डर्बिन – बल टेम्परिङको घटनामा दोषी पाइएपछि निलम्बनमा रहेका अस्ट्रेलियाका उप–कप्तान डेभिड वार्नरले अर्का वर्ष इङ्ल्यान्डमा हुने विश्वकपसम्म राष्ट्रिय टोलीमा फर्किसक्ने विश्वास व्यक्त गरेका छन्।
गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा बल टेम्परिङको घटनामा संलग्न भएको भन्दै ३१ वर्षे वार्नरसँगै कप्तान स्टिभ स्मिथलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र क्रिकेट अस्ट्रेलिया (सिए) ले एक वर्षको प्रतिबन्ध लगाएको थियो । सोही घटनामा दोषी पाइएका ओपनर क्यामरुन बेनक्राफ्टलाई पनि ९ महिनाको प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्धमा परे पनि तीनै जनालाई घरेलु प्रतियोगिता खेल्ने अनुमति दिएको थियो।
प्रतिबन्धमा परेपछि पहिलो पटक घरेलु क्रिकेटमा देखा परेका वार्नरले सिटी साइकोलोन्सबाट नर्थ टाइडविरुद्ध ३२ बलमा ३६ रन प्रहार गरेका थिए । उनले घरेलु प्रतियोगिता आफ्नो लयलाई कायम राख्न राम्रो माध्यम भएको बताउँदै अस्ट्रेलिया २०१५ मा घरेलु मैदानमा जितेको विश्वकपको २०१९ मा रक्षा गर्ने लक्ष्यमा हुने भन्दै आफू सो टोलीको सदस्य हुने वार्नरले विश्वास व्यक्त गरेका हुन्।
‘म अझै उत्कृष्ट लयमा छु’ वार्नरले भने, ‘तपार्इंले मेरो पछिल्लो एक वर्षको प्रदर्शन हेर्नुस् । मैले विरलै विश्राम लिएको थिएँ । मैले अस्ट्रेलियाले खेलेका सबै खेलमा सहभागिता जनाएको थिएँ । मैले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टअघि ५ प्रतियोगिता खेलेको थिएँ । तर पनि मैले दक्षिण अफ्रिका र न्युजिल्यान्ड सम्मिलित क्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा टोलीको कप्तानी जिम्मेवारी लिएको थिएँ । जबकि अन्य खेलाडीहरू भने विश्राममा थिए।’
‘त्यसैले प्रतिबन्धको समयमा पनि म क्रिकेट खेललाई निरन्तरता दिँदै आफ्नो उत्कृष्ट लयलाई कायम राख्न चाहन्छु,’ वार्नरले थपे । उनले अर्का वर्ष हुने विश्वकपअघि हुने अभ्यास खेलमार्फत अस्ट्रेलियाली टोलीमा फर्कने विश्वास व्यक्त गरे।
‘विश्वकपअघि म इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता थुप्रै प्रतियेगिताहरू खेलिरहेको हुनेछु,’ वार्नरले भने, ‘जुन मेरो लागि राम्रो अभ्यास हुनेछ ।’ वार्नरले क्रिकेटबाट अगगिएर बस्न नसक्ने भन्दै प्रतिबन्ध फुकुवापछि अन्तर्राष्ट्रिय क्रिकेटलाई निरन्तरता दिने बताए।
‘म आज जहाँ छु ,त्यो क्रिकेटकै कारण हो,’ वार्नरले भने, ‘त्यसैले म यस खेलबाट टाढा रहने कल्पना पनि गर्न सक्दिनँ । प्रतिबन्ध फुकुवा भएलगत्तै म अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कनेछु । म अझै अस्ट्रेलियाका लागि केही गर्दै आफूलाई प्रमाणित गर्न चाहान्छु । त्यसका लागि मसँग अझै ८ महिनाको समय बाँकी छ।
प्रकाशित: ६ श्रावण २०७५ ०४:४० आइतबार