७ वैशाख २०८१ शुक्रबार
राजनीति

सनातन धर्म जोगाउन खरो रुपमा उत्रिन्छु : पहिलो महिला शंकराचार्य

काठमाडौं– विश्वकै पहिलो महिला शंकराचार्य हेमानन्द गिरीले सनातन धर्म जोगाउन खरो रुपमा उत्रिने बताएकी छिन्। 

हिन्दू धर्मावलम्बीहरुको सर्वोच्च पदमा पुग्न सफल शंकराचार्य गिरीको सम्मानमा विहीबार नेपाल व्यापार संघले कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले सनातन धर्मलाई विखण्डन गर्ने, कमजोर पार्ने काम वैज्ञानिक धर्मबाट भइरहेको र नेपाललाई कमजोर देशका रुपमा घुँडा टेकाउने षडयन्त्र भइरहेको भन्दै त्यसविरद्ध खरो रुपमा उत्रिने बताइन्। ‘सनातन धर्म संस्कृति जोगाउन श्रम, शक्ति, विवेक र जीवन लगाउनेछु’, उनले भनिन्– ‘मलाई तपाईहरुको साथ चाँहिएको छ।’

विश्वका हिन्दू धर्मावलम्बीको माया, प्रेम, सद्भावका कारण आफू शंकराचार्य बनेको बताउँदै विश्वमै हिन्दू धर्मको रक्षाका लागि लाग्ने उनको प्रतिबद्धता छ। ‘धर्म रुपान्तरको हावा चलेको छ। यो आधिलाई राक्छौं’, उनले अठोट व्यक्त गरिन्।

मेची–महाकाली रथयात्रा गर्ने

शंकराचार्य गिरीले सतानत धर्मको जागरणका लागि मेचीदेखि महाकालीसम्म रथयात्रा गर्ने योजना सुनाइन्। ‘अब धर्मले देशलाई जोड्नेछ। मेची–काली रथयात्रामा शास्त्रको ज्ञान बाड्ने, विभिन्न स्वास्थ्य शिविरहरु गर्छाैं। प्रत्येक जिल्लाको वडा÷वडा जान्छौं। सबै जाति, धर्मको प्रतिनिधित्व गर्छाैं’, उनले भनिन्। 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद गगन थापाले शंकराचार्यको गिरीको उपस्थितीले नेपालको हिन्दू जागरण अभियान र संरक्षणका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

नेकपाका सांसद मुकुन्द न्यौपानेले विश्वका हिन्दूहरुको प्रतिनिधित्व गर्दै नेपाली महिलाले शंकराचार्यको पद पाएकामा नेपाल र नेपालीको शीर उचाइमा पुगेको बताए।

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले शंकराचार्यको हजारौँ वर्षको इतिहासमा नेपाली महिलाले विश्वका महिलालाई उछिन्दै उक्त पदवी पाएकामा यसले हिन्दू धर्मको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

विश्व हिन्दू परिषद्का अध्यक्ष अजय सिंहले शंकराचार्य गिरीले विश्वको हिन्दू धर्मको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल हिन्दू महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारी, व्यापार संघका अध्यक्ष कुमार कार्की, व्यापार संघका उपाध्यक्ष हरि गौतमलगायतले हिन्दू धर्म र संस्कृतिको विकासका लागि सबै लाग्नुपर्ने बताए। शंकराचार्य हुनुअघि गिरीले महामण्डलेश्वर र आचार्य महामण्डलेश्वरको भूमिका निर्वाह गरेकी थिइन्।

प्रकाशित: ३ श्रावण २०७५ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App