१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

फोहोर फाल्नेको अनुहार सिसिटिभी क्यामारामा

फाइल फाेटाे

पाल्पा – तपाई तानसेनमा बस्नुहुन्छ या बाहिरबाट तानसेन आउँदै हुनुहुन्छ ? तपाईं नगरमा बस्दा या भ्रमणका बेला फोहोर जथाभावी फाल्ने गर्नुभएको भए अब तपाईको अनुहार स्थानीय सरकारसामू पुग्नेछ । यसको माध्यम बन्नेछ, सिसि क्यामेरा।

 तानसेन नगरपालिकाले सुन्दर तानसेन अभियान अन्र्तगत सडकमा फोहोर फाल्नेहरूलाई सिसिटिभी क्यामाराबाट हेर्ने व्यवस्थापन गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा नगरपालिकाले यस्तो काम अगाडि बढाएको हो । जसले तानसेनको सुरक्षा व्यवस्थापनका लागि सहयोग पुग्ने बताइएको छ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ का लागि तयार गरेको नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण कार्यक्रममा यस्तो बताएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सिसि क्यामाराबाट फोहोर फाल्नेको अनुहार कैद गर्ने र नगरका वासिन्दा भए कारबाही गर्ने अन्यत्रका भए सचेत गराउने कार्यक्रम अगाडि बढाएको बताए । नगरप्रमुख शाही भन्छन्, ‘जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा २० वटा सिसिटिभी क्यामेरा जडान गरि परीक्षण गरिएको छ । फोहोर फाल्नेलाई फोहोरमैला ऐन अनुसार कारवाही हुन्छ।’

तानसेनका मेयर अशोककुमार शाहीले बोटे समुदायमा फुसको छानोरहित घर अभियान, विपन्न समुदायको स्वास्थ्य बिमा, युवा रोजगारीका लागि प्रवर्द्धन, खेलकुद तथा लक्षित समुदाय कार्यक्रमलाई निरन्तरता दिएको बताए । ‘तानसेनलाई आगामी ४ वर्षभित्र नेपालकै प्रमुख पाँच पर्यटकीय गन्तव्य स्थलको रुमपा स्थापित गरिनेछ,’ शाहीले भने, ‘मोटरबाटोको स्तरोन्नती, सिंचाई तथा खानेपानीको व्यवस्थापन, समृद्धिका लागि सहकारी, जनताको घर दैलोमा मेयर कार्यक्रमहरू छन्।’

नगरपालिकाका फोहोरमैला शाखा प्रमुख शंकर भण्डारीले तानसेनको फोहोर कम गर्न कुहिने फोहोरबाट मल बनाउन टेन्डर गरिएको बताए । उनी भन्छन्, ‘२१ जना मानिसलाई पोका अभियान अन्तर्गत कारवाही गरेका छौं । आफैले फोहोर फालेर नगरपालिकाले सफा गरेन भन्ने मानसिकता छ । अहिले सिसि क्यामेराको फुटेज अध्ययन भैरहेको छ । क्यामेराको मद्दतबाट फोहोर जथाभावी फाल्नेलाई कारवाही गर्छौं ।’ अहिले तानसेन नगरपालिकाले १५- १५ दिनमा कुहिने र नकुहिने फोहोर एक दिन बिराएर उठाउने गरेको छ।

  तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेलले ८० करोड १३ लाख १० हजार बराबरको अनुमानित व्यय विवरण प्रस्तुत गरे । चालुतर्फ ४७ करोड ५९ लाख र पुँजीगत तर्फ ३२ करोड ५३ लाख बराबरको बजेट पारित भएको पौडेलले बताए । पौडेल भन्छन्, ‘गत आवमा ६५ किलोमिटर सडकको ट्रयाक खुलेको ३ किलोमिटर सडक कालोपत्रे र ढलान भएको, १ किलोमिटर ग्राभेल र ६१ किलोमिटर सडक बिस्तारको काम भएको छ । सिद्धार्थ राजमार्ग र कालीगण्डकीसँग जोड्ने डेडिकेटेड फास्ट ट्रयाकको ६६ प्रतिशत काम भएको छ ।’ उनले नगरको विकास गर्न १२ महिना सबै ग्रामीण क्षेत्रमा सवारी चल्ने गरी सडकको स्तरउन्नति, फोहोर व्यवस्थापन गर्न पूनः ल्याण्डफिल्ड साइट सञ्चालन, निजी शैक्षिक संस्थालाई ३५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको बताए ।  

नगरपालिकाले पशुपालन, तथा कृषितर्फ किसानलाई अनुदान प्रदान गरेको, प्रविधि हस्तान्तरण गरेको, माटो परीक्षण गरेको, पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण, मर्मत संभारको कार्य गरेको, ९ सय ५३ जना अल्पसंख्यक र दलित समुदायका परिवारको स्वास्थ्य बिमा गरेको, स्वास्थ्य संस्था मार्फत १८ सय ५७ आमाहरुको आमा सुरक्षा कार्यक्रममा सहभागी बनाएको, पाल्पा अस्पताल सुधारका लागि सहयोग गरेको जनाएको छ । यस्तै नगरपालिकामा मुद्दा परेका २१ मुद्दामध्ये, १५ वटा मुद्दाहरू मिलापत्र गरेको, २ वटा न्यायिक समितिमा तारेखमा राखेको र ५ वटा फौजदारी मुद्दा परेको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा पत्रकारहरूले नगरपालिकाले असार मसान्तमा काम गर्ने शैलीमा सुधार गर्नुपर्ने, योजना कार्यान्वयन प्रभावकारी गर्नुपर्ने, सूचना र खर्च पारदर्शी हुनुपर्ने सुझाव व्यक्त गरेका थिए । तानसेन नगरपालिकाले देउराली सामुदायिक वनमा फोहोर फाल्दै आएको छ । ५ करोड रुपैयाँको लागतमा निर्माण भएको ल्याण्डफिल्ड साइटलाई पूनः सञ्चालन गर्न वर्ष ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । तानसेनबाट दैनिक ९ टन फोहोर निस्किँदै आएको छ ।

प्रकाशित: ५ श्रावण २०७५ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App