coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

लहान – नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ। 

सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका क्रममा रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला कुष्ठरोगी फेला परेको धनगढीमाई नगरपालिका, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायले जानकारी दिए। 

कुष्ठरोग निवारण अभियानअन्तर्गत नयाँ कुष्ठरोगी खोजी गर्ने क्रममा नगरपालिकाका फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा छ जनाको शरीरमा पनि रातो फुस्रो नचिलाउने दाग, बाक्लो अनुहार तथा कानको लोती, नशा झमझमाउने र गिर्खा निस्किएको भेटिएको रायले बताए। 

समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ््गता हुनबाट जोगिन सकिने उनको भनाइ छ। ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको कीटाणुबाट सर्ने कुष्ठरोगीको संख्याका आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौं जिल्ला रहेको कुष्ठरोगीका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग सङ्गठन सिरहाले जनाएको छ। 

कुष्ठरोगीको उपचार जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुँदैआएको छ। समयमै उपचार गरिए कुष्ठरोग निको हुने चेतनाको अभावमा दलित विपन्न समुदायका कुष्ठरोगी अझै स्वास्थ्योपचारका लागि अस्पतालसम्म नपुग्ने गरेको पाइएपछि उनीहरुलाई लक्ष्य गरी चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गरिएको अधिकृत रायले बताए। (रासस)

प्रकाशित: ६ श्रावण २०७५ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App