coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पारस र प्रतिभा सेन्चुरीका सद्भावना दूत

सेन्चुरी बैकद्वारा बुधबार बानेश्वरमा आयोजित सद्भावना दूत घोषणा कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का (बीच) र भलिबल खेलाडी प्रतिभा माली (बायाँबाट दोस्रो)। तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई सद्भावना दूतमा नियुक्त गरेको छ।

बैंकले बुधबार आयोजिक एक कार्यक्रमका बीच पारस र प्रतिभालाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको हो। यद्यपि दुई पक्षबीचको सम्झौता रकमका बारेमा भने केही बताइएको छैन।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले आफूहरू स्थापना कालदेखि नै खेलकुद क्षेत्रसँग जोडिँदै आएको भन्दै पारस र प्रतिभालाई सद्भावना दूत नियुक्त गर्नु त्यसको निरन्तरता भएको बताए।

‘पारस र प्रतिभालाई सद्भावना दूत नियुक्त गर्दै हामी नेपाली क्रिकेट र राष्ट्रिय खेल भलिबलसँग प्रत्यक्ष जोडिएका छाैं,’ गौतमले भने, ‘उनीहरूसँगको सहकार्यबाट बैंकको लोकप्रियता तथा व्यावसायिक क्षमता अभिवृद्धिमा मद्दत पुग्नेमा हामी विश्वस्त छाैं।’

त्यस्तै कार्यक्रममा बोल्दै पारसले आफूलाई सद्भावना दूतमा नियुक्त गरेकोमा धन्यवाद दिँदै यस सहकार्यले हौसला थपिएको बताए।

‘नेपालमा अन्य खेल र खेलाडी पनि थिए । तर उहाँहरूले हामीलाई नै सद्भावना दूतमा नियुक्त गर्नुभयो । त्यसैले म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ,’ पारसले भने, ‘बैंकसँग आबद्ध हुन पाउँदा म हर्षित छु । क्रिकेट टोली बिहीबार पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय भ्रमणमा निस्कँदै छ । भ्रमणको एक दिन अगाडि गरिएको यस सम्झौताले मेरो मनोबल समेत उच्च भएको छ।’

‘पछिल्लो समय खेलकुद क्षेत्रमा कर्पोरेट क्षेत्रले राम्रो लगानी गरिरहेका छन् । त्यसैले नेपाललमा खेलजगत् व्यवस्थित हुने हो भने कर्पोरेट क्षेत्रको लगानी अझै बढी भित्रनेछ,’ पारसले थपे।

यता प्रतिभाले पनि बैंकसँगका सहकार्यले मनोबल बढेको बताइन् । ‘बैंकले हामीलाई सद्भावना दूतमा नियुक्त गर्दै खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप अघि बढाएको छ,’ प्रतिभाले भनिन्, ‘यस्तो सम्झौताले खेलाडीको मनोबल बढ्नुका साथै आगामी दिनमा अन्य खेलाडीलाई पनि राम्रो प्रदर्शन गर्न प्रोत्साहन गर्नेछ ।’ कार्यक्रममा बोल्दै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले पारस र प्रतिभालाई सद्भावना दूत नियुक्त गर्न पाउँदा हर्षित भएको बताए।

‘खेलकुदले राष्ट्रलाई एकताको सूत्रमा बाँध्छ,’ भट्टराईले भने, ‘पारस र प्रतिभालाई सद्भावना दूतमा नियुक्त गर्दै हामीले खेलकुद क्षेत्रसँग गर्दै आएको सहकार्यलाई नयाँ आयाम दिएका हाैं । उहाँहरूसँगको सहकार्य दुवै पक्षका लागि फलदायी हुनेमा हामी आशावादी छाैं।’

प्रकाशित: ३ श्रावण २०७५ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App