८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री द्वन्द्व निम्त्याउन अग्रसरः ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समस्या समाधान गर्नेभन्दा देशलाई द्वन्द्वतर्फ धकेल्न अग्रसर रहेको बताएका छन् ।

एमालेको युवा तथा खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीको हिजोको सम्बोधनले समस्या समधान गर्ने भन्दा पनि देशलाई द्वन्द्वतर्फ बढाउन चाहेको देखिन्छ ।’ उनले सरकारको आन्तरिक तथा वैदेशिक नीतिको आलोचना गरे । सम्बोधनमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे केही नबोलेको र चिनियाँ राष्ट्रपतिको भ्रमण के हुने हो, त्यसबारे जानकारी नगराएको भन्दै उनले पेट्रोलियम पदार्थको बजारलाई विविधीकरण गर्ने पूर्ववर्ती सरकारको निर्णयबाट पछि हटेको बताए ।

प्रधानमन्त्री  दाहालले बिहीबार संसद्लाई सम्बोधन गर्ने क्रममा भारतसँग पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन निर्माण कार्य पूरा गर्ने भनी गरेको घोषणा पेट्रोलियम पदार्थको बजारलाई विविधीकरण गर्ने आफ्नो योजनाभन्दा फरक भएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘मेरो छिमेकीसँगको सम्बन्ध केमा असन्तुलित भयो ? तेलको पाइपलाइन निर्माण गर्ने अथवा एक स्थानबाट मात्रै तेल ल्याउनु हुँदैन भन्ने कुराले असन्तुलित भएको हो ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री दाहालको बिहीबारको सम्बोधनमा राष्ट्रिय स्वाधिनताको पक्षमा आफूले चालेको कदमबाट पछि हट्ने धेरै विषय लुकेको भन्दै ओलीले भने, ‘आगामी दिनमा त्यो खुल्दै जानेछ ।’

संविधान जारी भएपछि असन्तुष्ट बन्दै भारतले नाकाबन्दी लगाएपछि ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको बजार विविधीकरण गर्ने निर्णय गरेको थियो । त्यसमा सरकारले निश्चित परिणाम पेट्रोलियम पदार्थ चीन र अन्तर्राष्ट्रिय बजारबाट किन्ने तयारी गरेको थियो । त्यसअघि सुशील कोइराला नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको ढुवानीका लागि पाइपलाइन निर्माण गर्ने सम्झौता भारतसँग गरेको थियो ।

प्रधानमन्त्री दाहालविरुद्ध कडा रूपमा प्रस्तुत भएका ओलीले सम्बन्ध सुधार्ने दाबी गर्ने दाहाललाई आफूले भन्दा राम्रो सम्झौता गरेर देखाउन चुनौती दिए ।

ओलीले दाहाल नेतृत्वको सरकारलाई आइफोनसँग तुलना गरे । ‘आइफोनको पछाडि डिजाइन इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना लेखिएको हुन्छ,’ उनले भने, ‘यो सरकार पनि डिजाइन इन समह्वेर एल्स, एसेम्बल्ड इन नेपाल हो ।’

भारतसँग राम्रो सम्बन्ध चाहेको भन्दै ओलीले भने, ‘भारतसँग हामीले राम्रो सम्बन्ध चाहेका हौं । कुरा यति मात्रै हो, यतातिर हात नलाए पुग्छ ।’ विदेशीसँग साँठगाँठ भएकाहरूले पहिले बोल्नै डराउने तर अहिले छाती फुलाएर हप्काउन थालेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आवश्यक तयारी अभावले चिनियाँ राष्ट्रपतिका भ्रमण हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलमा सरकार हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्ने प्रवृत्ति रहेको बताए ।

प्रकाशित: २५ भाद्र २०७३ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App