coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इनरिकेलाई औपचारिक जिम्मेवारी

मड्रिड – विश्वकपको निराशाजनक असफलतापछि टिम पुनर्संरचना गर्ने क्रमको थालनी प्रशिक्षकबाट गरेको स्पेनले नयाँ प्रशिक्षक लुइस इनरिकेलाई बिहीबार औपचारिक रूपमा प्रस्तुत गरेको छ।

विश्वकपको पूर्वसन्ध्यामा बिनाजानकारी रियाल मड्रिडसँग अनुबन्ध भएको भन्दै स्पेनिस फुटबल संघले तत्कालीन प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै फर्नान्डो हायरोलाई अन्तरिम जिम्मेवारी दिएको थियो । रूसमा सम्पन्न विश्वकपमा हायरोले २०१० को विश्व च्याम्पियन टोलीलाई नेतृत्व गरे पनि स्पेन अन्तिम १६ मा आयोजक रूससँग अनपेक्षित हार भोग्दै घर फर्किएको थियो।

समूहचरणको पहिलो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानलाई १–० ले हराएर नकआउट चरण पुग्ने आशा जीवित राखेको थियो । तर अन्तिम खेलमा मोरक्कोसँग २–२ को बराबरी खेल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो । नकआउट चरणको पहिलो खेलमै आयोजक रूसको जोसिलो प्रदर्शनसामु निराश हुँदै स्पेन घर फर्किएको थियो । निर्धारित तथा थप गरिएको अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रूसले ४–३ को नतिजा निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो।

उपाधिकै मुख्य दाबेदारमध्ये एकका रूपमा रूसको भ्रमण गरेको स्पेनका लागि हार सह्य थिएन । जसका कारण प्रतियोगितालगत्तै स्पेनिस फुटबल संघले हायरोलाई बर्खास्त गर्दै इनरिकेलाई नियुक्त गरेको थियो । संघले २००८ देखि २०१२ सम्म विश्व फुटबलमा स्पेनले कायम गरेको दबदबा पुनस्र्थापित गर्ने लक्ष्य दिँदै इनरिकेलाई नियुक्त गरेको बताइएको छ।

२००८ मा युरोपियन च्याम्पियनसिप जितेको स्पेनले २०१० मा पहिलो पटक विश्वकपको उपाधिमा कब्जा गरेको थियो । छोटो पास खेल्दै बल पोसेसन आफूसँग राखेर विपक्षीलाई थकित पार्दै गोल निकाल्ने आकर्षक शैली टिकी–टाकाको भरमा स्पेनले २०१२ मा युरोपियन च्याम्पियनसिपमा उपाधि रक्षा गरेको थियो । तर त्यसपछि भने स्पेनिस टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा संघर्षरत रहँदै आएको छ।

२०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा साबिक विजेता स्पेन समूहचरणबाटै बाहिरिएको थियो भने दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा पनि टोली अन्तिम १६ बाटै घर फर्किएको थियो।

प्रकाशित: ४ श्रावण २०७५ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App