coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

संगीतका गौरव सौराग

कमल सौराग, गायक

‘घुम्ती नपार्नी,’ ‘दैला मुनी जौं,’ ‘मनको धोको’लगायत बोलका गीतले उनलाई सांगीतिक क्षेत्रमा चिनाएका छन् । स्कुले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका कलम सौराग पछिल्लो सांगीतिक क्षेत्रको गर्भिला पात्र हुन्।

उनले नेपाली संगीतमा स्थापित हुन अहोरात्र खटिए । यसैको प्रतिफल आज उनी चर्चामा छन् । हाल चर्चामा रहेको ‘बोल माया’ गीतका उनी म्युजिक एरेन्जरसमेत हुन् ।उनले सयौं गीत गाएका छन् ।

थुप्रै चर्चित गीतमा संगीत÷म्युजिक भरेका छन् । उनी धेरैजसो म्युजिक एरेन्जरको काम गर्छन् । पर्दापछाडि बसी प्रविधिको प्रयोगमार्फत् गीतलाई चर्चित बनाउने कला उनमा छ । ‘बाहिरी कार्यक्रममा गाउनेहरूकै ‘डिमान्ड’ बढी हुन्छ,’ उनी भन्छन्, ‘हामीले पर्दापछाडि भूमिका निभाएका हुन्छौं, छिटफुटले मात्रै रचनाकार र संगीतकारको नाम भनिदिन्छन्, नत्र म्युजिक एरेन्जरहरू गुमनाम जस्तै बनेर काम गर्नुपर्छ ।’त्यसो त सौराग म्युजिक एरेन्जरको काम मात्रै गर्दैनन्, उनी गाउँछन् पनि । त्यसैले पनि अरु म्युजिक एरेन्जरभन्दा अलि बढी चिनिन्छन् उनी ।

कुशल ‘म्युजिक एरेन्जर’ को भूमिका निभाउने सौराग हिजोआज गीतमा फूलबुट्टा भर्ने र सजाउने काम व्यस्त छन् । उनको ‘एरेन्जर’ कलाप्रति प्रभावित भएर आउनेको भीड छ । अहिले दैनिक उनले दुईदेखि चारसम्म गीतमा संगीत भर्न भ्याउँछन् उनी।

आफ्नो सिर्जनशीलतालाई सुसज्जित बनाउने क्रममा उनी त्योभन्दा बढी दुःख झेलेका पनि छन् । २०५८ सालमा उनी म्युजिकलाई झोलामा राखेर काठमाडौं छिरेका थिए । भर्खर एसएलसी दिएका थिए, त्यतिखेर । जिल्लाको संगीतमा हुर्कदै गर्दा काठमाडौंको यात्रा तय गर्नु उनको लागि सानो चुनौती थिएन । चुनौती, साहस र रहर बोकेर काठमाडौं छिरेका उनी केही समय अलमलिए । संगीत क्षेत्रमा एकोहोरिएर लाग्ने मेसो पाएनन् । घुलमिल हुँदै जाँदा आफ्नो सर्कलका साथीभाइ समाए । त्यसले सहरमा बसेर संगीतमा काम गर्न अलि सजिलो बनायो उनलाई।

उनको विचारमा काठमाडौं भाग्य खोज्ने ठाउँ पनि हो । स्वप्नजीविहरूको संघर्षशील ठाउँ हो । अनेकौं समस्या झेल्दै अरुसँग प्रतिस्पर्धा गर्दै लक्ष्य पूरा गर्न लड्ने साझा थलो हो । मन हुने र कर्म गर्न सक्नेलाई काठमाडौंमा अनेक सुविधा र क्षेत्रहरू पनि छन् । सयौं कलाकारले आफ्नो कलाकारिता यहीबाटै उचोमा पुर्याउँछन् । आफूमा भएको कलाकारिता फक्राउँछन् र फुलाउँछन् । यस्तो ठाउँमा आफूलाई उभ्याउनु सामान्य थिएन उनको लागि । ‘कलाकारितामा जम्नेहरूको लागि यहाँ सबै सेवासुविधा छन् । ठाउँ पनि फराकिलो नै छ ।

केन्द्रमा कलाकारिता गरेपछि आफूलाई निखार पार्न सकिन्छ भन्ने थाहा पाएँ,’ उनले सुनाए, ‘त्यतिबेला काठमाडौं नर्छिदासम्म काठमाडौं कस्तो होला भन्ने मनमा कौतुहल हुन्थ्यो । यहाँ छिरेपछि थाहा पाएँ यो ठाउँ कठोर रहेछ, आफू हिँड्ने बाटो आफै खन्नु पर्दोरहेछ, यसबाट काठमाडौंमा हुर्कन सिकेँ ।’५ हजारभन्दा बढी गीतमा संगीत भरेको उनी सुनाउँछन् । आफैले गाएका र बजारमा ल्याएका ५० भन्दा बढी गीत छन्, उनका । यी गीतमा माया प्रेमको मात्रै छनक दिएका छैनन्, विकासको बाटो र कुनै ठाउँको चिनारी पनि दिएका छन्।

काम गर्ने ठाउँ र साथि सर्कल बनाएपछि सौराग १३ वर्ष काठमाडौंको डोरेमी संगीत पाठशालामा संगीतको कक्षा पनि लिए । त्यसले उनको संगीत कलालाई खारिन मद्दत गर्यो । पढाई र काम एकैतिर भएपछि उनी संगीतमा जम्न थाले । संगीत सिर्जना र स्वरले बजारमा उनलाई एकाएक चम्कायो । गीत संगीतको पाटोमा काम गर्नेहरूले उनको सिर्जनशील कामको सहयोग माग्दै आउन थाले । अहिले पनि उनको संगीतकला खोज्दै आउने नयाँ–पुराना गायक÷गायिकाहरूको भीड लाग्छ।

स्कुले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका कलम सौराग पछिल्लो सांगीतिक क्षेत्रको गर्भिला पात्र हुन् । उनले नेपाली संगीतमा स्थापित हुन अहोरात्र खटिए । यसैको प्रतिफल आज उनी चर्चामा छन् । हाल चर्चामा रहेको ‘बोल माया’ गीतका उनी म्युजिक एरेन्जरसमेत हुन् ।

सानैदेखि गीत संगीत क्षेत्रमा लागेका सौरागप्रति परिवारको अपेक्षा र सपना फरक थियो । पढाईमा मेधावी र लगनशील सौरागले बुबाआमाले डाक्टर बनाउने सोच राखेका थिए । तर, उनीमा गीत–संगीतप्रतिको भोक बढ्दै गएको थियो । कतै सांगीतिक कार्यक्रम हुँदै छ भने उनी भागेरै भए पनि त्यहाँ पुगेका हुन्थे ।

स्कुल पढ्दा पनि उनी सबैजसो प्रतियोगितामा पहिलो हुन्थे । स्वर र सिर्जनाशक्ति देखेपछि उनलाई गीत गाउन लगाउँथे । उनी धक नमानी सुनाउँथे । आफ्नो रुचि मेट्न उनले परिवारको आग्रहलाई मानेनन् । किनकि उनलाई संगीतको प्यास लागिसकेको थियो । उनी त्यो प्यास मेटाउने कुवा खोजिरहेका थिए । उनी भन्छन्, ‘घरमा मलाई डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो । तर, मेरो रुचि संगीतमै थियो, आफ्नो रुचिलाई मेट्न मैले ठूलो संघर्ष गरेँ, रूचि भएको क्षेत्रमा मेहनत गर्ने हो भने माथिल्लो तहसम्म आफूलाई टेकाउन सकिँदो रहेछ।’

उनी सांगीतिक क्षेत्रमा लागेको १७ वर्ष नाघेको छ । त्यतिबेला लोक गीत र आधुनिक गीतको जमान थियो । बजारमा त्यस्तैखाले गीत बढी बिक्थे । उनले पनि आफूले त्यही ठाउँमा उभ्याउन पाएँ । ‘संगीत क्षेत्र यसै पनि चुनौंतिपूर्ण छ त्यसमा पनि नयाँलाई झनै मुस्किल पर्छ,’ उनी सुनाउँछन्, ‘त्यतिबेला संघर्ष नगरेको भए, आज यो ठाउँमा आउने थिइनँ, अहिले दिनभरी स्टुडियोमा बसेर काम गर्छु।’

उनको भनाईमा म्युजिक एरेन्जरको काम प्रविधि प्रयोग गरी कोरा धुनमा शृंगार भर्नु हो । यसमा गहिरो ज्ञान र लगनशीलता चाहिन्छ । ‘गायक गायिकालाई गाइदिए, नाचिदिए मात्रै पुग्छ । तर, म्युजिक एरेन्जरमा संगीत बुझ्न सक्ने खुबी हुनुपर्छ, उनी भन्छन्, ‘प्रविधि र व्यवस्थापकीय पक्षलाई पनि ढुक्कले चलाउन सक्नु हुनुपर्छ ।’ संगीत क्षेत्रमै सक्रिय हुने उनको चाहना छ ।

 

प्रकाशित: ४ श्रावण २०७५ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App