coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आदित्य स्रोत र गुरु बिनाका ज्ञान : प्रधानमन्त्री ओली (भिडियाे)

भिडियाे : सुजन श्रेष्ठ

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले बालज्ञानी गुरु आदित्यलाई असाधारण र अदभुत क्षमताका खानी भएको बताएका छन्। आदित्यका विचार र वाणीलाई कृतिवद्ध गरिएको पुस्तक आदित्य ज्योतिपथको लोकार्पण गर्दै ओलीले स्कुल नै नगएको र स्कुल जाने उमेर समेत नभएको बालकको पुस्तक लोकार्पण हुनु अनौठो परिघटना भएको बताएका छन्।

शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तिका लागि गुरु वा स्रोत हुनपर्ने भएपनि आदित्यले गुरु र स्रोत बिना नै ज्ञान प्राप्त गरेको बताए। ‘आदित्यसँग जुन ज्ञान छ, त्यो गुरु र स्रोत बिनाको ज्ञान हो, यो आश्चर्यजनक विषय हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले आदित्य ज्ञान र विज्ञानका लागि अध्ययन अनुसन्धानको विषय भएको भन्दै उनले उनमा पूर्वीय दर्शन, सनातन धर्म जस्ता विषयमा खास प्रभाव र चिन्तन रहेको बताए। ओलीले आदित्यमा पढेलेखेका व्यक्तिमा भन्दा पनि उत्कृष्ट साहित्यिक ज्ञान समेत रहेको बताए। प्रधानमन्त्री ओलीले शास्त्रमा दिव्य ज्ञान, दिव्य दृष्टिका बारेमा व्याख्या गरिएको प्रसंग उल्लेख गर्दै आदित्यम त्यसभन्दा पनि अग्रगामी रहेको बताए।

आदित्यको सन्देश मानवजातिलाई सभ्य बनाउनेतर्फ अग्रसित रहेको बताए। नेपालको भूमिमा यस अघि पनि अदभूत व्यक्ति जन्मिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नपढी सानो उमेरमै वेद लेख्ने व्यास यही भूमिमा जन्मिएका हुन्, स्रोत र गुरु बिना नै ज्ञान प्राप्त गर्ने आदित्य यो भूमिमा जन्मिएका अर्का अदभूत व्यक्ति हुन्,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले आदित्य जस्ता अदभूत व्यक्तिलाई जोखना हेरेर दुःख दिन नहुने बताउँदै असाधारण प्रतिभाका विषयमा खोज र अनुसन्धान हुनुपर्ने बताए। ‘म कहिलेसम्म प्रधानमन्त्री भइरहन्छु वा अर्कोले म कहिले प्रधानमन्त्री हुन्छु भनेर जोखना हेराउने होइन्, उनको अदभुत क्षमताका बारेमा अनुसन्धान हुनुपर्छ,’ ओलीले भने। प्रधानमन्त्री ओलीले आदित्यलाई रहस्यमइ चिन्तक तथा रहस्यमयी दार्शनीकको संख्या दिए।

कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यले वैज्ञानिक भौतिकवादका पक्षधरका अगाडी चुनौति खडा गरिदिएको टिप्पणी गरे। ‘भौतिकवादीहरुका लागि यो ठूलो चुनौति हो, यसलाई स्वीकार गर्नुको विकल्प छैन,’ दाहालले भने। उनले आदित्य ज्योतिपथको लोकापर्णका बेला भौतिक रुपमा विचित्रको अनुभव भएको बताए । ‘यस अघि कैयाैं पुस्तकहरु लोकापर्ण भए तर यो पुस्तक लोकार्पण गर्दा विचित्रको अनुभव भयो, यसले उद्वेलित पार्ने काम ग-यो’ उनले भने । कुनै शिक्षा दिक्षा बिनै ज्ञान प्राप्त भएको भन्दै दाहालले नेपाललाई ज्ञान भूमिको संज्ञा दिए। उनले भने, ‘नेपाल ज्ञान भूमि हो, आध्यात्मिक चिन्तनका दृष्टिले हाम्रो भूमि उर्भर छ, त्यसैको नतिजा हो आदित्य,’ दाहालले भने। दाहालले आदित्यले इमान्दारी, सदगुण, सदभाव र कर्म गर्नुपर्ने सन्देश दिएको बताए। शारीरिक रुपमा कमजोर कमजोर भएर पनि आदित्य मानिसिक रुपमा धेरै अगाडी रहेको दाहालको भनाई थियो।

संस्कृतविद् सत्यमोहन जोशीले सानै उमेरमा आदित्यको ज्ञानयुक्त पुस्तक प्रकाशित हुनु अपत्यारिलो कुरा भएको भन्दै यो सत्यलाई स्वीकार्नुको विकल्प नभएको बताए। उनले नेपाली भाषा साहित्यका हिसाबले पनि आदित्यको पुस्तकले नयाँ आयाम थप्ने बताए। उनले विगतमा पनि हिमालमुनि बसेर दर्शन शास्त्र लेखिएको भन्दै अहिले आदित्यले पनि त्यही गरिरहेको बताए। उनले २१ औ सताब्दिमा आदित्यले हिमाल मुनीबाट ज्ञानको सन्देश दिइरहेको बताए। कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पढेर सुनाइएको थियो। कार्यक्रममा प्रधानसेनापति, पूर्व प्रधानन्यायाधीश लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ श्रावण २०७५ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App