coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

१३ औं सागमा क्रिकेट र प्याराग्लाइडिङ थप

काठमाडौंमा शनिबार भएको बैठकमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका पदाधिकारी । तस्बिर सौजन्यः राखेप

काठमाडौं – दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार सम्पन्न बैठकले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाडिङ खेल थप्ने निर्णय गरेको छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले क्रिकेट र प्याराग्लाडिङ थप्दै नेपालमा हुने १३औं सागमा २७ खेल गराउने निर्णय गरेको छ । यद्यपि एनओसीका अध्यक्ष श्रेष्ठले बैठकको विस्तृत निर्णयबारे आइतबार औपचारिक जानकारी दिने बताए।

‘दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विधान संशोधनका लागि अगस्ट १० सम्म सुझाव संकलन गर्ने निर्णय गरेका छौं,’ एनओसी अक्ष्यक्ष श्रेष्ठले भने, ‘कुन–कुन बुँदामा संशोधन गर्ने भनेर जाकार्तामा बस्ने बैठकले टुंगो लगाउनेछ ।’ यसअघि २०७३ मंसिर १८ गते काठमाडौंमै सम्पन्न बैठकबाट १३औं साग एक वर्ष ढिला हुने २०१९ मार्च ९ देखि १८ सम्म हुने प्रतियोगितामा थोरैमा २२ र बढीमा २५ खेल समावेश गर्ने निर्णय गरेको थियो।

यसअघि थिम्पुमा सम्पन्न दक्षिण एसिलायी ओलम्पिक काउन्सिलको बैठकले भारतमा सम्पन्न १२औं सागमा समावेश खेलमा गल्फ र कराते थप्दै २५ खेल खेलाउने निर्णय गरेको थियो । साग इतिहासमा २७ खेलमा प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक हो । शनिबार सम्पन्न बैठकमा भुटानबाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्रका प्रतिनिधि सहभागी थिए।

बैठकको उद्घाटन सत्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सरोकारवाला सबैको सहयोग भए १३औं सागको समयतालिकामा कुनै फेरबदल नहुने भन्दै निधारित समयमै सम्पन्न गर्न आफूहरू लागिपरेको बताए । श्रेष्ठले १३औं साग आयोजनाको जिम्मेवारी नेपाललाई दिएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीलाई धन्यवाद दिँदै प्रतियोगितालाई सफल र यादगार बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

श्रेष्ठले एनओसी र राष्ट्रिय खेल संघहरूको ध्यान १३औं सागमा पूर्ण रूपमा केन्द्रित रहेको जानकारी गराउँदै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर चासो दिएको बताए । दक्षिण एसियाली ओलम्पिक काउन्सिल कार्यकारिणी समितिका सदस्यहरूले शनिबारै मर्मतको क्रममा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भ्रमण गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७५ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App