१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गुइझोउ जिचेङमाथि टालिस्काको ह्याट्रिक

सांघाई – ब्राजिली खेलाडी एन्डरसन टालिस्काले लगातार आठौं पटक चिनियाँ सुपर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको ग्वान्झाउ इभरग्रान्डेमा सनसनीपूर्ण ह्याट्रिकका साथ डेब्यु गरेका छन्।

पोर्चुगाली टोली बेन्फिकाबाट लोनमा ग्वानझाउ पुगेका टालिस्काले बुधबार गुइझोउ जिचेङमाथि ४–० को जित हासिल गर्दा पहिलो गोलका लागि अवसर सिर्जना गरेका थिए । त्यसपछिका तीन गोल आफैं गरेर उनले नयाँ लिगमा सुरुआत उत्कृष्ट बनाए । दुई महिनाको ग्रीष्मकालीन तथा विश्वकप बिदापछि बुधबारबाट मात्र चिनियाँ सुपर लिग पुनः सुरु भएको थियो।

‘भगवान्ले मेरा लागि निक्कै रोमाञ्चक योजना बनाएका रहेछन् । आज हाम्रो पूरा टिमको प्रदर्शन उत्कृष्ट थियो,’ २४ वर्षे फरवार्डले इन्स्टाग्रामको पोस्टमा भनेका छन्, ‘एक गोलमा एसिस्टसँगै ह्याट्रिक, सोचेभन्दा पनि रोमाञ्चक रह्यो डेब्यु।’

लगातार ६ खेलमा विजयरहित रहँदै पाँचौं स्थानमा झरेको च्याम्पियनलाई टालिस्काको प्रदर्शनले जितको बाटोमा फर्काएको छ । लगातार ६ खेलमा जित हासिल गर्न नसकेपछि प्रशिक्षकका रूपमा टिमसँगको सम्बन्धमा नवीकरण गरेका इटालियन विश्वकप विजेता फाबियो कानाभारो चरम दबाबमा थिए।

तर बुधबारको जितपछि उनलाई राहत मिलेको छ । ब्राजिली विश्वकप टोलीका मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाबाट दोस्रो कार्यकालका लागि क्लबमा फर्काएको ग्वान्झाउ यो जितपछि चौथो स्थानमा उक्लिएको छ।

 

प्रकाशित: ४ श्रावण २०७५ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App