग्न मेची राजमार्ग छाडेर ५ किमीजति कच्ची सडक पार गर्नुपर्छ। मानव बस्ती पातलो रहेको यो गाउँमा पछिल्लो समय जिल्ला र बाहिरका बासिन्दा पनि आउन थालेको स्थानीय महेश बान्तवाले बताए। ‘पहिला जंगलामुलुक थियो यो ठाउँ, सहिदको जन्मस्थल भएकाले अहिले धेरैको आकर्षक बन्दैछ,’ उनले भने, ‘रत्नजस्ता महान् सहिद जन्मेकाले यो ठाउँको भौतिक विकासमा पनि अहिले सहयोग पुगेको छ।’ 

आफ्नै परिवारका रत्नले उतिबेला यस्तो दुर्गम ठाउँको गरिब परिवारमा जन्मेर देशका लागि दिएको योगदानले अहिले गाउँ उज्यालो हुँदा आफूहरू खुसी भएको उनले सुनाए। ‘उतिबेला गाउँमा पढ्नुपर्छ, पढेर मात्र ठूलो मानिस बन्न सकिन्छ भन्ने चेतनासम्म थिएन,’ रत्नकै भाइ महेशले भने, ‘तर, हाम्रा दाजु (रत्न) त्यस्तो परिस्थितिमा पनि देशको शासन परिवर्तन गर्ने यात्रामा हुनुहुँदोरहेछ, अहिले त काल्पनिकझैं लाग्छ त्यो समय।’ रत्नकै योगदानले गाउँ र देशले मुहार फेर्न पाएको अनुभव उनले सुनाए।

प्रतिष्ठानको अगुवाईमा रत्न जन्मेको घरमा रंगरोगन गरिएको छ। घरको भित्री भागमा रत्नस्मृति पुस्तकालय बनाउने योजना पनि रहेको डा.दुलालले बताए। ‘रत्नले भूमिगतकालमा आफ्ना सहयात्रीसँग बैठक, भेला आयोजना गर्न बनाएको सुरुङ पनि ऐतिहासिक भएकाले त्यसको संरक्षण गरेका छौं,’ दुलालले भने, ‘यहाँको सभाहलमा विभिन्न स्थानबाट आएर औपचारिक–अनौपचारिक कार्यक्रम आयोजना गर्न सजिलो भएको छ।’ सहिद बान्तवाले साहदत पाएको माङसेबुङ गाउँपालिका–२, इभाङस्थित आँपडाँडामा पनि बान्तवाको स्मारक राखिने उनले जनाए। यहाँ रेलिङ र घेराबारको काम भइरहेको छ। सहिदको स्मरण गर्दै आउने पर्यटकका लागि पार्क र पोखरी निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ। रत्न जन्मेको घर (रत्न–बम स्मृति भवन) को भित्रपट्टिबाट रत्नले खनेको सुरुङ बारीको तल्लो कान्लामा निकालिएको छ। रत्नले राति–राति निकै दुःखले आफैं खनेर निर्माण गरेको भनिएको सुरुङमा पुग्ने नर–नारी अहिले एकापट्टिबाट पसेर अर्कापट्टि निस्किन रुचाउने गरेका छन्।  

२००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको थियो। तत्कालीन कम्युनिस्ट को–अर्डिनेसन कमिटी सदस्य रत्नको इभाङको जंगलमा हत्या गरिएको हो। उनलाई सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो। २००९ सालमा चित्रेमै जन्मिएका बम बान्तवाको रत्नकुमारको हत्या गरेको १ महिनापछि २०३६ सालमा सुरक्षाकर्मीको गोलीले मृत्यु भएको थियो। 

प्रकाशित: ६ श्रावण २०७५ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App