coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पहिलो माया

आज मलाई रमेशले बोलाएको छ साँझ सँगै डिनर खाउँ भनेर । किन किन म उसको कुरा काट्नै सक्दिनँ।

रमेशले केही भन्नेबित्तिकै म उसको कल्पनामा डुब्न चाहन्छु । उसलाई मन पर्ने लुगा लगाउन चाहन्छु । उसैलाई मन पर्ने अत्तरले आफूलाई सुगन्धित बनाउन मन लाग्छ । उसले बोलेका कुरा सुनिरहन पाए हुन्थ्यो भन्ने लाग्छ, त्यो पनि एकनाशले । यतिसम्म कि जब म ऊसँग रहन्छु, लाग्छ– त्यतिबेला हामीलाई डिस्टर्ब गर्ने फोनको घन्टीसमेत नबजोस् । अनिखाना अर्डर गर्नवेटरसमेत नआइदिए हुन्थ्यो । कोही होस् त खाली ऊ, म अनि शून्य संसार।

‘ओइ घर जाने होइन ?’ रमाको स्वर सुनेपछि पो झसंग भएछु । हत्त न पत्त घडीमा पुगेको आँखाले साँझको ६ बजिसकेको पत्तो पायो । वरिपरि आँखा लगाएँ, कार्यालय समय सकिएकाले होला, सबै सहकर्मी घरतिर लागिसकेछन् । म पनि आफ्नो कम्प्युटर बन्द गरेँ । अनि निस्केँ रमासँगै।

गार्डेन अफ ड्रिम्स– हामी कहिलेकाहीँ सुन्दर सपनाबारे सोच्ने ठाउँ । किन किन, नामैले हो कि यो ठाउँ निकै रमाइलो पनि लाग्छ । कार्यालयबाट निस्केपछि सरासर त्यहीँ पुगेँ, जहाँ रमेश मलाई कुरिरहेको थियो । ‘सरी, आउन ढिला भयो’– औपचारिकता निर्वाह गरेँ । अनि बसेँ ऊ नजिकै।

आखिर केही न केही प्रसंगबाट कुरा सुरु गर्नै पथ्र्यो । त्यसैले सोधेँ– किन बोलायौ त आज मलाई ? कतै रश्मीसँग पनि...? कि मलाई जस्तै, र त्यसपछि सृष्टिसँग जस्तै रश्मीसँग पनि डिभोर्सको चरणमा त पुगेनौं ?केहीबेर ऊ माथ्लो ओठले तल्लो ओठलाई थिचेर केही गमिरह्यो । अनि जोडिएका ओठ फट्याएर बोल्न थाल्यो– ‘होइन रमु, तिमी त मलाई बुझ न ।’ जब उसले मलाई ‘रमु’ सम्बोधन गर्यो, एक्कासि झसंग भएँ । यो सम्बोधनले मलाई आजभन्दा सात वर्षअगाडिको अवस्थामा पुर्यायो । जतिबेला म ऊसँग विवाह बन्धनमा बाँधिएर उसको घर भित्रिएकी थिएँ । त्यतिखेर म करिब १९ वर्षकी मात्र थिएँ । हाम्रो मागी विवाह भएको थियो । किन हो थाहा छैन, म उसलाई धेरै माया गर्थेँ । उसको खुसी आफ्नो खुसी ठान्थेँ।

मानिस स्वार्थी जात न हो । सबैका आ–आफ्ना चाहना, खुसी र स्वार्थ हुन्छन् नै । अनि यी स्वार्थ पूरा भए खुसी हुने र स्वार्थमा कतैबाट प्रहार भए दुःखी हुने मानवीय स्वभाव नै हुने गर्छ । तर, म भने अपवाद थिएँ । बिहान उठेदेखि बेलुका ऊ नसुतेसम्म उसकै खुसीमा रमाउँथे । उसकै चाहनामा म आफूलाई सपर्पित गर्थेँ । मानौँ, उसको खुसीबाहेक मेरो अर्को कुनै स्वार्थ छैन । त्यसैले त आफ्ना लागि केही सोच्नु पनि मेरा लागि करिब दुर्लभ नै थियो ।
मेरो रमेश के खान्छ ? ऊ केमा रमाउँछ ? केमा खुसी हुन्छ ? बस्, मेरो दिमागमा चौबीसै घण्टा यिनै र यस्तै प्रश्नले साम्राज्य खडा गरेका थिए । न म यो साम्राज्यलाई गलत ठान्थेँ न त यसबाट मुक्ति नै चाहन्थेँ । वास्तवमा मेरो सम्पूर्ण जिन्दगी यसैमा लुट्पुटिएको थियो । मानिसले भनेका सुन्थेँ–‘पहिलो माया एकदमै प्यारो हुन्छ । कहिले पनि बिर्सन सकिन्न ।’ मेरो जीवनमा पनि यो प्रमाणित भयो । त्यसैले मानिसले भन्ने गरेका यो भनाइ म पत्याउन विवश थिएँ।

बिल लिएर आफ्नै टेबलअगाडि उभिएको वेटरले ‘म्याडम ?’ भन्दा पो झस्किएँ । जतिखेर रमेशको आँखाबाट आँसु झरिरहेको थियो । सायद ऊ पनि बल्ल आएर पहिलो मायाको यादमा पछुताइरहेको थियो ।

यतिसम्म कि उसलाई माया गर्ने क्रममा मैले साथीसंगी, नातागोता सबै बिर्सिसकेछु । तर, उसलाई भने मेरो माया धेरै भएर पचेनछ क्यार, ऊ त मभन्दा टाढा, अन्तै पो बस्न थाल्यो । त्यो पनि बिहे गरेको वर्ष दिनै नपुगी । म भने हरेक दिन अन्धो मायामा समर्पित हुँदै जान थालेँ । यसको सट्टा ऊ भने घरभन्दा बाहिर बढी समय बिताउन थाल्यो।
बाहिर बढी समय बिताउनेमात्र कहाँ हो र ? मसँग चाहिने-नचाहिने विषयमा निहुँ खोज्न थाल्यो लगातार । मात्र झगडाका लागि । म भने ‘मेरै गल्ती भयो’ भन्दै माफी माग्दै गर्न थालेँ । फेरि फेरि उसकै मायाको कल्पनामा समर्पित गर्थेँ आफूलाई । अनि त्यही कल्पनासँग सबै वेदना साट्ने प्रयास गर्थेँ।

एकदिनको कुरा हो । मेरो घरमा छिमेकी अन्टी आउनुभयो । जो आक्कल–झुक्कलमात्र आउनुहुन्थ्यो । उहाँको आगमनले ममा केही कौतुहल उब्ज्यो– किन आउनुभएको होला भनेर ? सोच्दै थिएँ, उहाँले नै मुख खोल्नुभो, ‘दुलही तिमी ठीक त छौ ? बाहिर नराम्रो कुरा सुन्छु नि !’ एक्कासि मनमा डर उत्पन्न भयो । लौ, के बित्यास पर्यो भन्ने लाग्यो । मनमा एकैपटक धेरैप्रकारका तर्कना उत्पन्न भए।

आफूलाई सम्हालेँ । अनि सोधेँ– ‘के सुन्नभो र अन्टी ?’ ‘रमेश त अर्कै केटी लिएर सिनेमा हेर्न, पार्कमा घुम्न, रेस्टुरेन्टमा रमाइलो गर्न जाने गर्छ रे नि, तिमीले सम्झाउनुपर्दैन ?’ अन्टीको यस्तो कुराले मलाई रमेशप्रति आक्रोशित बनाउनुपर्ने हो । तर, म रमेशप्रति त्यस्तो सोच्नै सक्दिनथेँ । त्यसैले अन्टीको कुरामा पत्यारै लागेन । लाग्यो, उनी रमेशविरुद्ध मलाई भड्काउन खोज्दैछिन्।

त्यसपछि ती अन्टीलाई मज्जाले झपारेँ । यस्तो आधुनिक समयमा पनि साथीसँगै हिँड्दैमा गलत सोच्न हुन्छ भनेर थर्काएँ उल्टै । अनि बिनासित्तिका कुरा सुनाएर अरुको घर भाँड्ने काममा नहिँड्न पनि सुझाएँ । मुखमा आएसम्म गालीसमेत गरेँ आफ्नो रमेशप्रति यस्तो कुभावना राखेको भनेर । रमेशले आफूलाई धेरै माया गर्ने भएकाले यस्तो सोच्नसमेत नसक्ने बताएँ र अरुका कुरामा चाख नलिई आरामसँग बस्न पनि उपदेश दिएँ उनलाई ।रमेशलाई यस्तो बात लगाएको सुन्दा ऊप्रति झन् बढी माया उर्लेर आयो ममा । अनि ऊ कतिबेला आउला र धेरै माया दिउँला भनेजस्तो लागिरह्यो । अनि घर पुगिसकेकी ती अन्टीलाई पछि पनि सम्झी सम्झी मनमनै गाली गर्न थालेँ।

आज छुट्टै उमंग थियो । किनकि विवाह गरेको ठ्याक्कै एक वर्ष पुगेको दिन हो आज । त्यसैले आज रमेशलाई ‘सरप्राइज पार्टी’ दिने विचार गरेँ । अनि उसलाई मन पर्ने उपहार र उसको बेस्ट च्वाइसको लुगा पनि ल्याएँ । प्रायः ऊ ७ बजे घर आउने गथ्र्यो । तर, यो दिन उसलाई सरप्राइज दिन यति अधैर्य भएकी थिएँ कि उसको आगमनको प्रतीक्षा दिउँसोको ३ बजेदेखि नै गर्न थालेकी थिएँ । ढोकामा घण्टी बज्यो कि पक्कै रमेश नै आयो भन्ठानेर हतार हतार ढोका खोलिहाल्थेँ । तर, धेरैपटकको घण्टीले मलाई खल्लो तुल्याउने काम मात्र गरे त्यो दिन ।

जब बाह्रौँ पटकको घण्टीपछि ढोका खोलेँ, यो पटक भने रमेश नै आएको रहेछ । जब म उसलाई ढोकैदेखि सरप्राइज दिने विचारमा थिएँ, सरप्राइज त म आफैँ पो भएँ । रमेशलाई स्वागत गर्न हतार–हतार पुगेकी म जोडीलाई स्वागत गर्न बाध्य भएँ । बोल्नै सकिनँ । स्तब्ध भएँ । आँखाबाट आँसु झरिरहे अविरल । दिमागले केही सोच्नै सकेन । उसलाई केहीबेर नियालेँ । तर, पनि उसको अगाडि कमजोर हुन चाहिनँ । आफूले यति धेरै माया गर्ने मान्छेलाई प्रश्न सोधेर दुःखी बनाउन पनि उचित ठानिनँ । बरु तत्कालै घरबाट निस्केँ । अनि भनेँ– रमेश मलाई कागजात पठाइदेउ साइन गरेर फर्काइदिउँला।

समय के रोकिन्थ्यो र ? आफ्नै रफ्तारमा बित्दै गयो । म पनि एउटा एनजिओमा काम गर्न थालेँ । एक दिन अफिस नजिकै एउटा वर्कसपमा अकैसँग बसेर कफी पिइरहेको देखेँ रमेशलाई । उनीहरूको हाउभाउ र कुराकानी देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि उनीहरू एकदमै नजिक छन् । उसले देख्ला कि भनेर मैले आफूलाई लुकाउन खोजेँ । तर, ‘रमा’ भनेर बोलायो । म के गरौँ के भन्ने द्विविधामा परेँ । ‘मेरी वाइफ रश्मी’ भनेर चिनायो सँगै बसेकी महिलालाई।

म केही बोलिनँ । उसको बानी मलाई छर्लंग भइसकेको थियो । त्यसपछि ५ मिनेट जति त्यहीँ बसेर कार्यालयतर्फ लागेँ । टेबलमा बसेपछि मनमा कुरा खेल्न थाले । राम्री र साधारणखालकी रश्मी आँखा वरिपरि घुमिरहिन्। लाग्यो– यिनी अहिले नै रमेशकी तेस्री श्रीमती हुन्, त्यसैले यिनको पनि कति दिन होला र रमेशसँग बस्ने दिन भन्ने । ‘म त उसको मायामा पागल भएँ भएँ, रातलाई पनि दिन देखेँ, अँध्यारोलाई उज्यालो पाएँ, दुःखलाई सुख ठानेँ, मेरो पहिलो माया आज पनि उसैको नाममा समर्पित गर्छु । आज पनि मेरो पहिलो प्रेममा रंगिन चाहन्छु । तर, विचरा सृष्टि, रश्मी र अन्य...।

बिल लिएर आफ्नै टेबलअगाडि उभिएको वेटरले ‘म्याडम?’ भन्दा पो झस्किएँ । जतिखेर रमेशको आँखाबाट आँसु झरिरहेको थियो । सायद ऊ पनि बल्ल आएर पहिलो मायाको यादमा पछुताइरहेको थियो ।

प्रकाशित: ५ श्रावण २०७५ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App