७ वैशाख २०८१ शुक्रबार
अन्य

पत्नी गर्भवती भएपछि...

धेरै वर्षअघिको कुरा हो हाम्रा केही साथी आफ्ना पत्नी गर्भवती भएपछि हामीसँग टाढिन खोजे । कोही रिसाए पनि । पत्नीहरू भने हामीसँग खुसी नै भए । उनीहरूका सन्तान पनि स्वस्थ जन्मे । उनीहरू अहिले स्वदेश र विदेशमा राम्रो काम गरिरहेका छन् । आमाबाबुलाई खुसी राखेका छन्।

हाम्रा तीन सन्तान बिल्कुलै निरोगी भएर हुर्के । चार वर्षमा हाम्रा तीन नाति जन्मे । बुहारीहरू भोजन, पोषण र लालनपालनको यथेष्ठ ज्ञान भएकाले स्वस्थ बच्चा जन्मे र तीनैजना नाति उजेली पक्षको जुनझैँ बढिरहेका छन् ।
यो सबैको श्रेय उनीहरूकी हजुरआमा गंगालाई जान्छ । ५० वर्षअघि गृह विज्ञान, खाद्य तथा पोषण प्रविधि र सुत्केरी एवं शिशु स्याहारबारे औपचारिक शिक्षा पाएर अध्यापनमा लागेकी उनले आफ्नो ज्ञान र सीपलाई किताब र कक्षाकोठामा मात्र सीमित नराखी घर, छरछिमेकी, साथीभाइ तथा लेखनको माध्यमबाट पनि निरन्तर बाँडचुँड गरिरहेकी छन्।

हामी २०५३ सालसम्म पाल्पामा बस्थ्यौँ । एक पटक काठमाडौँ आएका बेलामा एक जना साथी सपरिवार बसेको डेरामा जाँदा साथीकी पत्नी गर्भवती भएको थाहा पायौँ । कोठामा रक्सीका बोतल र चुरोटका ठुटा देख्दा हामीलाई अचम्म लाग्यो । रक्सी र चुरोटको धुवाँले गर्भको बच्चालाई कस्तो हानी पु¥याउँछ भन्ने कुरा गंगाले उनीहरूलाई सम्झाइन् । गर्भवतीले के–के कुरा खानुपर्छ भन्ने जानकारी दिइन् र कम्तीमा पनि दिनको एउटा फुल र एक गिलास दूध खान कबुल्याइन्।  

त्यसबेला काठमाडौँमा भाँडामा राखेको पानी तताउने बिजुलीको सानो रड पाइन्थ्यो । त्यो रड गिलासमा राखेर पानी र फुल राखेपछि सजिलैसँग फुल उसिन्न सकिन्थ्यो । हामीले बिजुलीको रड किनेर साथीलाई दियौँ र सुत्केरी नभएसम्म दिनको एउटा फुल उसिनेर ख्वाउन बाचा गरायौँ । यसले गर्भवती पत्नी त खुसी भइन् । तर, साथीले भने अरूसँग हाम्रोबारे नकारात्मक टिप्पणी गरेको थाहा पायौँ।

खाना पकाउने, लुगा धुने, भाँडा माझ्ने, सरसफाइ गर्ने काम महिलाको हो भन्ने धारणा शीलापत्रमा झैँ दिमागमा कुँदिएका कतिपय साथीका लागि गर्भवतीका लागि गरिने यो प्रयासले रुष्ट बनाएको थियो । विश्वविद्यालयका उच्चतम प्रमाणपत्रहरूले पनि यो धारणा फेर्न सकेको छैन ।शिशुलाई गर्भबाट निस्केपछि मात्रै माया गर्ने तर गर्भमा रहेको अवस्थामा नियतिको भरमा छाड्ने हाम्रो संस्कारले गर्दा कतिपय बच्चा अस्वस्थ जन्मेका छन् र सामान्यरूपमा जन्मे पनि पछि रोगी भएका र दिमागी विकास अधुरो रहेको पाइएको छ।

बच्चाले आमाबाबुको हरेक कुराको नक्कल गर्छ । खराब कामकुराको नक्कल झन धेरै गर्छ । यसैले भावी पिताले सन्तानलाई जस्तो बनाउन चाहेको हो आफू त्यस्तै बन्ने अभ्यास थाल्नुपर्छ ।

शिशुलाई गर्भमा छँदैदेखि माया र हेरविचार गर्नुपर्छ भन्ने महाभारतको यो कथाले पनि स्पष्ट पार्छ । अर्जुनका छोरा अभिमन्युले युद्ध मैदानमा रचिएको चक्रव्युह नामक घेरालाई तोडेर भित्र जान सफल भए । तर, उनी त्यहाँबाट बाहिर निस्कन सकेनन् र मारिए । अभिमन्युले चक्रव्युह तोड्न ज्ञान आमाको गर्भमा छँदा नै सिकेका थिए । तर, चक्रव्युहबाट निस्कन उनले जानेका थिएनन् । यसको कारणबारे महाभारतमा यस्तो भनिएको छ :
अभिमन्यु गर्भमा भएका बेलामा उनकी आमा सुभद्रालाई उनका पिता अर्जुनले चक्रव्युह तोड्ने तरिका सिकाइरहेका थिए ।

गर्भमा बसेका अभिमन्युले सबै कुरा आमाको माध्यमबाट सुनिरहेका थिए । पहिले मकरव्युह त्यसपछि कर्मव्युह र सर्पव्युह पार गरेर चक्रव्युहमा प्रवेश गर्ने तरिका सुनाएपछि अर्जुनले चक्रव्युहबाट बाहिर निस्कने तरिका सुनाउन लागेका बेला सुभद्रा निदाइन् । सुभद्रा निदाएको देखेर उनलाई बाधा नपार्ने उद्देश्यले अर्जुनले आफ्ना कुरा रोके । फलस्वरूप पेटभित्र बसेका अभिमन्युले चक्रव्युहबाट बाहिर निस्कने उपाय थाहा पाउन सकेनन्।

हुन त यो पौराणिक कथा हो । तर, यसले गर्भमा रहेको शिशुको विकासबारे धेरै नै वैज्ञानिक कुरा स्पष्ट पार्छन् । गर्भमा रहेको शिशुको शारीरिक विकासका लागि आमालाई पोषणयुक्त भोजनको महत्व भएझैँ उसको मानसिक विकासको लागि आमालाई स्वस्थ र सकारात्मक सूचना, शिक्षा र ज्ञानको महत्व हुन्छ।

हरेक आमाबाबुले आफ्नो सन्तान असल होस् भन्ने चाहन्छ । तर, असल बनाउने काम सन्तान जन्मेपछि मात्रै हैन जन्मनुभन्दा पहिलेदेखि सुरु गर्नुपर्छ । शिशुको स्याहार सुसार र समुचित विकास गर्भावस्थादेखि नै हुने हुनाले सुत्केरी हुनुभन्दा पहिले पनि सुत्केरी बिदा लिन सकिने कानुनी प्रावधान हामीकहाँ पनि छ । त्यस्तै सुत्केरी र शिशुको स्याहार सुसारमा पति÷पिताको पनि महत्वपूर्ण भूमिका भएको हुनाले पत्नी सुत्केरी भएपछि पतिलाई सुत्केरी बिदा दिने चलन नेपालमा पनि सुरु भएको छ।

यसैले पिता बन्न लागेको हरेक व्यक्तिले पत्नी गर्भवती भएदेखि नै आफ्नो भूमिका फेर्न तयार हुनुपर्छ । वास्तवमा पत्नी गर्भवती हुनु भनेको व्यक्ति पतिबाट पिता बन्ने रूपान्तरणको समय हो । निश्चय नै पति र पिताको भूमिका धेरै नै फरक हुन्छ । एउटा नयाँ जीवनलाई हुर्काएर योग्य नागरिक तयार पार्ने काममा पिताको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुन्छ।  

गर्भवती पत्नीलाई आवश्यकता अनुसार पोसिलो भोजन, पर्याप्त आराम र निद्रा तथा असल विचार र व्यवहार भावी पिताले गर्ने प्रारम्भिक काम हुन् । गर्भवतीको खाने रुचि अविश्वसनीय तरिकाले फेरिन सक्छ । पहिले रुचाउने गरेका कतिपय खानेकुरा पटक्कै खान मन नलाग्ने हुनसक्छ । त्यस्तै पटक्कै खान मन नपर्ने खानेकुरा पनि गर्भवती अवस्थामा मिठो मान्ने र खान मन लाग्ने हुनसक्छ । भावी पिताले आफ्नो भावी सन्तानको शारीरिक र मानसिक विकासलाई ध्यानमा राखेर पत्नीको पोषणसम्बन्धी आवश्यकता पूरा गर्नुपर्ने हुन्छ।

पोषण पछि लुगामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवतीले कसिलो लुगा लाउनु हुँदैन । सकेसम्म खुकुला लुगा लाउनुपर्छ । हामीकहाँ एउटा भनाइ प्रचलित छ, ‘बच्चा पाउने कहिले कहिले कन्धनी बाट्ने अहिले ।’ यो कुरा गलत हो । बच्चालाई चाहिने मौसम अनुसार लुगाको जोहो पहिल्यै गर्नु बेस हुन्छ । लुगा किन्दा लैँगिक पूर्वाग्रह (जेन्डर बायस्ड) राखेर किन्नु उचित होइन । लुगा शरीर ढाक्न र न्यानोका लागि हो ।

केटा वा केटी चिनाउन लुगा लाउने होइन ।हामीकहाँ एउटा अस्वस्थकर चलन छ । त्यो हो केटाकेटीलाई थाङ्ना उपहार दिने । थाङ्ना भनेको प्रयोग गरिसकेको लुगा÷कपडा हो, जो नवजात शिशुको कोमल शरीरका लागि अस्वस्थकर र अनुपयुक्त हुनसक्छ । कतिपयले नयाँ कपडा दिँदा पनि खरानी वा बेसार दलेर पुरानो थाङ्ना जस्तो बनाएर दिने गर्छन् । यस्तो अवैज्ञानिक र अस्वस्थकर चलनलाई संस्कृति वा संस्कार भनेर काखी च्याप्नु बुद्धिमानी होइन । बच्चालाई सुताउने ओछ्यान र लाउने लुगाको जोहो पनि भावी पतिले पहिलेदेखि गर्नुपर्ने हुन्छ।

मुख्य कुरा व्यक्तित्वको रूपान्तरण हो । एउटा पतिबाट असल र जिम्मेवार पिताको भूमिकामा रूपान्तरणको थालनी सबैभन्दा पहिले आफ्नै आनीबानी र जीवनशैलीको सुधारबाट हुन्छ । बच्चाले आमाबाबुको हरेक कुराको नक्कल गर्छ । खराब कामकुराको नक्कल झन् धेरै गर्छ । यसैले भावी पिताले सन्तानलाई जस्तो बनाउन चाहेको हो आफू त्यस्तै बन्ने अभ्यास थाल्नुपर्छ । भोलि जन्मने शिशुको रोल मोडेल बन्न आजैदेखि अभ्यास गर्नुपर्छ।

प्रकाशित: ५ श्रावण २०७५ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App