८ वैशाख २०८१ शनिबार
समाज

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

भक्तपुर - भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ।

सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले गत असार २७ र २८ गते आएको बाढीले डुबान क्षेत्रमा ल्याएर थुपारेको फोहोर र अन्य फोहोर सफाइ गरेको थियो।

कलाकार रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको आजको सफाइ अभियानमा २० टन फोहोर संकलन गरिएको छ । अभियानमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, स्थानीय नेता तथा कार्यकर्ता, माउण्ट भ्यू स्कूल र एसएस कलेजका विद्यार्थी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खोला मिचेर बनाइएका संरचना र व्यक्तिको नाममा गरिएका खोला अब सार्वजनिक जग्गाका रुपमा फर्काइने बताए । उनले खोला मिच्ने प्रवृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर खोलाको जग्गा व्यक्तिको नाममा गरिएको पाइएकाले अब त्यस्ता जग्गालाई साविकअनुसार सार्वजनिक रुपमा नै फर्काइने उद्घोष गरे।

हनुमन्तेको बाढी बस्तीमा पस्नबाट रोक्न हनुमन्ते करिडोर निर्माण, हनुमन्तेलाई पानीको बहाव क्षेत्र आठ मिटरको फराकिलो बनाइने र खोलाको दायाँबायाँ डिलमा पर्खाल लगाउने उनले बताए।

कार्यक्रममा कलाकार रवीन्द्र खड्काले यस प्रकारको सामाजिक कार्यमा आफू जतिखेर पनि आउन तयार रहेको बताउँदै सबै मिलेर लागे सफाइ अभियान सफल भएर हराभरा, सफा भक्तपुर बनाउन सकिने विचार व्यक्त गरे।रासस

 

प्रकाशित: ५ श्रावण २०७५ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App