१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डेसच्याम्पसलाई बेकेनबाउरको स्वागत

बर्लिन – खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकपको उपाधि जितेका फ्रान्ज बेकेनबाउरले मंगलबार डिडियर डेसच्याम्पसलाई आफ्नो क्लबमा स्वागत गरेका छन्।

१९७४ मा खेलाडीका रूपमा पश्चिम जर्मनीबाट विश्वकप जितेका बेकेनबाउरले १९९० मा प्रशिक्षकको भूमिकामा १९९० मा जर्मनीलाई विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता जिताएका थिए । बेकेनबाउरभन्दा अगाडि ब्राजिलका मारियो जगालोले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जितेका थिए।

जगालोले १९६२ मा खेलाडी, १९७० मा मुख्य प्रशिक्षक तथा १९९४ मा सहायक प्रशिक्षकको फरक भूमिकामा विश्वकप जितेका थिए । यसै गरी १९९८ मा खेलाडीका रूपमा फ्रान्सलाई पहिलो पटक विश्वकपको उपाधि जिताएका डेसच्याम्पस २० वर्षपछि आइतबार फ्रान्सले अर्को उपाधि जित्दा प्रशिक्षकको भूमिकामा थिए । विश्वकपको इतिहासमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा उपाधि जित्ने डेसच्याम्पस तेस्रो फुटबलकर्मी हुन् । डेसच्याम्पस र बेकेनबाउर खेलाडीका रूपमा विश्वकप जित्दा आफ्नो टोलीका कप्तान थिए।

कप्तानको भूमिकामा टिममा रहँदा नेतृत्व गर्ने क्षमता विकास हुने बताउँदै बेकेनबाउरले त्यो बाँकी करियरका लागि पनि उपयोगी हुने बताए । ‘कप्तानका रूपमा लामो समय खेल्दा ममा स्वाभाविक रूपमा नेतृत्वको क्षमता विकास भएको थियो । पछि प्रशिक्षक भएर काम गर्न पनि मलाई त्यसबाट सहयोग पुग्यो,’ बेकेनबाउरले भने, ‘यसपालि विश्वकपका दाबेदारहरूमध्ये फ्रान्सको खेलमा मात्र एकरूपता थियो । उनीहरूले हरेक खेलमा उस्तै स्तरीय फुटबल खेले । फ्रान्सेली टिम र डेसच्याम्पसलाई बधाई छ । म उनलाई हाम्रो क्लबमा स्वागत गर्न चाहन्छु।’

बेकेनबाउरले विश्वकपको लामो इतिहासमा थुप्रै राम्रा खेलाडी उत्पादन भएको भन्दै दुवै भूमिकामा उपाधि जित्नेहरूको क्लब अझै फराकिलो हुनुपर्ने बताए । ‘१९३० देखि अहिलेसम्ममा विश्वकपको युग धेरै लामो भइसकेको छ । यसबीचमा धेरै पूर्वखेलाडीले प्रशिक्षकका रूपमा पनि सफलताको प्रयास गरेका छन् । तर त्यस्तो सफलता धेरैले हासिल गर्न सकेका छैनन् । उदाहरणका लागि म्याराडोनाले पनि यो प्रयास गरे, तर सफल भएनन् । तर अबका दिनमा पूर्वखेलाडीले प्रशिक्षकका रूपमा पनि सफलता पाउनुपर्छ,’ बेकेनबाउरले थपे।

 

प्रकाशित: ३ श्रावण २०७५ ०५:५३ बिहीबार

डेसच्याम्पसलाई बेकेनबाउरको स्वागत