७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा कुकुरै कुकुर (भिडियाे)

काठमाडौं – काठमाडौंमा भुस्याहा कुकुरको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ। काठमाडौं महानगरपालीकाले ठोस कार्यनीति बनाउन नसक्दा कुकुर व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ।

घटना – १
१० वर्षीय साजन राय मैतिदेबी बस्छन्।
कक्षा ३ मा पढ्दै गरेका साजनलाई विद्यालयबाट फर्कने क्रममा कुकुरले टोक्यो।
कुकुरले टोके लगत्तै घर पुगेका उनलाई नजिकै रहेको निजी क्लिनिकमा लगेर टिटानासको सुई लगाइयो।
अर्को दिन बिहानै साजनलाई उनकी आमाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याएर रेबिज विरुद्धको सुई लगाइन।
अहिले उनी छोरालाई बाँकी दुई चरणका सुई लगाउन अस्पताल धाइरहेकी छिन्।

घटना – २
कागजको मार्के्टिङ गर्ने ३२ वर्षीय सन्तोष मोक्तान कपन बस्छन।
विभिन्न ठाउँ पग्नु उनको दैनिकी हो। अघिल्लो महिना उनलाई पुरानो बानेश्वरको एक निजी कार्यालयमा पुग्दा गेट छेउमा बाँधिएको कुकुरले टोक्यो।
कुकुरले टोके लगत्तै उनी तुरुन्तै टेकु अस्पताल पुगे र उपचार गराए।

घटना–३
मंगलबार शुक्रराज अस्पताल स्थित रेबिज विरुद्धको खोप लगाउने कक्षमा लामो लर्को थियो। पूर्जी लिएर लाइनमा बस्नेदेखि पाखुरामा रुवाको टुक्रो राखेर फर्कदै गरेका सम्म।

ति मध्येकै एक हुन् गोपाल अधिकारी जसलाई केहि दिन अघि बाइक चलाइरहेको अवस्थामा कुकुरले टोक्यो। उनी तत्कालै टेकु अस्पतालआएर चिकित्सकको परामर्शमा उपचार गरिरहेका छन।

यतिबेला टेकुस्थित शुक्रराज ट्रपिकल रोग तथा उपचार केन्द्रमा कुकुर र बादरले टोकेका, चिथोरेका र नङ्ग्र्याएका बिरामीहरुको लामो लाइन लागेको छ।

जथाभावी छाडा छोडिएका र भुस्याहा कुकुरको बिगबिगी यत्रतत्र देखिन्छ। उपत्यकामा रेबिज विरुद्धको खोप निशुल्क पाइने यो एकमात्र केन्द्र हो।

गर्मी याममा प्राय मानिस र जनावर दुबैको चहलपहल बढ्ने हुँदा हरेक दिन २०० देखि ३०० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्क शाखाका अधिकारी शम्भु खड्काले बताए।

चालू आर्थिक वर्षको जेठसम्मको तथ्यांक हेर्दा कुल ४० हजार ८ सय १ बिरामीले रेबिज विरुद्धको खोप लगाइसकेका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ११ हजारले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल २९ हजार ३ सय ९ जना उपचारका लागि आएका थिए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर वर्सेनी करिब ५५ हजार व्यक्तिको रेबिजको कारणले गर्दा मृत्यु हुन्छ।जनावरको टोकाइमा पर्ने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका हुन्छन्।

नेपालमा वर्सेनी करिब ४० हजारभन्दा बढी व्यक्ति कुकुरलगायत जनावरको टोकाइमा पर्छन् भने २ सयको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान छ।

प्रकाशित: ६ श्रावण २०७५ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App