८ वैशाख २०८१ शनिबार
खेल

काठमाडौंलाई महिला फुटबल उपाधि

उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेपछि काठमाडौं महिला फुटबल टोली। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – सुनकलाई राईले गरेको गोलबाट काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ।

हेटौंडामा बिहीबार भएको फाइनलमा काठमाडौंकी राईले खेलको ४८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई विजेता बनाएकी हुन् । विजेता काठमाडौंले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता सिन्धुपाल्चोकले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

खेलको वुमन अफ दी म्याच सिन्धुपाल्चोककी क्याप्टेन रजनी श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर सिन्धुपाल्चोककी पार्वती घले, उत्कृष्ट रक्षक काठमाडौंकी अमृता राई, उत्कृष्ट गोलकिपर काठमाडौंकी अञ्जना माझी र उत्कृष्ट फरवार्ड काठमाडौंकी मनीषा थापा मगर भए । उत्कृष्ट खेलाडी ले जनही नगद २ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । सिन्धुपाल्चोकका खेलाडीहरुले खेल अवधिभर धेरै अवसर पाए पनि बललाई गोलमा परिणत गर्न सकेनन्।

मकवानपुरलाई ३–० ले हराउँदै काठमाडौं र ताप्लेजुङलाई १–० ले पराजित गर्दै सिन्धुपाल्चोक फाइनलमा प्रवेश गरेका थिए । विजयी खेलाडीलाई प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधर, महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक एवम् राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कालगायतले पुरस्कार वितरण गरेका थिए।

एन्फाको आयोजना र मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा प्रतियोगिता असार २७ गतेदेखि हेटौंडाको हुप्रचौरमा सञ्चालन भएको थियो । छनोट प्रतियोगिता भए पनि मकवानपुर जिल्ला फुटबल संघले पुरस्कारको व्यवस्था गरेको थियो।

प्रकाशित: ४ श्रावण २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App