coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलामार्फत चुरे संरक्षण सन्देश

काठमाडौं - चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ। चुरेको जंगल फडानीसँगै जथाभावी उत्खनन गरी ढुंगा, गिटी, बालुवा निकासी गर्ने क्रम अझै रोकिएको छैन। चुरे विनाशकै कारण प्राकृतिक प्रकोपको मात्रा बढ्दै गएपछि चुरे क्षेत्र, हिमालय पर्वत तथा महाभारत पर्वतको आधार फेदीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै कलामार्फत संरक्षणको बहस गरेका छन्।

केही दिन अघिमात्र जनकपुर तथा राजधानीका कलाकारले एक कार्यशालामा चित्रमार्फत चुरे संरक्षणको बहस गरेका हुन्। मिथिला कला र कन्टेम्पोरेरी कलामार्फत उनीहरुले चुरे विनाशले मानव समाजमा पर्ने असर चित्रमा उतारे। कलाकार अजित शाहले मिथिला कलाको फ्लेभरमा चुरेको विनाशको कारण र त्यसको संरक्षण गर्ने तरिका चित्रबाटै सिकाए। ‘विदेशमा आम मानिसको गास, बास र कपासको विषयमा सरकारले नै ध्यान दिन्छ,’उनले भने,‘तर नेपालमा सबै आफै व्यवस्था गर्नुपर्दा वन पैदावरको विनाश मानिसले नै गरिरहेका छन्। जसका कारण मानिस र राज्य दुबैले प्राकृतिक विपत्तिको कहर सहनु परेको छ ।’ अजितको चित्रमा चुरे विनाश नरोक्ने हो भने मानव जीवन नै संकटमा पर्न सक्ने भाव थियो । नासिएको वन क्षेत्रमा वृक्षारोपण गर्ने, भिरालो क्षेत्रमा नयाँ तरिकाले खेती गर्ने गर्दा पनि त्यसको संरक्षण र उपभोग गर्न सकिने सुन्दर चेतना उनका मिथिला कलाले देखाउँछ । यही चेतनाको भावकै कारणले उनको चित्र मिथिलातर्फको उत्कृष्ट बन्यो।

विदेशमा आम मानिसको गास, बास र कपासको विषयमा सरकारले नै ध्यान दिन्छ। तर नेपालमा सबै आफै व्यवस्था गर्नुपर्दा वन पैदावरको विनाश मानिसले नै गरिरहेका छन्। जसका कारण मानिस र राज्य दुबैले प्राकृतिक विपत्तिको कहर सहनु परेको छ।

महिलातर्फ सरिता मण्डलको चित्र उत्कृष्ट भयो। ‘मेरो चित्रमा वन विनाश हुँदा खेप्नुपर्ने बाढीको दुःख समस्या र मानव भविष्य मरुभुमीकरणमा बदलिने संकेतलाई देखाइए छ,’ उनले भनिन्, ‘ वन संरक्षण गरेमा हरियाली समाजसँगै सुख र समृद्धि रहन्छ भन्ने सशक्तिकरण चित्रमा उजागर गरेको छु।’ उनको एउटै चित्रमा रंगको फरक संयोजन छ।

कन्टेम्पोरेरीतर्फ डीराम पाल्पालीको चित्र उत्कृष्ट बन्यो। वन विनाशले हुने अतिवृष्टिको असर उनले चित्रमा प्रस्तुत गरेका थिए। प्रकृतिलाई विनाश गर्दा प्रकृतिले मानव समाजको विनाश गर्ने कठोर उपाय अपनाउँछ भन्ने भाव चित्रमा देखिएका काला बादलले दर्शाउँथ्यो।

ज्योती प्रकाश विकको कलाले हिमाल, पहाड र तराइको सुन्दर ल्याण्डस्केपबाट प्रकृति संरक्षणमा जोड दिएको थियो। पुनम कुमारी दासले प्राकृतिक विपत्ति र त्यस विपत्तिमा परेकाको उद्धार गरिरहेको चित्रमा कोरकी थिइन्। लालकाजी लामा, प्रमिला परियार, हरेराम यादव, रुची शाहलगायतले चुरे संरक्षण र यसको विनाशले आउने विपत्तिलाई क्यानभासमा उतारेका थिए।

कलाकार श्यामसुन्दर यादवले कलाकार आधुनिक चित्रको धारमा पसेकाले उनीहरु प्रकृतिबाट टाढा हुँदै गरेको बताए । ‘के कारणले प्रकृतिले उत्पात मच्चाउँदैछ भन्ने उनीहरुले पनि थाहा पाउनै पर् । त्यसकारण पनि यो कार्यशाला राखेका हौं।’ उनले भने। यादवका अनुसार राष्ट्रपति चुरे तराइ मधेस संरक्षण समितिको संयोजनमा कार्यशाला गरिएको थियो। कार्यशालामा बनाइएको चित्रको प्रदर्शनी गत शुक्रबारदेखि ठमेलस्थित मिथिला ऐं आर्ट ग्यालरीमा चलिरहेको छ।

कला समिक्षक रमेश खनालले चित्रहरु चेतनामुलक रहेको उल्लेख गरे। ‘मिथिलामा देखिने सामुदायिक कथा आज संरक्षणको कथा बनेर उदाएको छ,’खनालले भने। राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवले कला प्रकृतिका लागि, कला समाजका लागि अनि कला जीवनका लागि भन्नेमा जोड दिए।

समितिका सदस्य सचिव हेम अर्यालले नेपालको दक्षिणपट्टी रहेको चुरेमा मानिसको सानो गल्तीका कारण ठूलो विनाश भैरहेको बताए। उनले वन विनाशकै कारण पानीको सतह घट्दै गएको, पानी कम पर्न थालेको, नदीको सतह बढेर पानी भाँसिदै गएको, तापक्रम बढ्दै गएकाजस्ता समस्या वर्तमानमा तराई र पहाडी भेगमा समेत देखापरिरहेको बताए। कार्यक्रममा चित्र विजेता अजित शाह, सरिता मण्डल र डीराम पाल्पालीलाई जनही ७ हजार नगद प्रदान गरिएको थियो। कलाका गुरू राधेश्याम मुल्मी लगायतको निर्णायक मण्डलले उत्कृष्ट कला छनौट गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७५ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App