७ वैशाख २०८१ शुक्रबार
समाज

छोरी जन्माएको भन्दै घर निकाला

इनरुवा – सुनसरीको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित छिन्। 

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताइन्। उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताइन्। 

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी हुन्। विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताइन्। दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउदै साहले घर फिर्ता आए १० लाख लिएर आउनुपर्ने माग श्रीमानले गरेको बताइन्। 

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताउइन्। दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरिन। 

आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरिन। साहले श्रीमानसहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए  १० लाख ल्याउन पटक पटक दबाब दिएको पत्रकार सम्मेलनमा बताइन्। पीडित साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने मागसमेत गरेकी छिन्।   (रासस)

प्रकाशित: ३ श्रावण २०७५ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App