coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयर सुब्बालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान

धरान– उपचारको क्रममा निधन भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बालाई राज्यकोतर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान दिइएको छ।

स्वर्गीय मेयर सुब्बाको शव यात्रा गरिनुअघि पब्लिक उच्च माविको मैदानमा आयोजित श्रद्धाञ्जलि सभामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय झण्डा ओढाएका थिए। राष्ट्रिय झण्डा ओढाइसकेपछि पुनः नेकपाका नेताहरुले मेयर सुब्बाको शवमा पार्टीको झण्डा पनि ओढाए। संवैधानिक मर्यादामा रहेका वहालवाला स्थानीय सरकार प्रमुख भएकोेले अन्त्यष्टिमा राजकीय सम्मान दिइनुपर्ने माग भएको थियो। कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले प्रदेशका मुख्यमन्त्री, मन्त्रिपरिषद कार्यालय र संघीय गृह मन्त्रालयमा पत्राचार गरी राजकीय सम्मानको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। सरकारको तर्फबाट भने राष्ट्रिय झण्डा मात्र ओढाइएको हो। 

निमोनियाले ग्रस्त मेयर सुब्बाको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा साउन १ गते दिउँसो निधन भएको थियो। आफन्तजन विदेशबाट आउन समय लागेको उनको आज मात्र अत्येष्टी गरिन लागेको हो। करिब तीन बर्षअघि मृगौला प्रत्यारोपण गरिएका सुब्बा गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेकोतर्फबाट मेयरमा विजयी भएका थिए। स्वास्थ्यमा समस्या भएपछि उनी असार दोस्रो साता उपचारको लागि राजधानी गएका थिए। ग्राण्डीको आइसियुमा उपचाररत अवस्थामा नै उनको ५२ बर्षको उमेरमा निधन भएको थियो। 

श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले सुब्बाको निधनप्रति दुःख व्यक्त गर्दै धरानले मात्र नभई राष्ट्रले नै परिवर्तनको आन्दोलनका सारथी गुमाएको बताए। भौतिकरुपमा मेयर सुब्बा नरहेपनि उनका उत्कृष्ट विचार, सत्कर्म र योगदान सधै जनताको बीचमा रहने पोखरेलले बताए। ‘तारा सुब्बा एउटा निष्ठाको नाम हो, निरन्तर निष्ठामा बाचेको नाम हो, उहाँ कहिल्यै निष्ठाबाट च्युत हुनुभएन,’ सरकारको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्दै पोखरेलले भने, ‘सधै जनताप्रति समर्पित भएर लाग्नुभयो, उहाँ हामीबीच हुनुहुन्न, उहाँको अधुरो सपना सहयोद्धाहरुले, तपाई हामीले, पार्टीले पुरा गर्नुपर्छ।’

मेयर सुब्बालाई श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षा मन्त्री पोख्रेल, प्रदेश १ का मुख्यमन्त्री राईसँगै प्रदेशका सभामुख प्रदिपकुमार भण्डारी, मन्त्रीहरु, सांसदहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पार्टीका नेताहरु धरान आएका छन्। यस्तै, सर्वसाधारण नागरिकहरुल पनि मेयर सुब्बाप्रति श्रद्धाञ्जलि एिका छन्। पब्लिकको मैदानमा शव ल्याइनुअघि उपमहानगरपालिकाका प्रांगणमा कर्मचारी तथा धरानका जनप्रतिनिधिहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए। त्यहाँ नगर प्रहरीले सलामी पनि दिएको थियो। 

प्रकाशित: ५ श्रावण २०७५ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App