coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नगरका दुःख

बर्खामास जताततै बेथिति छ सहरमा। फोहोर उठ्न सकेको छैन। कुनै बेला काठमाडौंमा एउटा महानगरपालिका मात्र थियो। आज संख्या बढेर काठमाडौंमा ११ नगरपालिका पुगिसकेका छन्। काठमाडौंमा कीर्तिपुर नगरपालिकामा तुलनात्मक रूपमा कम समस्या देखिएको छ। बाँकी नगरपालिका त बनेका छन्, तर तिनको काम देखिएको छैन । नगर क्षेत्रमा बस्ने सर्वसाधारणको जीवन अहिले नारकीय छ। र, यस्तो अवस्था देशैभरि छ। धमाधम नगरपालिका बने । तिनले नागरिकका नाममा कर थप गरेका छन्। सुविधा दिन भने सकेका छैनन्। नगरपालिका बन्नु भनेको नागरिकलाई करको भार थप्ने तर सुविधा नबढाउनेजस्तै भएको छ। यसरी नगरपालिका बन्दा जग्गा कारोबारीलाई भने फाइदा हुन्छ। उनीहरूले विभिन्न बहानामा जग्गाको भाउ बढाउन पाउँछन्। अचेल त नगरभित्र बस्नु भनेकै श्रापित हुनु जस्तो भएको छ । पहिले घर बन्छन्, त्यसपछि बाटो, बिजुली, पानी र अन्य सुविधाको खोजी हुन्छ। यसले गर्दा प्रायः सबैजसो नगरपालिकामा कुनै ढंगको काम भएको देखिँदैन। राजधानी काठमाडौंभित्रका नगरपालिकाको त यो अवस्था छ भने अन्य ठाउँको के कुरा गर्नु?

पहिले जनप्रतिनिधि समाजसेवीका रूपमा रहन्थे। अचेल तिनलाई तलबभत्ताको समेत व्यवस्था छ। यस्तो अवस्थामा त झनै तिनले कामलाई व्यवस्थित तुल्याउनुपर्ने थियो। काठमाडौं महानगरपालिका देशभरिका स्थानीय तहका निम्ति नमुना बन्नुपर्ने थियो।

अहिले राजधानी काठमाडौंमा फोहोर जताततै नउठाई छाडिएको छ। फोहोर व्यवस्थित गरी त्यसैबाट बिजुली बाल्न, मल उत्पादन गर्न र सहर व्यवस्थित तुल्याउन सकिन्छ। हामीकहाँ भने यसरी दीर्घकालीन सोचका साथ कहिल्यै काम सुरु हुन पाएन। राजधानीमा जतासुकै नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ। पानी परेर गजगजी हिलो भएको बाटोमा थुपारेको फोहोरले सहरलाई थप विरूप पारेको छ । पानी परेपछि यहाँको हावामा शुद्धता आउँछ। धुवाँधुलोको प्रभाव कम हुन्छ। यसरी फोहोर जथाभाबी फ्याँक्नु भनेको सहरलाई थप प्रदूषित तुल्याउनु र बिरामी बढाउनु हो। स्थानीय तहको निर्वाचन भएका बेला हामी धेरै खुसी थियौं कम्तीमा स्थानीय तहमा विकासको गति अघि बढ्छ भनेर। तर, जनप्रतिनिधिहरू आफ्नै अकर्मण्यताले अल्मलिएको देखिन थालेको छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणका कामभन्दा पनि आएको बजेट सक्ने ध्याउन्नमा छन् । त्यसमा कोही बाधक भयो भने कुटपिट र दुव्र्यवहार गर्नसमेत पछि नपर्ने अवस्था देखिन थालेको छ । सिरहाको कर्जन्हा नगरपालिकाका मेयरले नगरपालिकाका जिन्सी शाखा प्रमुखलाई कुटपिट गरेको खबर सार्वजनिक भएको छ । यस्ता घटना अचेल प्रायः आउँछन्। प्राप्त बजेटको सदुपयोग गर्नेभन्दा पनि त्यसको दुरुपयोगमा जनप्रतिनिधिको ध्यान जाने गरेको छ। आर्थिक अनुशासनहीनता, अकर्मण्यता र अविकासको अवस्था अहिलेका नगरपालिकाको अवस्था हो।

पहिले जनप्रतिनिधि समाजसेवीका रूपमा रहन्थे। अचेल तिनलाई तलबभत्ताको समेत व्यवस्था छ। यस्तो अवस्थामा त झनै तिनले काम व्यवस्थित तुल्याउनुपर्ने थियो। काठमाडौं महानगरपालिकाले देशभरिका स्थानीय तहका निम्ति नमुना बन्नुपर्ने थियो। यसका काम हेरेर उनीहरूले सिक्न पाउने अवस्था भएन। अहिले काठमाडौंका बूढानीलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वरलगायतका नगरपालिकाभित्रको जनजीवन अस्तव्यस्त छ । सडक निर्माण कार्य पूरा नभएर सर्वसाधारणले दुर्गति भोग्नुपरेको छ। ती क्षेत्रभित्र ठेकेदारले ठेक्कामा लिइसकेका सडक निर्माण नहुँदा पनि त्यसको ‘फलोअप’ नगरपालिकाले गर्नुपर्ने हो। प्रायः नगरभित्रका सडकको ठेक्का लिएर वर्षौं पूरा नगर्दा पनि कसैले त्यसमा प्रश्न उठाएको पाइँदैन। त्यसमा पनि सर्वसाधारणले आफैं पनि जागरुकता देखाएर यो स्थितिमा सुधार ल्याउन प्रयास गर्नुपर्ने हो। वास्तवमा समाजसेवाको भावना अचेल नगर क्षेत्रभित्र जनप्रतिनिधिमा कम भएका कारण यस्तो विषम परिस्थिति सिर्जना भएको छ। नगरलाई बसौं बसौं जस्तो बनाउन नगरपालिकाहरूले आफ्नो स्रोत परिचालन गर्न सक्छन्। उनीहरूमा इच्छाशक्ति भयो भने नगरबासीले समेत यसमा साथ दिन सक्ने अवस्था हुन्छ। नगरबासीलाई विकास निर्माणमा सरिक गराउँदै यहाँको स्वरूप फेर्न सकिन्छ। त्यति मात्र होइन, नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मासिँदै गएका छन्। त्यस्ता जग्गाको संरक्षण गरी पार्क आदि बनाउन सकिन्छ जसले नगरबासीलाई स्वस्थ बनाउन मद्दत गर्नेछ। भूकम्प वा अन्य यस्तै विपत्तिका बेलासमेत सार्वजनिक खुला ठाउँ आवश्यक पर्छ। हामीले भूकम्पका बेला यो अवस्था भोगिसकेका छौं। नगरपालिकाहरूको गति नै अहिले देखिएको छैन। यो अवस्थामा सुधार नल्याई हाम्रा नगर बसोबासका आकर्षण हुन सक्दैनन्।

प्रकाशित: ६ श्रावण २०७५ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App