काठमाडौं– चाडपर्व सुरु भएपछि उपत्यकामा तरकारीको भाउ महंगिँदा उपभोक्ता मारमा परेका छन् । गत वर्षको तुलनामा यो वर्ष तरकारी भाउ अचाक्ली बढेको छ ।
तरकारीको मूल्य बढेपछि भान्सा चलाउनै हम्मे परेको छ । तरकारीमा धेरै प्रयोग हुने आलुको भाउ गत वर्षको यसै दिन (शुक्रबार) को तुलनामा ५० प्रतिशतले बढेको छ । त्यस्तै घिउ सिमीको मूल्य दुई सय प्रतिशत बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत वर्ष भदौ २४ गते २१ रुपैयाँ किलोमा बिक्री भएको सेतो आलुको मूल्य यो वर्षको भदौ २४ मा ३३ रुपैयाँमा कारोबार भयो । गत वर्षको सोही दिन २८ रुपैयाँ किलोमा बिक्री भएको गोलभेँडाको मूल्य ४३ प्रतिशतले बढेर ४२ रुपैयाँ पुगेको छ । यो होलसेल मूल्य हो । कालीमाटी तरकारी बजारबाट बल्खु, टुकुचा, टेकु तरकारी बजार हुँदै उपभोक्तासम्म पुग्दा त झनै महंगो पछै ।
कालीमाटी बजारमा गत वर्ष प्रतिकिलो ५५ रुपैयाँ होलसेलमा बिक्री भएको काउली अहिले ६५ रुपैयाँ पुग्यो । त्यस्तै प्रतिकिलो भन्टा २२ बाट ४२, भटमास ५४ किलोको ७५ र बोडी ४५ बाट ७२ रुपैयाँ पुगेको छ । घिउ सिमीको मूल्य २ सय प्रतिशतले बढेको छ । गत वर्ष किलोको ३५ रुपैयाँ पर्ने घिउ सिमीको मूल्य बढेर १ सय ५ पुगेको छ ।
त्यस्तै चिचिन्डो प्रतिकिलो २५ बाट ३३, घिरौंला ३५ बाट ४८, भिन्डी ४५ बाट ५२, हरियो खुर्सानी ३५ बाट ८८, हरियो धनियाँ ९५ बाट १ सय ४५, लसुन सुकेको १ सय ७५ रुपैयाँबाट बढेर २ सय ८४ रुपैयाँमा बिक्री भएको समितिले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बजार मूल्यवृद्धि १० दशमलव ४ प्रतिशत पुगेको जनाए पनि त्यसको तुलनामा तरकारीमा अचाक्ली मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि नियन्त्रणमा सरकारी प्रयास फितलो हुँदा व्यापारीले मनपरी मूल्य बढाइरहेका हुन् ।
दैनिक उपभोग्य वस्तुसँगै तरकारीको भाउ बढेपछि घर खर्च चलाउन कठिन भएको अनामनगरकी प्रमिला क्षत्रीले बताइन् । ‘व्यापारीले मनपरी मूल्य लिन्छन्,’ उनले भनिन्, ‘बालबच्चाका लागि हरियो तरकारी खुवाउनै कठिन छ ।’ मूल्यवृद्धिले निम्न आम्दानी भएका, ज्यालादारी काम गर्ने, विद्यार्थी बढी मारमा परेका छन् । शुक्रबार काउली किनेर कोठामा जाँदै गरेकी क्षत्रीले २ सय ग्रामको २५ रुपैयाँ तिरेको बताइन् । उनका अनुसार बजारमा काउली किलोको १ सय २५ रुपैयाँ पर्छ । कालीमाटी तरकारी बजारमा काउलीको होलसेल मूल्य ६५ रुपैयाँ थियो । स्थानीय बजारमा पुग्दा ६० रुपैयाँ बढेर एक सय २५ पुग्यो ।
अन्य वस्तुको तुलनामा तरकारीको मूल्यवृद्धि अस्वाभाविक छ । एकातर्फ उत्पादन घटेको बहानामा तरकारी महंगिएको छ भने अर्कोतर्फ व्यापारीले मनोमानी ढंगले भाउ तोकेका छन् । खुला बजारको मूल्यमान्यता विपरीत व्यपारीले मूल्य लिएका छन् । बजारमा बिक्रीको तुलनामा किसानले भने मूल्य पाएका छैनन् । व्यापारीले कति प्रतिशतसम्म नाफा खाने कुनै सीमा छैन । फेन्सीमा जस्तै तरकारी पनि मनपरी भाउ तोकेर उपभोक्ताको हुर्मत लिएका छन् व्यापारीले । व्यापारीले किसानबाट निकै सस्तोमा किनेर चर्को मूल्यमा बेच्दै आएका छन् ।
व्यापारीको कार्टेलिङले उपभोक्ता र किसान दुवै ठगिएको काभ्रे, पाँचखालका किसान नित्यराज अधिकारी बताउँछन् । ‘तरकारीमा ठूलो कार्टेलिङ हुँदा किसान र उपभोक्ता दुवै मर्कामा छौं,’ अधिकारीले काभ्रेबाट फोनमा भने, ‘यहाँ किलोलाई तिरेको मूल्य काठमाडौंमा एक पाउलाई पर्छ ।’ बीचका व्यवसायीले अत्यधिक नाफा राखेर बेच्ने गरेको उनले बताए ।
खूल्ला बजारको फाइदा उठाउँदै व्यापारी उपभोक्ता लुट्न एकजुट भएको उपभोक्तावादीको आरोप छ । बजार अनियन्त्रित हुँदा व्यापारीले मनपरी मूल्य लिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘तरकारी बजार अनुगमन प्रभावकारी हुन सकेको छैन,’ उनले भने, ‘व्यापारीले मनपरी मूल्य लिएर उपभोक्ताको ढाड सेकेका छन् ।’
बजार माग अनुसार तरकारी उत्पादन नहुँदा मूल्य बढेको कालीमाटी तरकारी समितिको दाबी छ । एउटै बजारमा पनि एउटै तरकारीको मूल्य फरकफरक हुँदा पनि नियमनकारी निकाय मौन रहेको उपभोक्ता बताउँछन् ।
तरकारी व्यवसायी आन्दोलित
निजी क्षेत्रबाट सञ्चालित तरकारी तथा फलफूल व्यवसायीले आफूहरूले राज्यबाट सहयोग नपाएको गुनासो गरेका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले, काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना माग राज्यले सम्बोधन नगरे देशभरका तरकारी तथा फलफूल व्यवसायी सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । महासंघले तरकारी तथा फलफूल आपूर्तिसमेत ठप्प पार्ने जनाएको छ ।
महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले निजी क्षेत्रबाट सञ्चालित फलफूल तथा तरकारी व्यवसायीलाई मर्यादित र जिम्मेवार बनाउन छुट्टै ऐन बनाउन पटकपटक माग गर्दा पनि केही व्यक्तिको चलखेल र आर्थिक कमिसनका कारण बन्न नसकेको बताए ।
घिमिरेका अनुसार मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्र व्यावसायिक एवं औद्योगिक रुपमा अघि बढ्न सकेको छैन । बल्लबल्ल आत्मनिर्भरताको बाटोमा अग्रसर भइरहेको कृषि व्यवसाय धरासायी बनाउन राज्य नै लागिरहेको आरोप उनको छ । कृषि उपजवस्तु दोस्रो तथा तेस्रो मुलुकमा निर्यात गर्न आवश्यक प्राविधिक कार्य अघि बढाउनुपर्ने माग महासंघको छ ।
महासंघले आयात गरिने तरकारी तथा फलफूलको गुणस्तरका लागि क्वारेन्टाइनको व्यवस्था तत्काल हुनुपर्ने र तरकारी भण्डारका लागि आवश्यक मात्रामा शित भण्डारको व्यवस्था मिलाइदिन पनि सरकारसँग माग गरेको छ । कृषि बजार सञ्चालनका लागि निश्चित मापदण्ड एवं आचारसंहिता लागू गर्नुपर्ने, कृषि बजार निजी साझेदारी मैत्री वातावरणमा सञ्चालन गर्नुपर्ने माग पनि महासंघको छ ।
कालीमाटी तरकारी बजार होलसेल मूल्य (प्रति किलो)
तरकारी गत वर्ष भदौ २४ अहिले
- सेतो आलु २१ ३३
- गोलभेँडा २८ ४२
- काउली ५५ ६५
- भन्टा २२ ४२
- भटमास ५४ ७५
- बोडी ४५ ७२
- घिउ सिमी ३५ १०५
- चिचिन्डो २५ ३३
- घिरौंला ३५ ४८
- भिन्डी ४५ ५२
- हरियो खुर्सानी ३५ ८८
- हरियो धनियाँ ९५ १४५
- लसुन सुकको १७५ २८४
प्रकाशित: २५ भाद्र २०७३ ००:१५ शनिबार