८ वैशाख २०८१ शनिबार
राजनीति

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

डा. केसीको समर्थनमा आयोजित सभामा बोल्दै अधिकारकर्मी कृष्ण पहाडी, तरुण दल र प्रहरीबीचको झडपमा भाग्दै गरेका युवा। तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा विवेकशील साझा, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस निकट तरुण दल पनि मिसिएका थिए।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरतर्फ अघि बढिरहेको थियो। तरुण दल र केसीका स्वतन्त्र समर्थकहरु सँगै देखिए पनि तरुणदलका कार्यकर्ताहरु प्रायले भने झण्डा बोकेका थिए। तरुण दलको झण्डा सहित केही युवा माइतीघरमा देखिएपछि सोलिडारिटी फर डा. केसीका अभियान्ताहरुले स्वतन्त्र नागरिकहरुको र्‍यालीमा कुनै पनि दलको झण्डा बोकेर उपस्थित नभइदिन माइकिङ गरेका थिए। तरुणदलले एक बजे माइतीघरमा भेला भएर बानेश्वर जाने कार्यक्रम तय गरेको थियो। नागरिक अगुवाहरुको र्‍याली एक बजे अघि नै बानेश्वर तर्फ अघि बढेकाले तरुण दल माइतीघर मै छुट्यो। नागरिक अभियान्ताहरुको र्‍याली बानेश्वर पुगेर कोण सभामा परिणत भयो।

यता कोणसभा सकिँदासम्म प्रहरी र तरुणदलबीचको झडप विजुली बजार पुलमा पुगेर साम्य भइसकेको थियो। घाइतेलाई उपचारमा पाइदै थियो भने केसीका स्वतन्त्र समर्थक घर फर्कदै थिए।

तरुण दलको र्‍याली बानेश्वर आइपुगेपछि एकाएक अवस्था एकाएक तनावपूर्ण बन्यो। तरुणदलका कार्यकर्ता बानेश्वरको निषेधित क्षेत्र तोड्न चाहन्थे भने प्रहरी उनीहरुलाई रोक्न। रोक्न र तोड्न चाहनेबीच एक छिन दोहोरी चल्यो।

यता अधिकारकर्मी कृष्ण पहाडि कोणसभालाई सम्वोधन गरिरहेका थिए। एका एक केही पड्केको आवाज आयो। त्यो टियर ग्याँसको आवाज थियो। एकै छिनमा टियर ग्याँसको असर देखिन थाल्यो सबैजना आँखा मिच्दै सुरक्षित स्थानको खोजी गर्न थाले। तरुणदलका कार्यकर्ता एभरेष्ट अस्पताल तर्फ थिए भने केसीको समर्थनमा भएको कोण सभा एभरेष्ट होटल अगाडि थियो।

टियर ग्याँस प्रहार भएपछि तरुणदलका कार्यकर्ता र प्रहरीबीच झडप सुरु भयो यता केसीको समर्थनमा भइरहेको कोण सभा भने विथोलिएन। माइकबाट पहाडीले शान्तिपूर्ण आन्दोलन भएकोले झडपमा नउत्रिन आग्रह गरिरहेका थिए। सभामा आएकाहरुलाई विचलित नहुन भनिरहेका थिए। सभा वरपर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, लेखक खगेन्द्र संग्रौला, पूर्वमन्त्री गगन थापा लगायतका व्याक्ति पनि थिए।

एकतर्फ टियर ग्याँस पड्केको थियो, तरुणदलका कार्यकर्ताहरु प्रहरीलाई ढुंगा प्रहार गरिरहेका थिए भने अर्का तर्फ डा. केसीका स्वतन्त्र समर्थकहरु भद्र तरिकाबाट सभामा सहभागि भइरहेका थिए। मानौ उनीहरुलाई नजिकैको सडकमा डुंगा हानाहानको स्थिती जानकारी छैन।

पहाडीको सम्वोधन सकिएपछि लेखक खगेन्द्र संग्रौलाले सम्बोधन गरे। खरा बाम लेखक संग्रौलाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहालले लोकतन्त्रको लागि ठूलो लडाई लडेपनि उनीहरुले ज्ञानेन्द्र शाहको सिको गरिरहेको आरोप लगाए। डा. केसी सन्त भएको बताउँदै उनले केसी भय भन्दा माथी भएको बताए। 'डा. केसी सन्त भइसक्नु भएको छ', 'उहाँ भय भन्दा माथी हुनुहुन्छ। जीवनको भिख माग्न पर्दैन।' ओली सरकार विगतमा लोकप्रिय भए पनि आफ्नै कारणले त्यो लोकप्रियता गुमाउँदै गएको उनको भनाई थियो। माइतीघर मण्डलामा उभिएर आन्दोलन गर्न नपाइने, अवज्ञा गर्न नपाइने नियम शाही कालमा मात्र भएको बताउँदै उनले यसको सिको नगर्न आग्रह गरे।  

लेखक संग्रौलाले सम्वोधन गरिरँदा प्रहरीले तरुणदलका कार्यकर्ताहरुलाई विजुली बजार पुलमा पुर्‍याईसकेको थियो। यो बीचमा दुई जना डिएसपी सहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित दुई दर्जन कार्यकर्ता घाइते भएका थिए।

संग्रौला पछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले केसीको समर्थनमा आफ्नो भनाई राख्दै शिक्षा स्वास्थ्य जस्ता कुरा सर्वसुलभ हुनु पर्ने बताइन्। दलहरुले चुनावमा आफ्नो घोषणापत्रमा समेत यो उल्लेख गरे पनि सत्तामा पुगेपछि किन काम नगरेको भन्दै प्रश्न गरिन्। केसीले आफ्ना निम्ती माग नराखी जनताको पक्षमा माग राखेको बताउँदै उनले वेवास्ता नगर्न सरकारलाई आग्रह गरिन्। सरकारले यो कुरा नबुझे जस्तो गरे पनि आम जनताले सबै कुरा बुझेको कार्कीले बताइन्। डा. केसी कसैको कार्यकर्ता नभएको बताउँदै उनले केसीलाई कांग्रेस भएको आरोप लगाउन मिथ्या भएको बताइन्। 'डा. केसीले जनाताको आवाज बोलेका छन्', उनले भनिन्, 'सरकारले यो कुरा बुझेर पनि किन माग पुरा नगरेको ?'

एक दुई जना ठेकेदारलाई मोटो बनाएर समाजवाद नआउने उनले बताइन्। जनमत पाएको सरकारको विरुद्धमा जनता विरोध गर्न सडकमा नआएको बताउँदै उनले जनताले भनेको मान्न सरकारलाई आग्रह गरिन्। जनताका कुरा नसुन्दा देशमा आगो बल्न सक्ने उनको चेतावनी थियो।

यता कोणसभा सकिँदासम्म प्रहरी र तरुणदलबीचको झडप विजुली बजार पुलमा पुगेर साम्य भइसकेको थियो। घाइतेलाई उपचारमा पाइदै थियो भने केसीका स्वतन्त्र समर्थक घर फर्कदै थिए।

प्रकाशित: ५ श्रावण २०७५ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App