७ वैशाख २०८१ शुक्रबार
समाज

श्रीमति पीडित श्रीमानका उजुरी बढ्दै

फाइल फाेटाे

पाल्पा – वैदेशिक रोजगारले पत्नी पीडित श्रीमानका उजुरी बढेका छन्। गाउँपालिकाको न्यायिक समितिमा श्रीमान उजुरी लिएर जान थालेका छन्। जिल्लाका दश स्थानीय तहमा १४९ मुद्दा दर्ता भएकोमा १३ जना श्रीमान्ले श्रीमतिबाट पीडित बनेको भन्दै न्यायिक समितिमा उजुरी दिएका हुन्।

रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोट तुलेडाँडाका ३५ वर्षका हरिबहादुर (नाम परिवर्तन) काम गर्न मलेसिया गए। २ वर्ष काम गरेर फर्कंदा श्रीमति एक छोरी छाडेर अन्यत्रै गइसकेकी थिइन्। हरिबहादुरले कमाएको पैसा सबै श्रीमतिकै नाममा पठाउने गर्थे। अहिले उनीसँग न पैसा छ न त श्रीमति नै। हरिबहादुरले श्रीमतिको खोजीबिन गरिदिन भन्दै गाउँपालिकामा उजुरी दिएका छन्। उनी कहाँ पुगिन, कसैलाई अत्तोपत्तो छैन। हरिबहादुर श्रीमति खोजीरहेका छन्।  

यस्तै रम्भा गाउँपालिका–२, खर्केहानका ४५ वर्षीय रामबहादुर (नाम परिवर्तन) पनि मलेसिया काम गरेर फर्कीए। दुई छोरी सहित श्रीमति अन्यत्रै गइसकेपछि उनी अहिले बिचल्लीमा परेका छन्। रामबहादुर भन्छन्, ‘छोरी पनि उमेरका भैसकेका थिए। श्रीमति तराइतिर गइन्। छोरीहरुलाई काममा लगाएर पैसा कमाउँछिन् भन्ने सुनेको छु। घरमा आउँभन्दा आउन मान्दिनन्। घरमा भएको कुकुर समेत लिएर गइन्, म अलपत्र परेको छु।’ श्रीमति बोलाउन पहल हुन्छ की भनेर गाउँपालिका उपाध्यक्षसँग छलफल गरेको छु, रामबहादुरले भने।

पाल्पाका दश स्थानीय तहमा १४९ मुद्दा दर्ता भएकोमा १३ जना श्रीमान्ले श्रीमतिबाट पीडित बनेको भन्दै न्यायिक समितिमा उजुरी दिएका हुन्।

रम्भा गाउँपालिका–५, ताहुँ ओमभञ्याङ्गका डिलबहादुर दर्लामी घरमै पसल गरेर बसेका थिए। उनका १३ वर्षीय छोरा छन्। गाउँमै पसल गरेर बसेका दर्लामी फेसबुकका कारण श्रीमति गुमाउन पुगे। उनकी श्रीमति अर्कैसँग घरजम गर्न गएपछि छोरासँग दिन काटिरहेका छन् डिलबहादुर। श्रीमतिले सुन र पैसा लिएर हिँडेपछि उनले पनि गाउँपालिका उपाध्यक्षसँग आफ्नो सम्पत्ति फिर्ता मागिदिन निवेदन दिएका छन्। यी त प्रतिनिधिपात्रमात्र हुन्। पछिल्लो समय युवाहरु विवाह गरेर वैदेशिक रोजगारमा जाँदा घरबार बिग्रीएको धेरै उहाहरण छन्।

रम्भा गाउँपालिकाकी न्यायिक समिति संयोजक राधाकुमारी श्रेष्ठले पछिल्लो समय गाउँपालिकामा पत्नी पीडित श्रीमान्का ३ उजुरी दर्ता भएको बताइन्। उनी भन्छिन्, ‘कतिपय श्रीमान्हरु आँफै भेटेर समस्या समाधान गरिदिन भन्नुहुन्छ। घरबार बिगार्नभन्दा श्रीमतिलाई घरमै फर्काइदिन भन्नेहरु पनि छन्।’ ‘गाउँपालिकामा ५ वटा विभिन्न मुद्दा परेका थिए। ४ वटा देवानी प्रकृतिका मुद्दा मिलाइएको छ। फेरी दुई वटा उजुरी आईसकेका छन्,’ श्रेष्ठले भनिन्, ‘केही वडाबाट समाधान पनि भएका छन्। केही मौखिक रुपमै आएकाहरु पनि छलफलका माध्यमबाट मिलाएका छौं।’

परपुरुषसँग प्रेम सम्बन्ध राखेका विवाहित महिलाले घरबारै छाडेर अन्यत्र जाँदा वैदेशिक रोजगारबाट फर्कने श्रीमानहरु बिचल्लीमा पर्ने गरेका छन्। रामपुर नगरपालिका–१० का नारायण सेंढाई झण्डै २५ वर्ष भारतमा रोजगारका लागि बसे। दश वर्ष अघि श्रीमति अन्यत्रै गएपछि उनले दोस्रो विवाह गरे। उनको छोरो जन्मियो। केही महिना अगाडी उनकी दोस्रो श्रीमति पनि अर्कैसँग हिँडेपछि उनी घर फर्कीएका छन्। गाउँकै सहकारीबाट दुई लाख रुपैयाँ ऋण लिएर श्रीमति भागेपछि उनले हुँगी प्रहरी चौकीमा उजुरी दिए। उनी भन्छन्, ‘अब म छोरालाई लिएर भारततिरै गएर काम गर्छु। ऋण जग्गाजमिन धितो राखेर तिरेको छु।’ धेरै काम गर्न नसक्ने भए। विहान–वेलुका गुजारा चलाउन मुस्किल भयो। अहिले जुन वेलास्याहार सुसारको खाँचो छ। यही बेला छाडेर हिडिनँ’, सेंढाईले भने।

परपुरुषसँग प्रेम सम्बन्ध राखेका विवाहित महिलाले घरबारै छाडेर अन्यत्र जाँदा वैदेशिक रोजगारबाट फर्कने श्रीमानहरु बिचल्लीमा पर्ने गरेका छन्।

बगनासकाली गाउँपालिका न्यायिक समितिले दर्ता भएका १४ मुद्दामध्ये स्थानिय तहमै ११ वटा मुद्दााको मिलापत्र गरेको छ। एक बर्षको अवधीमा औपचारिक रुपमै दर्ता भएका १४ वटा मुद्दामध्ये बगनासकाली गाउँपालिकामा गठन भएको न्यायिक समितिले ३ वटा सम्बन्ध विच्छेदका घटना बाहेक सबै मुद्दा मिलापत्र गरेको हो।

दर्ता भएका मुद्दाहरूमा सबै भन्दा बढी सम्बन्ध बिच्छेद र महिला हिंसाका रहेको न्यायिक समितिका संयोजक सरस्वती चिदीले बताइन्। उनी भन्छिन्, ‘६ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा ३ वटा स्थानिय तहबाटै मिलापत्र गराइएको छ। मिल्न नसकेको ३ वटा मुद्दालाई जिल्ला अदालतमा पठाइएको, १ वटा कुटपिट, २ वटा आर्थिक लेनदेन, १ वटा नागरिकता र बिवाह दर्ता सम्बन्धी, १ वटा चोरी र ३ वटा श्रीमान श्रीमतीबीच महिला हिंसा सम्बन्धि बिवाद गरि ११ वटा मुद्दा मिलापत्र गरिएको छ।’

यता रिब्दीकोट गाउँपलिकाले १५ मुद्दामध्ये १४ वटा मुद्दा मिलापत्र गरेको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मि खनालले न्यायिक समितिमा दर्ता भएको १४ मुद्दा मिलापत्र गरिएको तर एउटा श्रीमान्ले श्रीमतिसँग सम्बन्ध विच्छेदका लागि दिएको मुद्दा मिलापत्र नभएको बताइन्। संयोजक खनालले उक्त मुद्दा जिल्ला अदालतमा पठाइएको बताइन्। पूर्वखोला गाउँपालिकामा ३ वटा मुद्दा दर्ता भएकोमा दुईवटा मिलापत्र गरिएको र एउटा प्रक्रियामा रहेको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन्। न्यायिक समिति संयाजक रहेकी भट्टराई भन्छिन्, ‘एउटा सम्बन्ध विच्छेदको उजुरी मिलाउने प्रयत्न गरेका छौं। छलफल भैरहेको छ।’ श्रीमान् भारतिय सेनामा कार्यरत रहँदा श्रीमति बुटवलमा बस्दै आएकी थिइन्। अहिलेसँगै बस्न सक्दिन भन्छिन्। श्रीमान् मिलेर बस्न चाहन्छन्। श्रीमति सम्बन्ध विच्छेद गर्न चाहन्छन्, भट्टराईले भनिन् ।

तिनाउँ गाउँपालिकामा १२ मुद्दा मिलापत्र भएका छन्। गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले श्रीमान्बाट पीडित, खानेपानी, जग्गा विवाद गाउँपालिकामै समाधान भएका छन्। न्यायिक समिति संयोजक थापाले न्याय सम्पादनको क्रममा हालसम्म कुनै अप्ठ्यारो नपरेको बताइन्। निस्दी गाउँपालिकामा भने कुनै मुद्दा नपरेको न्यायिक समिति संयोजक रीताकुमारी अर्यालले बताइन्।

माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले २ मुद्दा परेकोमा एउटा मिलेको र एउटा प्रक्रियामा रहेको बताइन्। रैनादेवी छहराले आर्थिक वर्ष २०७४/७५ मा ३ मुद्दाको मिलापत्र गरेको छ। न्यायिक समितिकी संयोजक गाउँपालिका उपाध्यक्ष चेतना थापाले श्रीमान् श्रीमतिबाट पीडित भनेर आएको मुद्दा मिलापत्र गर्न नसकेको बताइन्।

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले २१ मुद्दा दर्ता भएकोमा दुईवटामात्र बाँकी रहेको बताइन्। न्यायिक समिति संयोजक पाठकले १२ मुद्दा अदालतमा गएर र अरु नगरपालिकाकै समन्वयमा मिलेको बताइन्। उनी भन्छिन्, ‘जग्गाको विवाद नगरबाटै अमिन लगेर पनि मिलाएका छौं  ३ वटा मुद्दा श्रीमति खोज्न भनेर आए, हामी अदालतमा वकिल सहित पठाएर छोडपत्र पनि भएको छ।’ रामपुर नगरपालिकाकी उपमेयर बिष्णुदेवी आचार्यले नगरको न्याय समितिमा ७२ वटा विभिन्न विषयका मुद्दा निवेदन दर्ता भएको बताइन्। उनी भन्छिन्, ‘४० वटा मुद्दा फैसला भएका छन्। १२ वटा प्रक्रियामा रहेका र अरु प्रक्रियामा जानै बाँकी रहेका छन्।

जिल्ला अदालत पाल्पाका श्रेष्तेदार शाखा अधिकृत सुवर्ण खनालले सम्बन्ध विच्देछका जिम्मेवारी सरेर आएका १ सय २४ मुद्दामध्ये ३ वटा मुद्दा बाँकी रहको र अरु फैसला भएको बताए। गत आर्थिक वर्ष २०७४/०७५ मा नयाँ दर्ता भएका १ सय ८ सम्बन्ध विच्छेदका मुद्दाहरुमध्ये ८५ फैसला भई २३ बाँकी रहेको खनालले बताए। उनी भन्छन्, ‘जिल्ला अदालतमा ५६ प्रतिशत मुद्दा मेलमिलाप केन्द्रमा सफल भएका छन् । जिल्लामा जिम्मेवारी सरेको १ सय १८ र नयाँ दर्ता भएको ३ सय २१ मुद्दाको लगत रहेको छ।’

प्रकाशित: ४ श्रावण २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App