८ वैशाख २०८१ शनिबार
खेल

शरणार्थी शिविरमा विश्वकपको रौनक

कुटुपालोङ – रुसमा विश्वकप समापन भएको एक साता पनि भएको छैन । तर विश्वकै ठूलो शरणार्थी शिविर बंगलादेशको कटुपालोङमा भने विश्वकपको रौनक अझै बाँकी छ । म्यानमारबाट लखेटिएका लाखौं रोहिङग्या मुसलमान शरणार्थी रहेको उक्त शिविरका टहराहरुमा अझै ब्राजिल र अर्जेन्टिनाका झण्डा फहराईरहेको देख्न सकिन्छ।

बंगलादेशको दक्षिण–पूर्वीसहरमा रहेको कुटुपालोङ शरणार्थी शिविरमा रहेका अधिकांश युवाहरुका लागि यो पहिलो विश्वकप अनुभव रह्यो । आफ्नो देश छोडेर अर्काको ठाउँमा शरणार्थी जीवन विताइरहेका दुःखीहरुका लागि वितेको एक महिना विश्वकपले देश छोड्नु परेको पीडा विर्साएको थियो । गत आइतबार क्रोएसिया र फ्रान्सबीचको फाइनल खेलमा उत्सुक बनेका उनीहरुबाट विश्वकपको रौनकता हट्ने कुनै संकेत छैन।

त्यहाँका बालबालिकाहरुले माटोबाट बनेको विश्वकपको ट्रफी जस्तै देखिने शिल्डका साथ शरणार्थी शिविरको परिक्रममा गरेका थिए । परिक्रमाको समयमा उनीहरुको मुहारमा देखिएको उत्सुकता हेर्दा लाग्थ्यो, उनीहरु भर्खरै रुसबाट विश्वकपको ट्रफीका साथ फर्किएका छन्।

‘मलाई मनपर्ने टोली अर्जेन्टिना थियो । मैले फाइनल खेल पनि हेरे र त्यो क्रोएसियाविरुद्ध फ्रान्सको खेल थियो । जुन फ्रान्सले जित्यो,’ अर्जेन्टिनाको जर्सीमा देखिएका ६ वर्षे वालक मोहम्मद रेजाले भने, ‘मेरो मन पर्ने टिम फाइनलमा भएको भए धेरै राम्रो हुन्थ्यो । फुटबलको मज्जा अझ धेरै हुन्थ्यो । तर पनि फाइनल रमाइलो भयो।’

माटोको ट्रफीका साथ रमाइरहेका बालबालिकाको भिडमा सबै भन्दा कान्छा ५ वर्षे नुरुल असरफ पनि मिसिएका थिए । उनी ब्राजिलको जर्सीमा थिए । ‘मेरो मनपर्ने खेलाडी नेइमार हो,’ असरफले लजाउदै भने।

‘विश्वकप फाइनल हेर्नका लागि शिविरका अधिकांश मानिस एक टेलिभिजन आसपास झुम्मिएका थिए । फाइनल खेलको केही समय अघिसम्म हामीहरु भारी वर्षाको वास्ता नगरी खाली खुट्टा घण्टौं आफै फुटबल खेलिरहेका थियौं,’ सिविरका १८ वर्षे नुरुल आब्शेरले भने।

शिविरमा केहीले युरोपियन शीर्ष क्लबको पुरान जर्सी लगाएका शरणार्थी पनि थिए । केही युवाले स्पेनको झण्डा पनि बोकेका थिए । तर अधिकांशको रोजाईमा भने अर्जेन्टिना र ब्राजिल नै थियो । बंगलादेशमा पनि यी दुई राष्ट्रकै समर्थको संख्या बढी छ।

१९८६ मा अर्जेन्टिनाले विश्वकप जित्नुअघि अधिंकाश बंगलादेशी फुटबलप्रेमी ब्राजिलको पक्षमा थिए । उनीहरुको मर्ने खेलाडी पेले थिए । तर डिएगो म्यारोडोनाको प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्व विजेता बनेसँगै बंगलादेशी समर्थक त्यतातर्फ मोडिएका थिए।

बंगलादेशी पत्रकारहरुको एउटा समूह शिविरमा पुग्दा त्यहाँ जम्मा भएका युवकहरुको भिडबाट एक जना उठे, जहाँगिर आलम । उनको कपाल शैली ब्राजिली स्ट्राइकर नेइमारको जस्तै थियो । ‘मलाई नेइमार मनपर्छ । त्यसैले मैले उनको जस्तै हेयर स्टाइल बनाएको हुँ,’ १७ वर्षे आलमले भने, ‘मैले प्रतियोगिताको मजा उठाएँ।’

प्रकाशित: ५ श्रावण २०७५ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App