७ वैशाख २०८१ शुक्रबार
खेल

बिरानो बन्दै आँगनको टुँडिखेल

केही दिनअघिको मुसलधारे वर्षापछि इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलको तल्लो भागमा गएको पहिरो।    तस्बिर : भीम/नागरिक

इलाम – गत वैशाखमा आयोजित चाैंथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको तयारी हुँदैगर्दा टुँडिखेलको विषयलाई लिएर आयोजक र नेपाली सेनाबीच ठूलो ‘चर्काचर्की’ पर्याे। सदरमुकामको ठूलो टुँडिखेल सर्वसाधारणको पहुँचमा हुनुपर्ने आयोजक माइभ्याली फुटबल क्लबको जिकिर र आफूमातहतको टुँडिखेलमा कुनै गतिविधि गर्न ‘माथिल्लो’ तहको अनुमति चाहिने सेनाको अडान ‘भनाभन’मै परिणत भयो।

अन्ततः निकै तनावकाबीच आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले गोल्डकप प्रतियोगिता सञ्चालन गरे। तर, आयोजक क्लब अध्यक्ष धिरेन चेम्जोङ र नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति असीमदीप गुरुङबीच भएको चर्काचर्कीको तथ्य बाहिर सार्वजनिक नहुँदै सामसुम पनि भयो। कारण थियो– जिल्लाकै प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगिता सञ्चालन गर्न आयोजकलाई अर्काे वैकल्पिक खेलमैदान थिएन। 

माइभ्याली फुटबल क्लबले २०७१ सालयता हरेक वर्ष आयोजना गर्ने पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कार (नगद ५ लाख) को माइभ्याली गोल्डकपमा हजारौं दर्शकको आकर्षण हुन्छ। तर, आयोजकलाई हरेक वर्ष यो मैदानमा फुटबल प्रतियोगिता गराउन चाहिँ ‘फलामको चिउरा चपाएसरह’ भइरहेको छ। कारण हो– चाहेअनुसार टुँडिखेल मर्मत–सम्भार गर्न र व्यवस्थित प्यारापिट बनाउन नपाउनु। ‘आउँदो वर्षदेखि त प्रतियोगितै आयोजना गरिँदैन होला,’ आयोजक क्लब अध्यक्ष चेम्जोङले भने, ‘हरतरहले प्रयास गरेपनि टुँडिखेललाई खेलाडीमैत्री र सर्वसाधारणको पहुँच पुग्नेखालको बनाउनै सकिएन।’ 

३ दिनअघि भएको मुसलधारे वर्षाले टुँडिखेलको तल्लो भागमा पहिरो गएको छ। तल्लो भागको करिब वारपार चर्किएर पहिरोले बगाउन लागेपनि संरक्षणका लागि कसैको ध्यान पुगेको छैन। एक त, यसको चौडा सानो (६० मिटरमात्रै) छ, त्यसैबाट पहिरोसमेत गएपछि अबको टुँडिखेलमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउनै नसकिने अवस्था हुँदैछ। ‘अहिले गएको पहिरो र चर्किएकोजति सबै भाग पुनर्निर्माण भएन भने आउँदो सालदेखि माइभ्याली गोल्डकप त हुने छैन नै, ऐतिहासिक महŒवको अत्यावश्यक खेलमैदान इतिहासमा मात्रै सीमित रहन सक्छ,’ अध्यक्ष चेम्जोङले थपे, ‘प्यारापिट बनाउने ठाउँ पहिरोले लगिसकेको छ, न कसैले मर्मतमा चासो देखाएको छ, न मर्मतको अनुमति नै पाइएको छ।’  

गतवर्ष टुँडिखेल मर्मतका लागि तारजाली र ढुंगा ल्याइसकेको क्लबलाई सेनाले मर्मतमा रोक लगाएको थियो। टुँडिखेलको तल्लो भेगमा निर्माणाधीन पशुसेवा कार्यालयको भवन निर्माणकर्ताले पर्खाल लगाइदिन खोजेपनि सेनाले ‘आफूले अवलोकन गरेपछि मात्रै पर्खाल लगाउन’ भन्यो। ‘पर्खाल लगाउन खोजेकै ठाउँछेउबाट अहिले पहिरो झरेको छ,’ भवन निर्माणकर्ता मनोज बुढाथोकीले भने, ‘पर्खाल लाएन भने पहिरोले टुँडिखेलको धेरै भाग बगाउने सम्भावना छ।’ 

गत असोजमा ठूलो टुँडिखेलमा फुटबल खेल्न पुगेका स्थानीय युवालाई नेपाली सेनाका जवानले खेल्नै नदिई फर्काए। सेनाको पोसाकमै रहेका ३ जना र अन्य केही सादा पोसाकका सैनिकले स्थानीय १५ युवालाई यहाँ फुटबल खेल्न दिएनन्। सैनिकहरूले ‘यहाँ फुटबल खेल्न माथि (सेनाको ब्यारेकमा) निवेदन दिइ अनुमति लिनुपर्छ’ भनेपछि ती युवा निरास भएर फर्कन बाध्य भए। वर्षाैंदेखि यही टुँडिखेलमा फुटबल खेलिरहेका आफूहरूलाई कसरी एकाएक अनुमतिको कुरा गरियो भन्ने अझै नबुझेको ती युवा बताउँछन्। 

ऐतिहासिक र पर्यटकीय दृष्टिले समेत मत्ववपूर्ण सदरमुकामको ठूलो टुँडिखेल अहिले सर्वसाधारणको पहुँचबाहिर जस्तै छ। नेपाली सेनाको नाममा रहेकाले यो टुँडिखेलमा सर्वसाधारणलाई खेलकुदका लागि असहज हुन थालेको चौतर्फी गुनासो छ। इतिहासदेखि सर्वसाधारणकै सक्रियतामा अहिलेको अवस्थामा आएको टुँडिखेलमा खेलकुद आयोजना गर्न केही वर्षअघिसम्म कुनै बाधा–अवरोध थिएन। तर, सशस्त्र द्वन्द्वका बेला सेनाले सर्वसाधारणलाई टुँडिखेलमा भेला हुन र खेलकुद आयोजना गर्न नियन्त्रण गर्न थालेको थियो। देशमा लोकतान्त्रिक गणतन्त्र र संघीयता लागू भइसकेपनि टुँडिखेलमा आफूहरूको पहुँच भने टाढा हुँदै गएको सर्वसाधारणको गुनासो छ। 

टुँडिखेलमा फुटबल प्र्रतियोगिताहरू हुन छाडिसकेका छन्। हरेक वर्ष हुने माइभ्याली गोल्डकप आयोजकले यहाँ बाँसको अस्थायी प्यारापिट निर्माण गर्ने गरेको छ। टुँडिखेल मर्मत गर्ने, दुबो रोप्नेजस्ता काममा अहिलेसम्म करिब ३० लाख रुपैयाँ खर्च भएको माइभ्याली क्लबले जनाएको छ। ‘यत्रो रकम एकैपटक खर्चन पाएको भए स्थायी प्यारापिटसमेत निर्माण गर्न सकिन्थ्यो,’ अखिल नेपाल फुटबल संघ (एन्फा) सदस्य तथा जिल्ला फुटबल संघका पूर्वअध्यक्ष निरोज खड्गीले भने, ‘सेनाको मातहतमा रहेकाले हामीले यो मैदानमा सानो काम गर्न पनि सेनाकै अनुमति लिन बाध्य हुनुपरेको छ।’ 

एन्फाले भर्खरै यो टुँडिखेल मर्मतका लागि १० लाख रुपैयाँ पठाएको थियो। तर, मर्मत अनुमतिका लागि सेनालाई लेखेको पत्रको जवाफ अहिलेसम्म नआउँदा आएको रकम पनि अर्कैतिर गइसकेको खड्गीले बताए। ‘टुँडिखेल मर्मतलाई रकम नआएको पनि होइन तर खर्च गर्न सेनाको अनुमति नै नआएर त्यो रकम अर्कै मैदानका लागि गयो,’ उनले भने। नेपाल, भारत, भुटान, बंगलादेशलगायत देशका ए–डिभिजन क्लबसहितका टिम सहभागी हुने माइभ्याली गोल्डकपमा दैनिक ८ हजारभन्दा बढी दर्शक भेला हुने गरेका थिए। 

ठूलो टुँडिखेललाई सर्वसाधारणको पहुँचमा ल्याउन र यहाँ सहज ढंगले खेलकुद प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउन जनप्रतिनिधिले पनि पटक–पटक औपचारिक–अनौपचारिक प्रतिबद्धता नगरेका होइनन्। सेनाको जग्गा स्थानीय तहमातहत ल्याउन संघीय मन्त्रिपरिषद्कै निर्णय चाहिने हुनाले संघीय मन्त्रालयमा समेत पहल गर्ने उनीहरूको प्रतिबद्धता भने आश्वासनमै सीमित छ। यस क्षेत्रका प्रदेशसभा सदस्य रामबहादुर रानामगर टुँडिखेललाई सर्वसाधारणकै बनाउन केन्द्रस्तरमा कुरा भएको बताउँछन्। ‘इलाम बजारभित्रको टुँडिखेल जनतालाई दिने पहल गर्न आयोग नै बनाएर जानुपर्छ,’ उनले भने, ‘सेनालाई सट्टाभर्ना गरिदिने मैदानको विकल्प पनि खोज्नु आवश्यक छ।’ 

सदरमुकामको गढीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति असीमदीप गुरुङले सेनाको मातहतमा टुँडिखेल भएको स्थानमा करिब २५ रोपनी जमिन भएको थाहा भएपनि अन्य रेकर्ड जिल्लामा नरहेको बताए। ‘यो टुँडिखेल के गर्ने, कसलाई दिने या नदिने भन्ने सबैखाले निर्णय माथिल्लो निकायबाट हुन्छ,’ उनले भने, ‘सेनाको मातहतमा रहेकाले त्यहाँ केही गतिविधि वा मर्मत गर्नुपर्ने माथिकै अनुमति चाहिने हो।

कसैको जमिन अरू कसैले मर्मत गर्छु भन्यो भने नदिनु त स्वभाविकै हो तर हामीले यहाँ खेल्न चाहिँ कसैलाई रोक लगाएका छैनौं।’ गणपति गुरुङले यो टुँडिखेलमा सबै सर्वसाधारणलाई खेलकुद आयोजना गर्न आफूहरू बाधक नबनेको बताए। ‘अनुमति त लिनुपर्छ तर हामीले अप्ठ्यारो पारेर प्रतियोगितै आयोजना गर्न नदिएको भन्ने कुरा सत्य होइन,’ उनले भने, ‘टुँडिखेलको जमिन अतिक्रमण भइरहेकाले त्यसको संरक्षण गर्नु आवश्यक भएको छ।’ 

स्थानीय सुवेदी थरका तत्कालीन एक सैनिककै पहलमा १९३९ सालतिर यहाँ टुँडिखेल निर्माणको पहल सुरु भएको इतिहास छ। त्यतिबेला स्थानीय महिला–पुरुषले टँुडिखेल निर्माण गर्न आफैं कोदालो खन्नेदेखि गोरु नारेर सम्याएको इतिहासकार युद्धप्रसाद वैद्यले बताए। ‘भुटेको मकैको खाजा खाएर स्थानीय सर्वसाधारणले यो टुँडिखेल निर्माण गरेको इतिहास छ,’ वैद्यले भने, ‘सुवेदीले काफ्ले परिवारलाई बेचेको यो जमिन त्यसको सय वर्षपछि ज्यादै थोरै मुआब्जा दिएर सेनाको नाममा गएको हो।’ 

वैद्यका अनुसार १९८० को दशकमा राज समशेर बडाहाकिम भएका बेला इलाममा फुटबल खेल जम्न थालेको हो। त्यतिबेला नजिकैको दार्जिलिङका युवाको टिम पनि यही टुँडिखेलमा फुटबल खेल्न आउँथ्यो। १९९० को दशकमा बडाहाकिम भएर आएका महावीर समशेरले इलाममा फुटबल टिम नै तयार गरी विभिन्न स्थानका युवासँग प्रतिस्पर्धा गरेर जितेको वैद्यले बताए।

‘महावीर निकै फुटबलप्रेमी रहेछन्, उनले स्थानीय युवालाई फुटबलमा सहभागी गराएर बेलुका जसले जितेपनि खसी काटेर भोज लगाउने बानीसमेत बसालेका थिए,’ उनले भने, ‘पूर्वी नेपालबाट भारतको पश्चिम बंगालमा भारतीय सेनामा भर्ना भएर गएका युवा फुटबल खेल्न इलाम आउँथे। २००७ सालमा त यहाँ पूर्वाञ्चलका जिल्लाको खेलकुद प्रतियोगिता नै भएको थियो।’

उनले अहिले नेपाली सेनाले यो मैदान बढी नियन्त्रण गरेकाले सर्वसाधारणलाई खेलकुदमा समस्या परिरहेको बताए। ‘इतिहासले यो मैदान जनताकै भएको पुष्टि गर्छ,’ उनले भने, ‘सेना पनि नेपाली जनताकै सम्पत्ति भएकाले टुँडिखेललाई सर्वसाधारणको पहुँचयोग्य बनाउनु अहिलेको आवश्यकता भएको छ।’ 

यही मैदानमा फुटबल खेलेर धेरै खेलाडी राष्ट्रियस्तरमा समेत चर्चित भइसकेका छन्। चर्चित फुटबलर नवयुग श्रेष्ठ, धिरेन्द्र प्रधान, लोकबन्धु गुरुङ, सुवास राई, छिरिङ गुरुङलगायतले पनि यही मैदानलाई पहिलो पाठशाला बनाएका थिए।

‘यो मैदानलाई भरपुर उपयोग गरेर जिल्लामै फुटबल एकाडेमी सञ्चालन गर्नसके देशका लागि दक्ष फुटबलर इलामले अझै उत्पादन गर्न सक्छ,’ जिल्ला खेलकुद विकास समिति अध्यक्ष वृहस्पति उपरकुटीले भने, ‘त्यसका लागि सर्वसाधारणलाई सहज हुनेगरी यो मैदानको व्यवस्थापन कुनै न कुनै निकायले जिम्मा लिन आवश्यक भएको छ।’ 

प्रकाशित: ३ श्रावण २०७५ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App