coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

महिला स्वास्थ्य स्वयं सेविका नै दुर्गमका डाक्टर

अछाम – मेल्लेख–६ षोड्शादेविकी मनसरा खड्काले गाउँका आमा तथा बालवालिकाको स्वास्थ्यका क्षेत्रमा निःशुल्क सेवा गर्न थालेको १२ बर्ष पुगेको छ। बच्चा आमाको पेटमा रहेदेखि नै कसरी स्वच्छ बच्चा जन्माउने, आमा र बच्चा दुबैको ज्यान सुरक्षित कसरी राख्ने भन्ने बारेमा उनको ध्यान सधैँ केन्द्रित हुन्छ।

यस बाहेक गाउँमा को महिला गर्भवती भए त्यस बारे तथ्यांक राख्नुका साथै महिलालाई चार पटक तोकिएको समयमा गर्भ जाँच गर्न स्वास्थ्य संस्था पठाउने काम पनि उनले गर्दै आएकी छन्। मनसरा गाउँको महिला स्वास्थ्य स्वयं सेविका हुन्। २०६३ सालदेखि अहिलेसम्म निस्वार्थ भावनाले उनी गाउँमा महिला बालबालिका तथा समग्र मानिसको स्वास्थ्य स्वस्थ राख्ने काममै तल्लिन छन्।

मेल्लेख–७ नन्देगडाकी जसुदेवी साउद पनि स्वास्थ्य स्वयं सेविका हुन्। गाउँमा महिला गर्भवती हुनेवित्तिकै कसरी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउने भन्ने चिन्ताले उनलाई सताउने गर्छ। जसुदेविले भनिन्, ‘गाउँमा कोही महिला सुत्केरी हुने समय नजिक आएमा कसरी स्वास्थ्य संस्थामै लगेर सुत्केरी गराउने भन्ने चिन्ता हुन्छ।’

उनले गर्भवतीको र बालवालिकाको सेवा गर्न पाउँदा निकै खुशी लाग्ने गरेको बताइन्। उनले गाउँमा आफूले काम गर्न थालेपछि पहिले जस्तो झाडापखाला, दादुरा, निमोनिया जस्ता रोगका कारणले बालबालिकाको ज्यान जाने घट्ना पुरै रोकिएका बताइन्।

रामारोशन गाउँपालिका सुतार कि कौशिल्ला रावल पनि निस्वार्थ रुपमा गाउँमा स्वयं सेविकाको भूमिका निर्वाह गरिरहेकी छन्। उनले सेवा गरिरहेको २० वर्ष पुगिसकेको छ। मनसरा, जसुदेवि र कौशिल्ला जस्तै देशका प्रत्येक गाउँमा रहेका महिला स्वास्थ्य स्वयं सेविकाले बिषेश गरी गर्भवती महिला तथा बालबालिकाको क्षेत्रमा निकै स्मरणयोग्य काम गरिरहेका छन्।

राज्यले स्वास्थ्य क्षेत्रमा अवलम्बन गर्ने हरेक नीति तथा कार्यक्रम गाउँ स्तरमा कार्यान्वयन गर्न महिला स्वास्थ्य स्वयम् सेविकाको योगदान निकै अतुलनिय रहेको मेल्लेख गाउँपालिका स्वास्थय शाखा संयोजक हिक्मत बढाले बताए। संस्थागत सुत्केरीको प्रगतिका साथै भिटामीन ‘ए’ कार्यक्रम, हात्तिपाईले रोग बिरुद्धको अभियान जस्ता हरेकखाले स्वास्थ्य अभियान सफल पार्न महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ।

अछामको हकमा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा महिला स्वास्थ्य स्वयं सेविकाले पु¥याएको योगदान पनि अतुलनिय रहेको सरोकारवाला बताउँछन्। गाउँमा गर्भवती आमा तथा बालवालिकाको लागि बरदान नै सावित बनेका महिला स्वयं सेविका ति गाउँका लागि एमबिबिएस डाक्टरदेखि नर्स, अनमी, अहेब सबै बनेका छन्। उनीहरुको योगदानकै कारण नेपालले सुरक्षित मातृत्वका क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको छ।

महिला स्वास्थ्य स्वयं सेबिकाले समाजमा पु-याएको योगदानको कदर स्वरुप अछामका गाउँपालिकामा मोवाइल फोन तथा वार्षिकरुपमा भत्ताको समेत व्यवस्था गर्न थालेका छन्। अछामको मेल्लेख गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ मा नागरिकको स्वास्थ्य सेवा तथा जनचेतना अभिबृद्धीमा उत्कृष्ट काम गरेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरेको छ। यसले आफुहरुमा काम गर्ने जाँगर थप बढेको उनीहरुले बताएका छन्।

प्रकाशित: ४ श्रावण २०७५ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App