coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सात सय हेक्टर धानखेत डुबानमा

महलीसागर बाँधले डुबानमा परेको धानखेत देखाउँदै भगवानपुरका किसान। तस्बिर : किरणमान/नागरिक

कपिलवस्तु - असार दोस्रो साता यशोधरा गाउँपालिका–५, बैदौली भगवानपुरका ७५ वर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे। अहिले उनको धानखेत पूरै डुबानमा छ। वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन्। खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो। बाँधका कारण वर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन्।

धुनियाले डुबानमा परेको खेत देखाउँदै भने, ‘यसपालि भारतले बनाएको महलीसागर बाँधले रोपेको धान पूरै सखाप भयो ।’ गत वैशाखदेखि भारतीय पक्षले बाँधको पूरै ढोका बन्द गरेकाले अहिले बर्खाको पानीले सहज निकास नपाएर रोपोसहित खेत डुबानमा परेको उनले बताए। खेत रोप्दा बिउ र ज्याला गरी २० हजार रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए। उत्पादन हुने धान बेचेर गर्जो टार्दै आएका धुनियाले यस वर्ष आफैंलाई पनि खानलाउन समस्या पर्ने बताएका छन्।

धुनियाजस्तै भगवानपुरका धनराज यादवको १० कठ्ठा खेत पनि डुबानमा परेको छ । समयमै वर्षा भएकाले धान रोपेर खुसी भएका उनी पनि असार १५ को वर्षापछि खेत डुबानमा परेकाले चिन्तित छन्। महलीसागर बाँधकै कारण आफ्नो धानखेत डुबेको उनी बताउँछन्। ‘धान रोपेको खेत डुबानमा परेको छ’, उनले खेततर्फ देखाउँदै भने, ‘खेतजति सबै पोखरी बनेको छ, रोपो पनि पानीले खाएको छ।’ उनले धान रोप्दा लागेको लगानी र परिश्रम खेर गएको दुःखेसो पोखे। उनले भने, ‘अब परिवार पाल्नै मुस्किल पर्ने भो।’

थानेदार धोबी पनि महलीसागर बाँधका कारण पीडित छन्। उनी भन्छन्, ‘रातदिन मेहनत गरी खेती गर्छाैं, वर्षासँगै आउने बाढीले सहज निकास नपाउँदा हाम्रो महिनौंको मेहनत एकछिनमै खत्तम हुँदा टाउकोमा हात राखेर रुनुभन्दा अर्को विकल्प छैन।’

महलीसागर बाँधका कारण बर्खाको पानीले सहज निकास नपाएपछि धुनिया, यादव र धोबीमात्र होइन पूरै चार गाउँको सात सय बिघा खेत डुबानमा परेको किसान बताउँछन्। भगवानपुर, भैसहिया, लाहरौली, मुडिला गाउँको धानखेत डुबानमा परेको छ। सो बाँध बनेपछि बर्सेनिजसो किसानले डुबान समस्या बेहोर्दै आएका छन्। लगाएको खेती राम्रोसँग भित्र्याउन पाएका छैनन्। भारत सरकारले बर्खामा बाँधका सबै ढोका खोले खासै समस्या पर्दैन। तर यस वर्ष बाँधका १५ वटै ढोका बन्द गरिएपछि नेपाली भूभि डुबानमा परेको स्थानीय सन्तराम केबटले बताए।

भारतले सिद्धार्थनगर जिल्लामा पर्ने महलीसागर तालमा बाँध बनाएका कारण बर्खाको पानीले सहज निकास नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ। नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमास्तम्भ नजिकै बाँध छ। भारतीय पक्षले यस बाँधलाई मर्मत गर्ने बहानमा पहिलाभन्दा अग्लो बनाएको छ। बाँधको ढोकामा काठको फल्याक राखेर पानीको बहाव रोकिएको छ। जसले गर्दा दसगजा क्षेत्रसमेत डुबानमा छ। बाँधका ढोका खोल्न आफूहरुले भारतीय पक्षलाई पकटपटक आग्रह गरे पनि सुनुवाइ नभएको अर्का किसान मोहम्मद उमरले बताए । सोही बाँधका कारण राम्ररी खेती गर्र्न नपाएको गुनासो कयुम मुसलमानको छ। ‘वर्षायाममा बाँधको ढोका बन्द गरिन्छ, हिउँदमा खोलिन्छ। यसले गर्दा सधैं नेपाली किसान मर्कामा पर्दै आएका छौं’, उनले भने, ‘पानी चाहिँदा सुक्खा हुन्छ, वर्षामा डुबान हुन्छ।’ भारतीय किसानलाई भने बाँधले फाइैदाफाइदा पुगको नेपाली किसानको भनाइ छ। दीर्घकालीन रुपमा डुबान समस्या समाधान नहुँदासम्म आफूहरु पीडित भइरहने बताउँछन् अर्का किसान धनराज यादव। उनको धानखेत पनि डुबानमा छ।

डुबानमा परेको क्षेत्र हेर्न भगवानपुर पुगेका नेपाली कांग्रेसका नेता सुधार पाण्डेयले बाँधका कारण नेपाली भूमि डुबानमा परेको बताए। उनले कूटनीतिक पहलमा यो समस्याको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिए। सरकारले यो समस्यालाई गम्भीर रूपमा लिनुपर्ने पनि उनले बताए।

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले बाँधका कारण हुने डुबान समस्या समाधानका लागि पहल गर्न संघीय र प्रदेश सरकारलाई आग्रह गरिने बताए। उनले यसपालि खेत डुबानमा परेका किसानलाई मालपोतमा छुट दिलाउन सक्दो कोसिस गर्ने प्रतिबद्धता जनाए।

नेपाली भूभाग डुबानमा पर्दा उत्पादनमा ह्रास हुँदै आएको छ। २०–२५ वर्षयता किसानले राम्ररी खेतीपाती स्याहार्न पनि पाएका छैनन्। स्थानीय मोहम्मद अयुब मुसलमानका अनुसार कहिलेकाहीं त खेत रोप्नुअघि नै डुबानमा पर्ने हुँदा बाँझो राख्नुपर्ने अवस्था आउँछ । बाँधका कारण रंगपुर र भइसहिया, बैदौली गाविसको भगवानपुर, कचरिहवा र लोहरौली तथा पर्सोहिया गाविसको पर्सोहिया प्रत्यक्ष रुपमा प्रभावित हुने प्राविधिक बताउँछन्। प्राविधिकहरूका कारण बाँधका कारण सात सय बिघाजति खेत डुबानमा पर्छ। नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमास्तम्भ पनि वर्षाका बेला डुबानमा पर्छ। बाँध कपिलवस्तु सदरमुकाम तौलिहवादेखि करिब १० किलोमिटरको दूरीमा पर्छ।

प्रकाशित: ६ श्रावण २०७५ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App