काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिएका छन्।
शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताए। उनले भने, ‘हामी डाक्टर केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार छौं, हामीले वार्ता टोली पनि बनाएका छौं, वार्ताबाहेक आँखा चिम्लिएर सडकबाट माग पूरा गर्नुपर्छ भनेर हुँदैन्।’
मन्त्री पण्डितले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयक कुनै हालतमा फिर्ता हुने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, ‘संसदमा प्रस्तुत भएको विद्येयक संशोधनमार्फत पारित हुनसक्छ, तर बीच बाटोबाटै फिर्ता लिने काम हामीबाट हुँदैन, यो सम्भव छैन्।’
सरकारको तर्फबाट आफूहरुले डाक्टर केसीका मागहरु पूरा गर्न कुनै कसर बाँकी नराखेको उनको भनाई छ। उनले भने, ‘उहाँको जीवन रक्षाको लागि पहलकदमी लिएका छौं, डाक्टर केसीले उठाएका जायज मागहरु वार्ताको माध्यमबाट समाधान हुन्छन्।’ डाक्टर केसीको अनशन सफल भएन भने आफ्नो पार्टीको औचित्य नै समाप्त हुनेगरी केही नेताहरु लागिपरेको र यो देख्दा आफूलाई दुःख लागेको मन्त्री पण्डितको भनाई छ।
उनले भने, ‘कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन, संविधान, ऐन, कानून, नियम र प्रजातान्त्रिक अभ्यास अनुसार चल्नुपर्छ, सरकार डाक्टर केसीका जायज मागहरु पूरा गर्नेतर्फ अग्रसर छ, सरकारको यही आग्रह छ र रहन्छ, अहिलेसम्म अनशनबाट मात्रै कुनै पनि मुद्दा समाधान भएका छैनन, त्यसैले वार्ता र सहमति खोज्नुपर्छ, सम्वाद गर्नुपर्छ।’
प्रशासनिक रुपको संक्रमणकालिन अवस्थाको अब अन्त्य भएको उनको दाबी छ । त्यस्तै उनले स्थानीय, नगरपालिका, उपमहानगर, महानगरपालिका, गाउँपालिका, प्रदेश सरकारमा कर्मचारीको भयावह स्थिति रहेपनि अहिले केही सुब्बा र खरदारबाहेक सबै कर्मचारी पुगिसकेको विश्वास दिलाए । उनले भने,‘सुब्बा र खरदार पनि पुर्याउँछौं, सबै ठाउँमा प्रशासनिक अधिकृत पनि पुर्याएका छौं।’
गत असार १ गतेबाट राष्ट्रसेबकहरु ट्रेड युनियन काजमा नभएको पनि उनले जनाए । उनले भने,‘सबै आ–आफ्नो कार्यक्षेत्रमा कार्यरत छन्।’ संघीय निजामती कर्मचारी ऐनको मस्यौदा अर्थमन्त्रालयमा पुगेको बताउँदै छिट्टै यसलाई मन्त्रिपरिषबाट अनुमोदन गरेर संसदमा पेश गर्ने उनले जनाए ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई आफूहरुले समर्थन गरेवापतको अनुभुति प्राप्त नगरेको गुनासो पोखे। उनले भने, ‘संविधान संशोधन गर्न यो सरकारसँग दुई तिहाई छ, तर हाम्रा मुद्दाहरु कुनैपनि पूरा गरेन, जेलबाट हाम्रा नेता तथा कार्यकर्ताहरु रिहाई भएनन्, मुद्दा फिर्ता, घाईतेहरुको उपचार लगायतका सवालहरु सरकारले सम्बोधन गरेको छैन, बजेटपनि सन्तुलित भएन्, यी सबै विषयमा सरकारको ध्यानाकार्षण गराउन हामीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छौं।’
राजपा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भ्रममात्रै भएको बताउँदै उनले भने, ‘हाम्रो प्राथमिकता भनेको सरकार होईन, हाम्रा मागहरु पूरा हुनुपर्छ, हाम्रा मुद्दाहरु तत्काल सम्बोधन गर्नुपर्छ।’
फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको सत्याग्रहप्रति सरकार गम्भिर बन्नुपर्ने सुझाए। उनले भने, ‘उहाँको प्राण रक्षाको लागि सरकारले पहल गर्नुपर्छ भनेर हामीले भनिसकेका छौं, उहाँले उठाएका मागका सवालमा हामी जाँदैनौं, तर उहाँको जीवन रक्षा हुनुपर्छ।’ सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको भनाई छ ।
प्रकाशित: ५ श्रावण २०७५ १४:१९ शनिबार