८ वैशाख २०८१ शनिबार
प्रवास

लालबाबुजी, को भूतपूर्व, को अभूतपूर्व नेपाली?

राज्य चलाउने जिम्मामा चुनिएका एकजना मन्त्री लालबाबु पण्डित द्वापरमा कृष्णको अवतार भएजस्तो आफूलाई चमत्कारी ठानेर काम र जीवनको खोजीमा बसाइँ सर्ने सच्चा नेपाली मनलाई मानहानि गरिरहेछन्, जथाभावी बोलेर आजभोलि। म नेपाल सरकारका यिनै अति राम्रा कहलिएका मन्त्रीले कथित ‘भूतपूर्व नेपाली’ भनेर मानमर्दन गरिएको कोटीमा पर्ने एक ‘बहालवाला नेपाली’ हुँ।

जन्मेको देशलाई र अरु कसैलाई पनि कुनै हानी–नोक्सानी नपुर्याइकन आफ्ना लालाबाला लिएर २०६८ सालमा लुसुक्क क्यानडातिर हिँडेको नेपाली मान्छे हुँ म । म नेपाल छाडेर क्यानडा बस्न आएको कुरामा मलाई कुनै गर्व छैन । पश्चाताप त झन् पटक्कै छैन । म यता समृद्ध देशमा बसेकै भएर सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोप जस्तो नेपालको सबैथोक खत्तम र नेपालमा बस्ने सबै अज्ञानी हुन्, निरीह हुन् भन्ने सोच कहिल्यै आएन मेरो मनमा ।
विकसित देशमा उच्च शिक्षा, सीप र कामको अनुभव हासिल गरेर राम्रो व्यावसायिक र प्रोफेसनल हैसियत आर्जन गरेर वा गर्ने सम्भावना भएर पनि नेपालमै लतारिन, भौंतारिन र भुक्तमान खेपेरै बाँच्ने तर नेपालमै बस्ने भनेर फिरेका मैले चिनेका र नचिनेका सबै नेपालीको उच्चकोटीको नेपालप्रेमी प्रातिबद्धताप्रति मेरो गहिरो सम्मान छ । जुनसुकै काम र व्यवसाय गरेर पनि नेपालमा सन्तुष्टिसाथ बसेका र सुखको खोजीमा मरेकाटे विदेश जान्न भन्ने इमान्दार प्रण भएका सबै नेपालीको भावनालाई मेरो अन्तरमनले कदर गर्छु, भलै मैले त्यो गरिनँ।

मैले सकेको काम गरेर बस्नै नसक्ने स्थिति थिएन मेरा लागि नेपालमा । तर पनि म हिँडे । म र मजस्ता लाखौँ नेपाली कति स्वेच्छाले र कति बाध्यताले नेपालबाहिर बस्छन् । जहाँ बसे पनि नेपाली नै भएर बस्न पाउने अधिकार र हाम्रो आत्मसम्मानको मूल्यलाई आज नेपाल सरकारका मन्त्रीबाटै तुच्छ भाषामा आक्रमण गरिएको छ । यो लेखले यहाँउप्रान्त त्यही आक्रमणको विपक्षमा लालबाबु र उनको विचारका फेसबुके समर्थकलाई बहसमा निम्त्याउँछ।

म यता समृद्ध देशमा बसेकै भएर सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोप जस्तो नेपालको सबैथोक खत्तम र नेपालमा बस्ने सबै अज्ञानी हुन्, निरीह हुन् भन्ने सोच कहिल्यै आएन मेरो मनमा।

बसाइँसराइको अन्तर्राष्ट्रिय स्थिति
आप्रवासीका अधिकारबारे पुस्तक, लेख र बहसद्वारा चर्चित भएका एक अभियन्ता मोहसिन हमिद पाकिस्तानमा जन्मिए, अमेरिकामा पढे र बेलायती नागरिक भएर अहिले चम्केका छन् । उनी किन यो संसार राजनीतिक र भौगोलिक सीमारहित हुनुपर्छ भन्नेबारे रोचक बहस गर्छन्।

बसाइँसराइको अधिकार पनि मान्छेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार जस्तै आधारभूत अधिकार हो भनेर व्याख्या गर्छन् उनी । जीवन भनेको समयको चक्रमा घुम्नुको आनन्द र अनुभव हो । भौगोलिक र राजनीतिक सीमाको मोहबसमा परेमा एक बारको जुनीमा तिमीले देख्ने, जान्ने, भोग्ने, नियाल्ने, बुझ्ने, सोच्ने अथाह आनन्द र अवसरको मौकाबाट वञ्चित भयौ भन्ने खालका सोच र पर्गेल्याइँ छन् उनका।

बसाइँसराइ मानवीय चरित्र हो । यो सर्वव्यापी र सर्वकालिक प्रक्रिया हो । आजका राजनीतिक सीमा र बन्देजका देशहरू नबन्दै मान्छेको जातले आफ्नो ठाउँ छाडेर हिँड्न थालेकोले मात्रै मान्छेको सभ्यता, संस्कार, शैली, सीप र ज्ञानको विकास, प्रसार र टिकाइ सम्भव भएको हो।

बाहिर गएकालाई मैले देश छाडेर जे पाइरहेको छु, त्यो त मेरै देशमा छ नि म फर्केर जान्छु भनेर फिर्ता आउन बाध्य पार्ने काम राज्यको हो । माखो नमारी गाली सरापमा विश्वास गर्ने होइन मन्त्रीहरूले।

संयुक्त राष्ट्रसंघको बसाइँसराइसम्बन्धी निकाय इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) को प्रतिवेदन–२०१८ का अनुसार आफू जन्मेको देशमा नबसेर अर्कै देशमा बसाइँ सर्ने मान्छेको लगत बर्सेनी बढ्दो छ । सन् १९७० मा विश्व कूल जनसंख्याको २.३ प्रतिशत अर्थात् ८ करोड ४४ लाख मानिस आफ्नो जन्म देशबाहिर बस्थे भने सन् २०१५ मा विश्व जनसंख्याको ३.३ प्रतिशत अर्थात् २४ करोड ३७ लाख मानिस आफू जन्मेको देशबाहिर बस्ने भएका छन्।

आइओएमका अनुसार नेपालको जनसंख्याको आधा बराबर हुन आउने हिन्दुस्तानी अर्थात् १ करोड ७० लाख त हिन्दुस्तानमा बस्दैनन् । मेक्सिकोका १ करोड २० लाख, रसियन फेडेरेसनका १ करोड, चीनका ९० लाख, बंगलादेशका ७० लाख, पाकिस्तानका ५० लाख मानिस देशबाहिर बस्छन् । यी केही उदाहरण मात्रै हुन् । दुनियाँका सबै मुलुकका धेरै मानिस आफ्नो जन्म देशबाहिर बस्छन् । संसारका सबै देशबाट मान्छे ओइरिन चाहने गन्तव्य देशको सधैं पहिलो नम्बरमा रहने त्यही सपनाको देश अमेरिकाका पनि झन्डै ३० लाख अमेरिकन आफ्नो देशबाहिर बस्छन् । बेलायतजस्तो वैभव र सम्भ्यताको जननी देशबाट मात्रै ५० लाखभन्दा बढी बेलायती संयुक्त अधिराज्यको भूमिबाहिर बस्न गएका छन् । मानव विकास सूचकांकमा सधैं अति उच्चवर्गमा पर्ने र प्रति व्यक्ति आय ४० हजार डलरमाथि रहेको बेलायतबाट पनि किन मान्छे अन्तै बसाइँ सर्छ ?

अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड बसाइँसराइबाट बनेका देश हुन् । बेलायतलाई पनि ‘ल्यान्ड अफ माइग्रेसन’ भनिन्छ । संयुक्त अधिराज्यका टापुहरू मानवरहित हुन्थे रे बसाइँसराइ नभएको भए । भनिन्छ, बसाइँसराइ हुँदैनथ्यो भने अंग्रेजी भाषा यसरी फैलन्नँथ्यो र बेलायती साम्राज्यले यसरी ज्ञान र दौलत बटुल्नै सक्ने थिएन, जसको जगमा आजको बेलायत छ।

आइओएमको प्रतिवेदन २०१८ भन्छ विश्व जनसंख्याको ९६.७ प्रतिशत मान्छे आफ्नै देशमा बसेको छ अहिलेको घडीमा । आफू जन्मेको देशबाट बसाइँ सरेर जानेहरुको संख्या बर्ष्ेनी बढिरहेको छ, र, कारणमा राम्रो काम र गुणस्तरीय जीवनको खोजीमा स्वेच्छाले हिँड्ने नै मुख्य छन् । बाँकीमा गृहयुद्धबाट ज्यान जोगाउन भागेका र विभिन्न द्वन्द्वले धपाइएकाहरू पर्छन्।

लालबाबुजी,  तपाईंलाई पो थोत्रे साइकल चढेको देखाएर र टेम्पोको ढोकामा झुण्डिएको देखाएर सुन र ब्यांक ब्यालेन्स जम्मा गर्न पुग्दोरहेछ नेपालमा । हामीलाई यहाँ श्रम नगरी उसै बर्सिदैन । मन्त्रीज्यू, दुःखभुक्त गरेर खान आएका नेपाली मनको मान राखेर बोल्दा सानो भइदैन होला ।

नेपालीको नेपाल छाड्ने मोह
हाम्रो समाजमा पनि परदेशिनुलाई नराम्रो मानिएको छैन । उहिले पनि र अहिले पनि । ‘बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै’ भन्ने हाम्रै आहान हो।

भोट, मुग्लान ( विशेषतः भारत ), बर्मा, मलाया हाम्रा परिचित परदेश हुन् उहिलेदेखि । छोरो बनाउनु छ भने एकोहोरो बाटो खर्च दिएर काशी हेल्नू भन्ने हाम्रो अर्को आहानै छ।

मान्छेको जीवनी परिचयमा विदेश भ्रमणका देश लेखेर शान देखाउने चलन राजादेखि रैतीसम्मको हो हाम्रो ।
अहिलेको काल परिवेशसम्म केही अपवादका बिचार र बुझाइबाहेक ठूला र बिकसित देशमा बस्न काम गर्न जानुलाई इज्जतकै रुपमा हेरिन्छ हाम्रो समाजमा । सामान्यतः विदेशी कमाइ, घर मोटर र ग्रीनकार्ड वा पिआर कार्ड छ भने त्यो छोरी दिन योग्य वर भयो । त्यो बाबुआमालाई समाजमा रबाफिलो र भाग्यमानी पार्ने छोरो भयो छोरी भई । भाइबहिनीका लागि मेरो दाजु वा दिदी फलानो ठाउँमा छ भनेर ‘स्टाटस टक’ दिने कुरा भयो । आजका मितिसम्म विकसित देशमा बस्ने नेपालीलाई र उनका परिवारलाई समाजले दिने यस किसिमको ‘चार्म’कै कारण कति युवायुवती विदेश उडिहाल्न लालायित छन्।

सामाजिक र पारिवारिक मूल्यमान्यता, देशको शिक्षादीक्षा, बेरोजगारी, अर्थतन्त्र, कानुन पालना र कार्यान्वयनको स्थिति, ढिलासुस्ती, भ्रष्टाचार, डनगिरीको मार आदि सबैथोकले हरेक ऊर्जावान नेपाली युवायुवतीलाई हाम्रा अभूतपूर्व लालबाबुको ‘भूतपूर्व नेपाली’ बन्न पलपल प्रेरित गरिरहेको छ नेपालमा । काठमाडौंमा राम्रै काम र नाम गरेर बसिरहेको हरेकजसो युवा जान पाए अहिले क्यानडा, अमेरिका, अस्ट्रेलिया वा अरु कुनै धनी देश उडिहाल्न पाए हुन्थ्यो भन्ने मानसिकतामा हुन्छ । अति सीमित व्यक्ति होलान्, जो विदेश जाने धुन र चक्करमा फन्को नमारेका हुन् सहरमा।

कसैले यो मान्दैन होला तर बहुजन सत्य यही हो । केही थोरै मान्छे यस्ता पनि छन् समाजमा जो ग्रीनकार्ड वा पिआरवालालाई छोरी नदिने, त्यसलाई योग्यताको कसी नमान्ने र के–के न होझैं नगर्ने । यो विचार राम्रो होला विविध दृष्टिकोणका विविध बुझाइअनुसार तर ती थोरैले बृहत् समाजको भाकाभाँती बोल्दैनन्, व्यवहार गर्दैनन् ।
मेरै नजिकका साथीभाइ सोधिरहन्छन् यता आउने कुनै उपाय भए सल्लाह पाऊँ भनेर । म ‘जननि जन्मभूमिश्च स्वर्गादपि गरियशी’ भन्ने रामायण दर्शन सम्झाएर उनीहरूलाई हतोत्साही गराउन सक्दिनँ । बरु कुनै उपायले सहयोग गर्न पाए हुन्थ्यो, आउन मन गर्नेजति सबैको भिजा लागिदिए नि हुन्थ्यो भन्ने कामना गर्छु। स्वर्ग देखेपछि बस्ने वा नबस्ने रोजाइ उनकै हुन्थ्यो। नेपालबाट बाहिर बस्नेको ‘स्वर्ग जीवन’ कल्पेजस्तो स्वर्गीय भने केही पनि हुदैन खास ‘फिल्ड’मा आइपुग्दा ।

तर, आधाजसो उमेर नेपालमा बिताएकाको बाँकी जीवनले भोग्ने जीवनशैलीका केही फरक बान्की, स्वाद र सन्तुष्टि त छन् विदेशमा । यसमा म यसो भनूँ, नमरी स्वर्ग देखिन्नँ, तर मुग्लाने स्वर्ग ट्याक्कै इन्द्रको स्वर्गजस्तो ऐयासी भने हँुदैन ।

नेताहरूको बकम्फुसे धमास
 नेपालमा २००७ सालयता जहिले पनि नेपाली जनता सुशासन, समृद्धि र परिवर्तनका स्वप्नदर्शी भएर बिते, नयाँ जन्मिए, बुढिए र, गए तर गर्नुपर्ने मान्छेले कहिले त्यो सपना पूरा गरेनन् । त्यसले गर्दा नेपाली जनताको अधुरो सपनाको नांगो थाप्लोमा गीर खेल्न पल्केका लालबाबु र उनीजस्ता गफाडी चिरकाल जन्मिरहेका छन्, बिकिरहेका छन् र, टिकिरहेका छन् । हामी जुगौंदेखि नेताको निष्फल भाषण खुब चर्को मूल्य हालेर किनिरहेका छौं । सँगैको अमेरिकाले न्युयोर्क सिटीजस्ता चमत्कारी मानव सम्पदाका कैयौं नमूना बनाइसक्दा हामी भने त्यो मूल्यमा यिनै नेताका मुखाले भाषण किनेर बसिरहेका छौं । तर, तिनका बोली र बाचाको परिणाम र परिणति खोइ त भनेर खबरदारी गर्नुको साटो तिनका पार्टीको झन्डा बोकेर दुई÷ तीन महिनाअघि देखि आफ्नो सारा काम थाती राखेर चुनावी उत्सव मनाउन फुर्सद निकाल्दै  उनैलाई पटकपटक भोट दिएर पठाउँछौं।

२०४६ सालको प्रजातन्त्रको लडाइँ मैले ‘टिनएजर’को आँखाले देखेको र दिमागले बुझेको हुँ । यो परिवर्तनले देशको कायाकल्प गर्छ, समृद्धि र सुख दैलादैलामा लिएर आउँछ भनेर देखाएको सपनाको बाटो आमनेपालीले कुर्नु कुरे । आज २९ बर्षपछि पनि यस्तै सपना मात्रै बिकिरहेको छ नेपालमा । वैकल्पिक राजनीतिक शक्ति र नेतालाई हेर्ने विकसित देसका मतदाताको जस्तो प्रयोगधर्मी चुनावी चरित्र छैन हाम्रो र, नै काम नगरीनगरी जथाभावी बोलेर मात्रै पनि पटके सेलिब्रिटी बन्न पाएका हुन् हाम्रा नेताले।

हिमालको पानी खाडी देशमा बेचेर पैसा ल्याउँछु, नेपाललाई मेडिकल ‘हब’ बनाउछु, हाम्रा डाँडाकाँडाको अक्सिजन मरुभूमिमा निर्यात गरेर पैसा कमाइन्छ, स्याटेलाइटबाट बिजुली बेचिन्छ, तस्करका ठूला माछालाई ठेगान लाइन्छ, देशलाई सिंगापुर बनाइन्छ, भ्रष्टाचारी अब पुल्ठो बालेर खोज्नुपर्छ, तानाशाहले मुन्टो उठायो ऊ, भूतपूर्व नेपालीलाई बाउको अंश बेचेर पैसा लान दिइन्नँ, घरघरमा ग्यास पाइपले इन्धन दिइन्छ, अब अमेरिकी र युरोपेलीलाई रोजगार खोज्न नेपाल आउने बनाइन्छ आदि गफका गफास्टक हाम्रै नेता हुन् । चुन्ने हामी नै हौँ । उचाल्ने हाम्रै मिडिया हुन् ।
एउटा व्यक्ति वा दुई–चार लाख सर्वसाधारणले देश छाड्दैमा देश सकिने होइन । देश बनाउने घोषणापत्रमा सपना फुलाउने नेताहरूले हो । विदेश गएर बस्नुलाई लालबाबु मानसिकताले जस्तै गर्नै नहुने काम नै मान्ने हो भने विदेश नगएका युवायुवती नागरिकलाई विदेशको नामै लिन नमान्ने बनाउने काम राज्यको हो । बाहिर गएकालाई मैले देश छाडेर जे पाइरहेको छु, त्यो त मेरै देशमा छ नि म फर्केर जान्छु भनेर फिर्ता आउन बाध्य पार्ने काम राज्यको हो । माखो नमारी गाली सरापमा विश्वास गर्ने होइन मन्त्रीहरूले।

विदेशमा बस्ने नेपाली ‘भूतपूर्व नेपाली’ हुन् ?
जुनसुकै कारणले नेपालबाट अन्तै बसाइँ सरे पनि हामी नेपाली नै हौँ । मान्छे जुन समाज, संस्कृति र ‘एथ्निसिटी’मा जन्मिन्छ त्यसैले सिकाउने मूल्यमान्यता, ज्ञान, विवेक, बुझाइ, जीवनशैली आदिले उसको जीवन चल्छ र, उसको खास पहिचान यिनै कुराको आधारमा निर्माण हुँदै स्थापित हुन्छ । यसर्थ, हामी विदेशमा बसेका नेपालीको ‘एथ्निसिटी’ नेपाली हो, जसरी इथियोपियामा जन्मेर हुर्केर अर्कै देशमा बस्ने इथियोपियालीहरू सधैं इथियोपियाली हुन् । जसरी चाइनिज, कोरियन, भारतीयहरू जहाँ बसे पनि ‘एथ्निसिटी’ कै हुन् भनेर आफैंले र नयाँ देशको राजनीति, कानुन, समाज सबैले सहर्ष स्वीकार गरेका छन् । त्यो पहिचानलाई त्यो विविधतालाई आदर गरेका छन्।

नेपाली भन्नेबित्तिकै जुन जात, वर्णरंग, भाषा, धर्म, संस्कार, संस्कृति, पारा, शैली भनेर बुझिन्छ हामी पनि सधैं त्यही हौँ । कुनै लालबाबुहरू जस्ता बजारको नाराको रंगअनुसार आफ्नो भाका फेर्नेले यो होस् वा त्यो होस् भनेर ट्याग लाउने हल्काफुल्का टिप्पणीको बिषय नै होइन, मान्छेको जात, ‘न्यासन्यालिटी’ भन्ने कुरा । यो स्थायी र सर्वकालिक कुरा हो । कुनै देशको नागरिकता, ग्रीनकार्ड वा पीआरकार्ड समयक्रममा अवसर बनेर आएका र परिस्थितिले आवश्यक राजनीतिक र प्राविधिक वस्तु हुन् । यी वस्तु ‘नेपाली’, ‘हिन्दुस्तानी’ ‘भियतनामी’ आदि शब्दले दिने जन्मसिद्ध गुण, चरित्र, व्यवहार, आत्मसम्मान र पहिचानजस्तो स्थायी र अन्तर्निहित सम्पदा होइनन्।

हाम्रा  लालबाबु आफ्नै देसमा जन्मिएका, हुर्किएका र संस्कार संस्कृतिले बाँधिएका तर, काम र मामको खोजीमा देश छाडेर कुनै बिगार नगरेका सच्चा र सदाका नेपालीलाई मानमर्दन गरेर सेलिब्रिटी बन्दै हिँडेका छन्

अरु देशको ग्रीनकार्ड, पीआर वा नागरिकता भएकालाई सरकारी नोकरीमा राख्दिनँ भन्नु र कानुन बनाएर लगाउनु राज्यको अधिकारभित्र पर्छ, गरे हुन्छ । नेपालको सम्पत्ति बेचेर पैसा बाहिर लान दिन्नँ भन्छ राज्य र कानुन बनाएर लगाउँछ भने त्यसमा कसैको केही लाग्दैन त्यो पनि गरोस् नेपाल सरकारले । तर, ‘भूतपूर्व नेपाली’ भनेर जंगली मुख गर्न कसले छुट दियो यी मन्त्रीलाई ? हामीले बोल्ने भाषा र गर्ने व्यवहारले हामीले पाउने इज्जत र सम्मानको खाका निर्माण गर्छ । जुवान छाडिएन भने मात्रै आफ्नो नि इमान रहन्छ । दुर्छे मुख गर्ने हो भने कसले सक्दैन बोल्न ?

अमेरिकाले एकपल्टको अमेरिकी सधैंको अमेरिकी भन्ने गर्छ । क्यानडाको त नारै छ, ‘अन टायम क्योनडियन इज क्यानेडियन’ भन्ने । त्यही भारतले एनआरआइहरूलाई निक्कै सम्मान गर्छ राज्यस्तरबाट । एनआरआइ र भारत सरकारबीच धेरै राम्रो सम्बन्ध छ । विकसित देशमा बस्ने हिन्दुस्तानीले धेरै ज्ञान र सीप सिकेका छन् । त्यसको उपयोगले भारतलाई धेरै फाइदा गर्छ भन्ने सोच भारतको सरकार र ब्युरोक्रेसीमा एउटा स्थापित मान्यता रहेको छ। ‘और कुछ नही तो सही, अड़सठ अरब डांलर तो साल भर मे आएगा न,’ एकजना दिल्ली टु लन्डन उड्दा जहाजमा भेटिएका एक अवकाशप्राप्त भारतीय ब्युरोक्रेट बताउनेले भारत आउने रेमिटेन्सको महत्वबारे भनेको सम्झना छ । हाम्रा हौसे लालबाबुजस्तो संविधान र कानुनले नेपाली भनेर दिएको ‘स्टाटस’ को ख्याल नगरी आफ्ना नेपालीको चित्त दुखाउने सरकारी दुष्ट बोली सायदै कुनै देसका मन्त्रीले गर्लान्।

बिदेशीको मिलिटरीमा जागिर खान जान दिन्छ । पराइको भूमि र जनको रक्षा गर्न नेपालीलाई छातीमा गोली थाप्न पठाउँछ । स्वतन्त्र नागरिकले जीवन गुजाराका लागि जागिर खाएको ब्याख्याले त यो सामान्य ठानिएला तर, एउटा देशको राष्ट्रिय स्वाभिमानको दृष्टिले यो शर्मनाक र पीडादायी कुरा हो । यस्ता संवेदनशील मुद्दामा कानमा तेल हालेर बस्नेले हामीलाई ‘भूतपूर्व नेपाली’ भन्नु अल्पज्ञानको भार लिएर मौसमी बहकावमा लठ्ठिनु मात्र हो । जंगबहादुर राणाको पालादेखि नै नेपाली कुनै न कुनै रुपले नेपालबाहिर बस्न थालेका हुन्।

आजसम्म कसैले पनि नेपालबाहिर बस्ने नेपालीलाई ‘भूतपुर्ब नेपाली’ भनेर फत्तुर लाएको छैन  । बरु निरंकुश  तानाशाह भनिएका राजा महेन्द्रले बर्मा गएर बर्षौं बसेका र नेपालबाट बिरानो भइसकेका नेपालीलाई सित्तैमा जग्गा दिएर नेपाल फिर्ता बोलाएका छन् । आजका देवादीदेव लालबाबु मात्रै यस्ता ‘अभूतपूर्व’ नेपाली जन्मिए जो नेपाली मनको अपमान गरेर मिडियामा हिरोगिरी चलाउँदै छन्।

हामी बिदेश बस्न आउँदा हामीले हाम्रो शरीर मात्रै लिएर आएका छैनौं । हामीलाई हामी जन्मेको नेपाली माटो, हावापानी, संस्कार, र सामाजिक पारिवारिक रीतिरिवाजले दिएको भावना, हृदय र पहिचान पनि सँगै लिएर आएका छौँ । तिमी कम्निष्टहरूले नै गीत गाईगाई हराउने, लोप भएर जाने र अन्यको सांस्कृतिक अतिक्रमणमा पर्ने भनेर चिन्ता गरिएका मादलु र डम्फू, चौबन्दी र फरियाका पोका पन्त्यौरा पनि ल्याएका छौं । मिनिस्कर्ट र बिकिनी चल्ने देशमा हामी यी पहिरन लाएर नेपाली हौँ हामी भनेर सय जात सय वर्णका मान्छेको ध्यान तान्छौं । तपाईं जुन दौरासुरुवाल र ढाकाटोपी लाएर आफूलाई ‘बहालवाला नेपाली’ ठान्नुहुन्छ, हामी पनि तिनै पहिरन देखाएर भीडमा ‘यी हेर हामी नेपाली हौँ है’ भनेर देखाउन मरिहत्ते गर्छौं।

 हामी नेपाली भाषा बोल्छौँ, हाम्रा भुरालाई नेपाली भाषा र संस्कृति सिकाउने पाठशाला खोलेका छौं । दशैं तिहार मनाएर रमाउछौ यहाँ पनि हामी । नेपालमा ‘कुटुमा कुटु सुपारी दाना’ मा कम्मर हल्लिँदा यहाँ पनि त्यसैमा जम्छ पार्टी, तीज र भोजको रौनक । नेपाली हुनुको नाताले हामीलाई गीत संगीतको आनन्द लिन नेपालबाटै कलाकार बोलाउनुपर्छ । जस्टिन बिबर र केटी पेरीको कन्सर्ट जम्दैन हाम्रो दशैं तिहार र नयाँ बर्ष साँझमा यता । हामी जहाँजहाँ छौं, सानै सही त्यहाँ एकएक टुक्रा नेपाल हुर्काएका छौं हामीले । रंग र वर्ण मिलेकै भरमा कसैले सोच्दै नसोची सोध्दै नसोधी ‘के छ तेरो इन्डियामा?’ भन्दा वा यहाँको स्कुलमा गान्धी पढाइ भएको देवकोटा नभएकोमा झ्वाँक चलेरै आउछ हामीलाई यता । नेपालमा विपद् पर्दा वा कोही सारै अप्ठ्यारोमा छ भने जात धर्म, क्षेत्र, वर्ण केही नहेरी शुद्ध नेपाली भएर सकेको उठाएर पठाउछौं सहयोग गर्न । नेपालका सिमेन्ट उद्योग, इँटा उद्योग, घरजग्गा उद्योग, सुपरमार्केट उद्योगलाई चल्न, सवारी आयात, चामल आयात, नुन लसुन आयातलाई चाहिने पैसोका लागि रेमिटेन्स भरेका छौँ हामीले । नेपालको कला र मनोरञ्जनको उद्योग विदेशमा बस्नेले धानेका छन् । कलाकारलाई कार किन्न, घर किन्न, विलासी बन्न कमाइदिएका छौं हामीले पनि।

लालबाबुजी, मुख नछाडिबक्स्योस् । यहाँ भन्दा कम नेपाली होइनौं हामी । जबसम्म कानुन र संविधानले हामीलाई नेपाली स्वीकार्छ, नेपाल आउन र छाड्न दिन्छ, विदेश बस्न छोडेर नेपाल फर्किएर आउनेलाई कुनै ट्याग नलगाई सादा नेपाली सच्चा नेपाली भनेर अँगालोमा लिन्छ, त्यो दिनसम्म हामी नेपाली हौँ । हामी बाहिर बसेर नेपालको सधैं भलो चिताउँदा, सिकेको ज्ञान, सूचना र आर्जन गरेको कमाइले नेपाल भलाइमा सकेको काम गर्दा देशद्रोह गरेको ठहरिएर हामीलाई ठेगान लगाउने कानुन नै बनेछ भने त्यो बेला नेपाली हौँ कि होइनौ भन्ने कुराको परीक्षा दिउँला ।
  तपाईंलाई पो थोत्रे साइकल चढेको देखाएर र टेम्पोको ढोकामा झुण्डिएको देखाएर सुन र ब्यांक ब्यालेन्स जम्मा गर्न पुग्दोरहेछ नेपालमा । हामीलाई यहाँ श्रम नगरी उसै बर्सिदैन । मन्त्रीज्यू, दुःखभुक्त गरेर खान आएका नेपाली मनको मान राखेर बोल्दा सानो भइदैन होला।

देश छोडेर के गुमायौं, के पायौं ?
मान्छेले आफ्नो देश छाडेर हिँडेपछि गुमाउने कुरा धेरै छन् । आफ्नो भाषा मेचीकालीको खुला आकाशबाट खुम्चिएर एउटा घरको धुरीमुनि सीमित हुन पुग्छ त्यो पनि आधा रैथाने भाषा मिसिएको ‘खिचडी भाषा’को रूपमा । यस अर्थमा भाषा गुमाइन्छ, संस्कार संस्कृति बिस्तारै ओझेल पर्दै जान्छ । भूस्वरूप, हाट÷बजार, चोक÷चौतारो, भेटघाट, पर्व, पर्म, हाँसीमजाकको बृहतर आनन्द गुम्छ । बुढापाकाबाट तल्लो पुस्तामा सर्ने नेपाली ज्ञान, अनुभव, कथा कुथुंग्रीको फाइदाबाट बञ्चित भइन्छ । म मेरो आफ्नै देशमा छु, मेरा वरिपरि मेरै भाषा बोल्ने, आँ गर्दा अलंकार बुझ्ने, मेरै भेष लगाउने, मेरो शारीरिक हाउभाउको मर्म र भावना बुझ्ने मान्छेहरू छन्, म सुरक्षित छु भन्ने मन प्रसन्नताले दिने कुल ग्राह्स्थ खुसीको ग्राफ सधैं पिँधमा हुन्छ।

 गाउँ समाज, बन्धुबान्धव, पहरा, छहरा, लहरा, रैथाने चराचुरुंगीको कुर्लाइसँग गाँसिएको असीम अपनत्व छोडिन्छ । यो सब आफ्नै छनोटले गर्दा भएको हो । कसैले घोक्रेठ्याक लगाएर हामीलाई खेदेको होइन । बाध्यताले परदेश गएको खसमले घरको, बारीको, माली गाईको याद आउछ भन्न पाउने कि नपाउने स्वास्नीसँग, बन्धुबान्धवसँग ? पक्कै पाउला ।
नेपालमा अहिले खुब चलेको शब्द ‘समृद्धि’ हो क्यारे । भन्नैपर्छ, कतिपय हामी खाट्टीको समृद्ध देशमा बसेका छौं । समृद्धि भनेको सरकारले हजार समृद्धि शब्दको जपना गर्ने होइन, काम गरेर देखाउने कुरा रहेछ । सरकारले भाँडामा साँझबिहान चामल हालिदिनु नपर्ने रहेछ जनतालाई । मिलाएर थिति बसाएर अनुसन्धान र अध्ययनका आधारमा योजना बनाएर काम गर्दा आउने परिणाम नै समृद्धि हुँदोरहेछ छ।

समृद्धि भनेको गाउँगाउँमा गुणस्तरीय चिल्ला सडक, घरघरमा शुद्ध पिउने पानीको छेलोखेलो, चुलाचुलामा ग्यासको पाइप, चौबिसै घन्टा बाल्ने बिजुली, निःशुल्क डाक्टर र नर्स, औषधिको मूल्यमा एकरुपता, भुरालाई खाजासहितको निःशुल्क शिक्षादीक्षा र कापीकलम, खेल्न र मनोरन्जन गर्ने पुग्दो पार्क, बगैंचा र खुल्ला चौर, सक्नेबाट टन्न कर लिने र नसक्नेलाई टेवा दिने राज्य, सर्वसुलभ र अति भरपर्दो सार्वजनिक यातायात, दमकल र एम्बुलेन्सको २४ घन्टे तैनाथी, कालाबजारीबिहीन बजार र किनमेल, मिसावटरहित खाद्यान्नको ग्यारेन्टी, मूल्य नियन्त्रणको अचुक संयन्त्र, घुसखोरीरहित सरकारी कामकाज, बोल्न, खान, लाउन, हिँड्न, डुल्न वनको चरीझैं स्वतन्त्र अधिकारलाई समृद्धि भन्दा रहेछन् यता।

यता यो सबैथोक छ ।त्यस उपर आँगनमा चिल्लो कार र हातमा एप्पलको फोन हामीलाई पुगेको छ । यो सब पुगेको म वा अर्को करोडपति भएर होइन । एक महिनाको तलब रोकिने हो भने अर्को महिना अनिकाल लाग्ने गरिबी छ यहाँ आमजनताको । तर, विधि, व्यवस्था र रितको चुस्तताले चलेमा राजतन्त्रात्मक समाजवादमा पनि चमत्कार हुने रहेछ । पियनले पनि हाकिमले पनि एउटै ब्रान्डको कार चढ्ने, उही आहार गर्ने र उस्तै सामाजिक मर्यादा र आत्मसम्मानमा बाँच्ने अहम् अवसर भएको देशमा समृद्धिको स्वाद चाखिरहेका छौं हामी । सधैंका गरिब, सधैंका पिछडिएका हामी नेपाली यो भौतिक सम्पन्नतामा केही दिनका पाहुना मात्रै हौँ।

 हाम्रो मन र त्यसभित्रको अज्ञात खुसी त्यही मेचीकालीभित्रै कतै छाडिएको छ भन्छ मनले सधैं । हेर्न, बुझ्न र समृद्धि कुन चराको सिकार रहेछ चाख्न मात्रै आएका हौँ यो नश्वर काया नढल्दै । आखिर मान्छेले पाउने जीवन एकपल्ट मात्रै हो, बाँच्ने भनेको बाँचुन्जेल मात्रै हो, मरेपछि बाँचिदैन।

संसारका धनी देशले अविकसित देसमा जन्मे हुर्केका तुलनात्मक रूपले गरिब, फरक जीवनशैली र संस्कार भएका सम्बन्धित देशको कानुन, विधि र सामाजिक मूल्य–मान्यताअनुरुप व्यवहार गर्न नसक्नेलाई समेत बोलाई–बोलाई नागरिकता दिएर, पैसा खर्च गरेर तिनलाई शिक्षा, सीप र सामाजिक गुणकौशल सिकाएर आफ्नो बनाउँदैछन् । हाम्रा  लालबाबु भने आफ्नै देसमा जन्मिएका, हुर्किएका र संस्कार संस्कृतिले बाँधिएका तर, काम र मामको खोजीमा देश छाडेर कुनै बिगार नगरेका सच्चा र सदाका नेपालीलाई मानमर्दन गरेर सेलिब्रिटी जीवन जिउन पाइरहेका छन् ।

प्रकाशित: ४ श्रावण २०७५ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App