८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्पसँगको शिखर बैठकका आलोचकप्रति पुटिन आक्रोशित

फिनल्यान्डको राजधानी हेल्सिन्कीस्थित राष्ट्रपतीय दरबारमा सोमबार भएको शिखर बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हात मिलाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्बिर : एजेन्सी

मस्को– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार फिनल्यान्डको हेल्सिन्कीमा भएको शिखर बैठकको आलोचना गर्ने आलोचकहरुप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको पहिलो द्विपक्षीय बैठकको आलोचना गर्ने अमेरिकीहरु प्रति पुटिन आक्रोशित भएको बिबिसीले जनाएको छ।

अमेरिकाका केही निश्चित शक्ति आफ्नो संर्किण पार्टीगत स्वार्थका लागि अमेरिका–रुसको सम्बन्धलाई तिलाञ्जली दिन लागि परेको राजधानी मस्कोमा रुसी कूटनीतिज्ञहरुसँगको बैठकमा पुटिनले बताए । ‘उनीहरुले लाखौं अमेरिकी नागरिकका कथाहरुलाई खाइरहेका छन्,’ पुटिनलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ।सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोप लागिरहेको रुसप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले हेल्सिन्की बैठकमा नरम नीति लिएको भन्दै अमेरिकाभर आलोचना भइरहेको सन्दर्भमा रुसी राष्ट्रपतिको यस्तो भनाइ सार्वजनिक भएको छ।

हेल्सिन्की बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न रुसलाई केही आवश्यकता नभएको बताएका थिए । राष्ट्रपतिका रूपमा पहिलो पटक रुसी राष्ट्रपति पुटिनसँग भेट गरेको ट्रम्पको यस्तो भनाइपछि अमेरिकाभर कडा आलोचना भइरहेको छ । उनको यस्तो भनाइपछि अमेरिकाभर विवाद र दोधार उत्पन्न भएको बिबिसीले जनाएको छ।

ट्रम्प र पुटिनको बैठकबारे अमेरिकी राजनीति विभाजित भएको छ । ट्रम्पकै रिपब्लिकन दलका कतिपय नेताले समेत ट्रम्पले इतिहासमै पहिलो पटक लज्जाजनक प्रस्तुति दिएको आरोप लगाइरहेको छन् भने डेमोक्र्याटहरुले त रुससमक्ष अमेरिकी राष्ट्रपतिले अहिलेसम्म नगरेको बेइज्जत गरेको बताइरहेका छन्।

रुसी राष्ट्रपति पुटिनसँग सोमबार भेट गर्नुभन्दा अघि उत्तर एटलान्टिक सन्धि संगठनका नेताहरुसँगको भेट र बेलायत यात्राका क्रममा ट्रम्पले पुटिनसँग कडा रूपमा प्रस्तुत हुने संकेत गरेका थिए । यद्यपि हेल्सिन्की बैठकमा भने उनी रुसी राष्ट्रपति पुटिनसमक्ष नरम रूपमा प्रस्तुत भएका थिए । यसैबीच रुससँग सम्बन्ध विस्तार भएको हेर्नुभन्दा युद्धमा जान चाहनेहरुले मात्रै हेल्सिन्की बैठकको आलोचना गरिरहेको ट्रम्पले बिहीबार आरोप लगाएका छन् । विवादै विवादका बीच पनि कतिपय रिपब्लिनक मतदाता भने ट्रम्पकै पक्षमा देखिएको बिबिसीले उल्लेख गरेको छ।

विभिन्न सञ्चारमाध्यममा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध कडा आलोचना भए पनि फिनल्यान्डको हेल्सिन्कीमा रुसी राष्ट्रपति पुटिनसँग भएको बैठकबारे समाचार एजेन्सी रोयटर्सले गरेको एउटा सर्वेक्षणमा उनीप्रतिको जनमतमा कुनै फरक देखिएको छैन । रोयटर्सको सर्वेक्षणमा दर्ता भएका मतदातामध्ये ४२ प्रतिशतले उनको कामलाई समर्थन गरेका छन् । यो आंकडा स्थीर भएको रोयटर्सले जनाएको छ । रुसप्रति ट्रम्पले देखाएको प्रतिक्रियालाई करिब ७१ प्रतिशत रिपब्लिकन मतदाताले समर्थन गरेका छन् भने मात्र १४ प्रतिशत डेमोक्र्याटले यसको समर्थन गरेका छन्।

हेल्सिन्की बैठकपछि आयोजित संयुक्त  पत्रकार सम्मेलनमा आफूले प्रष्ट रूपमा भनाइ राख्न नसकेको मंगलबार स्वीकार गरेका थिए । अमेरिकी गुप्तचर निकायका प्रमुख डान कोट्सले अमेरिकी प्रजातन्त्रलाई कमजोर बनाउनका लागि रुसले काम गरिरहेको बताएपछि ट्रम्पले हेल्सिन्की बैठकमा आफ्नो कमजोरी भएको स्वीकार गरेका थिए । तर त्यसको केही समयपछि नै ट्विट गर्दैै ट्रम्पले हेल्सिन्की बैठक र त्यसपछिको संयुक्त पत्रकार सम्मेलनको बचाउ गरेका थिए।

यसैबीच रुसी राष्ट्रपति पुटिनसँग एक्लाएक्लै भएको दुई घण्टा लामो बैठकमा सहभागी अनुवादकले तयार पारेको नोट सार्वजनिक गराउन अमेरिकी सांसदहरुले अदालतसमक्ष माग गरेका छन् । विदेशमन्त्री माइक पोम्पेओले यसै विषयमा आउँदो साता संसदीय सुनुवाईको सामना गर्नु पर्ने भएको बताइएको छ ।
 

 

प्रकाशित: ४ श्रावण २०७५ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App