८ वैशाख २०८१ शनिबार
राजनीति

कर्मचारी नेता सधैं आकर्षक अड्डामा

काठमाडौं - कर्मचारीको हक हितका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरू पहुँच र प्रभावको भरमा सधैं कमाउ अड्डमा पदस्थापन हुने गरेका छन्। दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पदाधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन्।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाग, यातायात व्यवस्था जस्ता कार्यालयमा टे«ड युनियनका नेताहरूले सरुवा मिलाउने गरेका छन्। ती कार्यालयलाई निजामती कर्मचारी आकर्षक ‘भन्सार’ भन्छन्। यस्ता कार्यालयमा सरुवा हुन दलका नेता र मन्त्रीसम्मको पहुँच र प्रभाव चाहिन्छ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल लामो समयदेखि गृहमन्त्रालयमा कार्यरत छन्। गृहमन्त्रालयकै विभिन्न शाखामा उनको पदस्थापन हुने गरेको छ। ढकाल नेपाल कम्युनिस्ट पार्टीसँग निकट निजामती कर्मचारी संगठनमा आबद्ध छन्। आधिकारिक ट्रेड युनियका महासचिव सुबोध देवकोटा गल्छी–स्याफ्रुबेसी–मैलुङ सडक परियोजनामा कार्यरत छन् । चीनसँग जोडिएको सो परियोजना भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत उच्च प्राथमिकतामा छ। देवकोटा सो परियोजनाको प्रमुख हुन्। सो परियोजनालाई अन्य कर्मचारीले आकर्षक मान्छन्। देवकोटा नेपाली कांग्रेससँग निकट निजामती कर्मचारी युनियन (संघ) सँग आबद्ध छन्।

यसैगरी आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा सरुवा मिलाएका छन्। आधिकारिक ट्रेड युनियका सदस्य छत्र शाह वैदेशिक रोजगार विभाग र अर्का सदस्य खेमलाल अधिकारी पोखरा मालपोत कार्यालयमा कार्यरत छन्। शाह ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत छन्। आधिकारिक ट्रेड युनियनकी कोषाध्यक्ष सिन्धु पाण्डे अर्थ मन्त्रालय मातहत काठमाडौंमै कार्यरत छिन् । यसअघि उनी वैदेशिक रोजगार विभागमा कार्यरत थिइन्।

निजामती सेवाभित्र दलैपिच्छे खोलिएका कर्मचारी संघसंगठनका नेताहरूले पनि सकेसम्म आकर्षक कार्यालयमा आफ्नो सरूवा मिलाउने गरेका छन्। कांग्रेस निकट निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपाल पोखरेल लामो समयदेखि अर्थ मन्त्रालयमा कार्यरत छन्।

यसैगरी एमाले निकट निकट निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा पनि अर्थ मन्त्रालयमै कार्यरत छन्। निजामती कर्मचारी युनियन (संघ) का सचिव नवराज जैशीले हाल आफ्नो सरुवा लोकसेवा आयोगमा मिलाएका छन्। यसअघि उनी सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती) का उपमहासचिव सुरेश चपाईंले आफ्नो सरुवा यातायात व्यवस्था कार्यालयमा मिलाएका छन्। निजामती कर्मचारी युनियन (संघ) का उपमहासचिव यज्ञराज अर्याल ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत छन्। आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य सुभास कोइराला सुर्खेतस्थित सडक विभागमा कार्यरत छन्।

यसैगरी संघीय फोरम र राजपासँग निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी तीन वर्षदेखि जिल्ला वन कार्यालय ललितपुरमा कार्यरत छन्। चौधरीले आफू पहुँच र प्रभावका आधारमा नभई सरकारले खटाएको ठाउँमा आएको बताए। उनले भने, ‘अन्य संगठनका पदाधिकारीको विषयमा मलाई थाहा छैन तर म सरकारले खटाएको ठाउँमा काम गर्दै आएको छु।’

आकर्षक कार्यालयमा सरुवा र बढुवा गर्न पनि कर्मचारी नेताको प्रभावमा हुने गरेको छ। एक कर्मचारी भन्छन्, ‘कर्मचारीको हकहितका नाममा खोलिएका कर्मचारी नेताहरू आफ्नो संरक्षण मात्र गर्दैनन् अन्य कर्मचारीको सरुवा बढुवामा पनि लाग्छन् । त्यसबाट फाइदा पनि लिन्छन्।’ मञ्चका अध्यक्ष चौधरीले भने अन्य कर्मचारीको सरुवा बढुवामा आफ्नो कुनै भूमिका नहुने बताउँछन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा एउटा मात्र ट्रेड युनियन रहने प्रावधान छ। निजामती सेवा ऐन २०४९ अनुसार दलैपिच्छै ट्रेड युनियन गठन गर्न पाइन्छ। कर्मचारी नेताहरूले भने ट्रेड युनियन विषयमा हालको व्यवस्था कायम राख्न सरकारसँग माग राख्दै आएका छन्। सरकारले चार वर्षअघि नेपाली कांग्रेस, एमाले र मधेसवादी दल निकट टे«ड युनियनको भवन निर्माण गर्न जग्गासमेत उपलब्ध गराएको थियो।

प्रकाशित: ४ श्रावण २०७५ ००:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App