coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मनमोहन सिंह नेपाल आउने

काठमाडौं–  दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी बनाउनका लागि आयोजना गर्न लागिएको सम्मेलनमा सहभागी हुन भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह नेपाल आउने भएका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरिरहेको ‘सार्कको प्रभावकारिताका लागि क्षेत्रीय सम्मेलन’ मा सहभागी हुन सिंहसहित अन्य देशका पूर्व राष्ट्र र सरकार प्रमुख नेपाल आउन लागेका हुन् । उक्त सम्मेलन सेप्टेम्बर २९–३० सम्म काठमाडौंमा हुँदैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको पहलकदमीमा दुई दिने सम्मेलन काठमाडौंमा हुन लागेको हो । त्यसका लागि समितिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नेतृत्वको जिम्मेवारी सुम्पेको छ भने पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालगायत सदस्य छन् ।

पूर्वप्रधानमन्त्री नेपालका अनुसार नोभेम्बरमा पाकिस्तानमा हुन गइरहेको सार्क सम्मेलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनका लागि पहलकदमीसहितको नेतृत्व लिइरहेका नेता नेपालले सार्क राष्ट्रका पूर्व राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता रहने पनि जानकारी दिए । ‘भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत सार्क राष्ट्रका अन्य पूर्वप्रमुखलाई निम्तो पठाइसकेका छौं, उहाँहरू आउनेबारेमा कुराकानी भइरहेको छ,’ पूर्वप्रधानमन्त्री नेपालले नागरिकसँग भने, ‘सबै सार्क राष्ट्रका परराष्ट्र मामिला हेर्ने संसदीय समितिका सभापतिले पनि त्यस सम्मेलनमा सहभागिता जनाउने छन् ।’ भारतीय राजदूत रन्जित रेसँग मनमोहन सिंहको नेपाल आगमन तयारीबारे शुक्रबार नेता नेपालले छलफलसमेत गरिसकेका छन् ।

‘सार्कको प्रभावकारिताका लागि क्षेत्रीय सम्मेलन’ मा सहभागी हुन सिंहसहित अन्य देशका पूर्व राष्ट्र र सरकार प्रमुख आउन लागेका हुन्

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु साहले सम्मेलनबाट प्राप्त सुझावलाई सार्क सम्मेलनक्रममा प्रस्तुत गरिनेछ । ‘सार्क गठन भएको लामो समयसम्म पनि अरु संस्थाजस्तो प्रभावकारी नभएपछि त्यसलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने मुख्य अजेन्डा हो,’ साहले नागरिकसँग भने, ‘सार्कलाई प्रभावकारी बनाएर दक्षिण एसियामै शक्तिशाली संस्थाको रूपमा स्थापित गराउनेबारे सम्मेलन केन्द्रित हुनेछ ।’ उनका अनुसार त्यसको तयारीका लागि समितिसहित, व्यवस्थापिका संसद्, परराष्ट्र मन्त्रालयलगायत पूर्वपरराष्ट्रमन्त्रीले आ–आफ्नो तरिकाले भूमिका खेलिरहेका छन् ।

उक्त सम्मेलनमा सहभागिताका लागि भारतीय पूर्वप्रधानमन्त्री सिंहसहित पाकिस्तानका पूर्वप्रधानमन्त्री चौधरी सुजात हुसैन, बंगलादेशका परराष्ट्रमन्त्री दिपु मोनी, अफगानिस्तानका सांसद इजमराक पडखावी, श्रीलंकाका सांसद रन्जित आल्भीहर, भुटानका सांसद रिन्जिन दोर्जे, भारतीय सांसद शशी थरुर, नेपाल–भारत सन्धिको पुनरावलोकनका लागि गठन गरिएको प्रवुद्ध व्यक्ति समूहका सदस्य महेन्द्र पी. लामालगायत नेपाल आउने लगभग पक्का भएको छ ।

‘उक्त सम्मेलनमा भाग लिन सबैलाई परराष्ट्र मन्त्रालयमार्फत निम्तो पठाइसकिएको छ, केहीले आउने कन्फर्म पनि गरिसकेका छन्,’ समितिका अधिकृत अधिराज राईले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिएको उक्त सम्मेलनमा पूर्वपराराष्ट्रमन्त्रीको पनि सहभागिता रहनेछ । सार्कको अध्यक्ष राष्ट्रको नाताले नेपालले उक्त कार्यक्रम गर्न लागेको हो । सार्क स्थापना भएको तीन दशक लागिसक्दा पनि सम्मेलनबाहेक अन्य कार्यमा प्रभावकारिता देखाउन नसकेको गुनासो आएपछि समितिले उक्त सम्मेलन गर्न पहलकदमी गरेको हो ।

उक्त सम्मेलनमा ‘सार्कको तीन दशक ः एक टिप्पणी’ मा आनन्द आदित्यले, आर्थिक सहकार्यबारे शंकर शर्माले र संस्थागत संयन्त्र अभिवृद्धिबारे युवराज संग्रौलाले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसका लागि विभिन्न देशका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा टिप्पणी गर्ने कार्यक्रम छ ।

 

प्रकाशित: २५ भाद्र २०७३ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App