सिकागो – मिडफिल्डर मारियो गोइटजेले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा शुक्रबार बोरुसिया डर्टमन्डले इन्टरनेसनल च्याम्पियन्स कपमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ।
२८औं मिनेटमा सिटीका खेलाडीले क्रिस्टियन पुलसिकलाई पेनाल्टी बक्समा लडाएपछि डर्टमन्डले पेनाल्टीको अवसर पाएको थियो । जुन अवसरलाई गोएटजेले सहजै सिटीका गोलकिपर क्लाउडियो ब्राभोलाई छक्याउँदै जाली चुमाएका थिए।
विश्वकपका कारण पहिलो रोजाइका खेलाडी बिदामा भएका कारण युवा टोलीका साथ प्रि–सिजनमा अमेरिका भ्रमणमा निस्किएको सिटीले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । इन्टरनेसनल च्याम्पियन्स कपमा सिटीले आगामी खेलमा लिभरपुल र बायर्न म्युनिखसँग प्र्रतिस्पर्धा गर्नेछ।
डर्टमन्डविरुद्धको खेलसँगै गत साता सिटीमा आबद्ध भएका अल्जेरियाका मिडफिल्डर रियाद महारेजले डेब्यु गरे । महारेज गत सात लेस्टर सिटीबाट ६ करोड युरोमा सिटीमा आबद्ध भएका थिए । मध्यान्तरअघि महारेजले गरेको फ्रि–किक प्रहार डर्टमन्डका गोलकिपर मार्विन हिट्जले रोक्दा सिटीले खेलमा फर्कने अवसर गुमाएको थियो।
महारेज लेस्टरले २०१५–१६ सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि जित्दा टोलीका प्रमुख खेलाडी थिए । प्रिमियर लिगको उपाधि रक्षाको लक्ष्यमा रहेको साबिक विजेता सिटी महारेजको आगमन सुखद पार्ने लक्ष्यमा रहेको छ । गत सिजन नै सिटीमा आबद्ध हुने बताइए पनि लेस्टरले अन्तिम समयमा सिटीको प्रस्ताव अस्वीकार गर्दा महारेजको इत्तिहाद रंगशाला यात्रा लम्बिएको थियो।
‘सिटी प्रियिमर लिगको उपाधि रक्षा गर्नुका साथै यस सिजन च्याम्पियन्स लिगमा पनि आफूलाई प्रमाणित गर्न चाहान्छ,’ महारेजले भने, ‘म सिटीको लक्ष्यमा सारथि बन्न चाहन्छु।’
सिटीले गत सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि च्याम्पियन्स लिगमा भने क्वार्टरफाइनलसम्मको यात्रा मात्र गरेको थियो । सिटी क्वार्टरफाइनलमा अर्काे प्रिमियर लिग क्लब लिभरपुलसँग निराश भएको थियो । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत डर्टमन्डले आइतबार बुन्डेसलिगाको अर्को क्लब बायर्न म्युनिखको सामना गर्दा सिटीले सोही दिन लिभरपुलको सामना गर्नेछ।
प्रकाशित: ६ श्रावण २०७५ ०४:५४ आइतबार