coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

आहारा खोजीमा सहर पस्छन् चितुवा

अघिल्लो हप्ता ललितपुरको सुनाकोठीमा एकै पटक चारवटा चितुवा देखिए । समूहमा आएका चितुवाले घरभित्रैबाट कुकुर र खरायो लिएर गयो । सुनाकोठी छेउछाउका बस्तीमा भने चितुवा आइरहन्छन् । तर, आजकाल सुनकोठीको आवास क्षेत्रमा समेत चितुवा आएर दुःख दिन थालेका छन्।

सुनकोठीका स्थानीय यमन श्रेष्ठका अनुसार आवास क्षेत्रमै चितुवा प्रवेश गरेर त्रास उत्पन्न गराएपछि भने अहिले बेलुकाको समयमा चितुवा आउने बाटोहरुमा आगो बालेर चितुवालाई डर देखाइन्छ । ‘आगो बालेपछि चितुवालाई डर हुनेरहेछ,’ स्थानीय श्रेष्ठले भने, ‘चितुवा आएर त्रास नफैलावस् तथा विगार नगरोस् भनेर यस्तो गर्मीको समयमा समेत आगो बाल्नु परेको छ ।’ तैपनि चितुवा आवास क्षेत्रमा आउनेक्रम नरोकिएको स्थानीय श्रेष्ठले बताए ।
चितुवा सहर पसेर दुःख दिने घट्ना नौलो होइन् ।

घना बस्ती भएको सहरी क्षेत्रमा बेलाबेलामा चितुवा प्रवेश गरेर दुःख दिइरहेको हुन्छ । अघिल्लो वर्ष गोठटारको एक घरभित्रै चितुवा प्रवेश गरेको थियो । त्यसअघि कीर्तिपुर र कुलेश्वरमा पनि घरभित्र चितुवा प्रवेश गरेको थियो । सदर चिडियाखानाका अनुसार पछिल्लो समयमा घरभित्रै चितुवा पसेर दुःख दिएको घटना नभएपनि बस्तीमा चितुवा आएर त्रसित बनाउने काम भने भइरहेको छ।

‘अहिले ललितपुरका केही वस्तीहरुमा चितुवा पसेर त्रसित बनाइरहेको छ,’ सदर चिडियाखानाका वरिष्ठ भेट प्राविधिक तथा उद्धारकर्मी राधाकृष्ण घर्तीले भने, ‘मंगलबार बेलुकै पनि ललितपुरको भ्याली होम आवास क्षेत्रमा चितुवा आएर हामी गएका थियौं ।’ उनका अनुसार ललितपुरका केही बस्तीहरुमा दैनिक चितुवा आएर स्थानीयलाई त्रसिद बनाइरहेको छ।

किन पस्छ बस्तीमा चितुवा
सदर चिडियाखानाका प्राविधिकका अनुसार बस्तीमा चितुवा खास गरेर आहारा खोज्नकै लागि पस्ने गर्छन् । ‘जंगलमा जब चितुवाले आहारा खोज्न सक्दैन्, त्यस्तो बेलामा चितुवा बस्ती बस्ने गरेको देखिन्छ,’ चिडियाखानाका प्राविधिक घर्तीले भने, ‘चितुवाले आहारामा कुकुरलाई खुबै मनपराउँछ, बस्तीमा कुकुर सहजै पाइने भएपछि चितुवा बस्तीमा आइरहन्छ।’

चितुवा आफ्ना बच्चा जोगाउनको लागि पनि बस्ती आउने गर्छ । भाले चितुवाले बच्चालाई खाइदिन्छ । भाले चितुवाबाट बच्चा जोगाउन पनि पोथी चितुवा बस्ती आउने गरेको घर्तीले जानकारी दिए । अघिल्लो हप्ता सुनकोठीमा पनि चितुवाले बच्चा लिएर आवास क्षेत्रमा आएको थियो । त्यो चितुवा पनि भाले चितुवाबाट आफ्नो बच्चा जोगाउन आएको हुन सक्ने अनुमान उनको छ।

चितुवा बस्तीमा आउनु अर्को कारण जंगलको अतिक्रमण समेत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेती बताउँछन् । ‘उत्पत्यका आसपासमा दिनप्रतिदिन जंगल अतिक्रमण भइरहेको छ,’ उनले भने, ‘जंगलमा बस्ती बसेपछि चितुवा सहर पसेको हुन सक्छ ।’ उनका अनुसार उपत्यका आसपासको जंगल मासिने क्रमसँगै त्यहाँ रहेका पशुपन्छिको बासस्थानमै समस्या भएको छ । यसरी बासस्थानसँगै आहाराको समेत अभाव हुन थालेपछि चितुवा बस्ती आउने गरेको अनुमान विभागको छ।

दुई वर्षअघि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनले पनि आहाराको खोजीमा चितुवा बस्ती बस्ने गरेको देखिएको थियो । ‘जंगल अतिक्रमण लगायतका कारणले चितुवाले खाने आहारा प्रजातीको संख्या जंगलमा घट्दै गएको देखिन्छ,’ कोषका वरिष्ठ संरक्षण अधिकृत डा. मनिषराज पोण्डेले भने, ‘जंगलमा आहाराको कमी भएपछि सोही आहारा जुटाउन चितुवा बस्ती पस्ने गरेको अध्ययनमा देखिन्छ ।’ उनका अनुसार जंगल खण्डीकरणको समस्याले गर्दा पनि चितुवा बस्तीमा पसेर दुःख दिने काम गरिरहेको हो । यसरी चितुवा बस्तीमा पस्नको लागि आहारा बढाउनुपर्ने तथा जंगल अतिक्रमण रोक्नुपर्ने अध्ययनको निष्र्कष छ।

विभागले चितुवा बस्तीमा नपसोस् भनेर रोकथामको कुनै योजना त अघि सारेको छैन । बस्तीमा चितुवा पसेको खण्डमा भने टोली नै खटाएर त्यसलाई जंगल धपाउने वा नियन्त्रण लिने काम गर्दछ । ‘बस्तीमा पस्नै नदिन त कसरी सकिन्छ र ?’ विभागका सूचना अधिकारी रुपाखेतीले भने, ‘बस्तीमा आएको खण्डमा भने त्यसलाई धपाउन वा नियन्त्रणमा लिनको लागि टोली नै खडा गरेका छौं।’

चितुवा बस्तीमा आए के गर्ने ?
भेट प्राविधिकका अनुसार चितुवाले सोझै मान्छेलाई आक्रमण गर्दैन् । आहारा खोजी वा अन्य कारणले बस्ती पसेको चितुवालाई जिस्काउने वा आक्रमण गर्न जानु नहुने प्राविधिक घर्ती बताउँछन् ।

‘चितुवाले मान्छेलाई सोझै आक्रमण गर्न आउँदैन् त्यसैले चितुवा देखेमा त्यसको पछि लाग्नु हुँदैन्,’ उनले भने, ‘घरभित्रै पसेमा वा दुःख दिन खोजेमा भने आफु सुरक्षित रहेर प्रहरीलाई खबर गर्नु राम्रो हुन्छ ।’ उनका अनुसार अहिले बस्तीमा चितुवा आएमा चितुवालाई आक्रमण गर्न खोज्ने लगायतका क्रियाकलप हुने गरेको छ । भिडभाड तथा होहल्लाले चितुवा आंतकित भएर आफु सुरक्षित रहनको लागि मान्छेलाई आक्रमण गर्ने घर्ती बताउँछन् । मान्छेहरु सचेत नभएर चितुवालाई आक्रमण गर्न खोज्ने वा भिडभाड हुने कारणले गर्दा चितुवाले मान्छेलाई दुःख दिने गरेको उनको अनुमान छ।

कहाँबाट आउँछ काठमाडौंमा चितुवा
 काठमाडौंका बस्तीमा देखिने उपत्यकासँग जोडिएका जंगलबाटै हो । ‘उपत्यका आसपासको हावापानी चितुवाको लागि राम्रै मानिन्छ,’ विभागका सूचना अधिकारी रुपाखेतीले भने, ‘काठमाडौंसँग जोडिएका चन्द्रगिरी, नागर्जुन, गोदावारी, शिवपुर लगायतका ठाउँमा चितुवाको बसोबास छ ।

त्यही क्षेत्रबाट बेलाबेलामा चितुवा बस्ती आउने गरेको छ ।’ चितुवा बस्ती आउँदा स्थानीयहरु आंतकित हुने गरेका छन् । कुनैबेला चितुवाले सहर पसेर क्षती पनि गर्ने गरेको छ । विभागले यसरी चितुवाको आंतकलाई रोक्नको लागि काम गर्ने लक्ष्य भने बनाएको छ । ‘उपत्यकामा हुने चितुवाको आंतकलाई रोक्नको अहिले कुनै काम गरिएको छैन्,’ उनले भने, ‘अबचाँही योजना ल्याएर त्यस बारेमा काम गर्ने लक्ष्य लिएका छौं ।’
 
 

प्रकाशित: ४ श्रावण २०७५ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App