६ वैशाख २०८१ बिहीबार
खेल

शक्ति ‘दी पावर’ को अन्तिम भ्रमण

नेदरल्याण्डविरुद्ध एकदिवसीय क्रिकेट खेल्न लर्ड्स जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – नेपाली क्रिकेट टोलीले कुनै पनि प्रतियोगिता खेल्दा कप्तान पारस खड्का टस जितेर पहिला फिल्डिङ रोज्छन् । यसको प्रमुख कारण हो पारसले नेपाली बलरप्रति देखाएको विश्वास । किनभने बलियो मानिएका नेपाली बलरसमक्ष विपक्षी ब्याट्सम्यानलाई खुलेर खेल्न थप कठिन हुन्थ्यो । अझ नेपालको स्पिन अट्याकले बलिङ आक्रमणलाई थप मजुबत पारेको थियो। 

२०१४ मा नेपालले पहिलो पटक बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपमा सहभागीता जनाउँदा नेपाली स्पिन आक्रमणले धेरै चर्चा पायो । हङकङविरुद्धको खेलमा ३ विकेट लिएपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनको नामलाई अर्थाउदै पाकिस्तानका पूर्व क्रिकेटर रमिज राजाले ‘शक्ति दी पावर’ भने । त्यसपछि थुपै्र सञ्चार माध्यमले शक्तिको ‘शक्ति’वारे थुप्रै समय र ठाउँ दिए। 

‘जसरी पहिलो पटक नेपालले एकदिवसीय खेल खेल्दै संन्यास लिने प्रतिबद्धता लिएको थिएँ, नयाँ जोसीला भाइहरूको अझ राम्रो गरेर टेस्ट खेल्दै मैले जस्तै संन्यासको घोषणा गरेको हेर्ने इच्छा छ।’ 

पछिल्लो १६ वर्ष नेपाली स्पिन आक्रमणको नेतृत्व गरिरहेका शक्तिको जादूमा विपक्षी ब्याट्सम्यान लरबराउँदा नेपाललाई सफलता आउने गरेको इतिहास छ । उनै चर्चित नेपाली राष्ट्रिय टोलीका भेट्रान स्पिनर शक्तिले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिने निधो गरेका छन् । अर्थात नेपाली क्रिकेटको ‘पावर’ तटस्थ हुने भएको छ। 

एक दिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग खेल्दै नेपाली राष्ट्रिय टोलीले एकदिवसीय खेलको सुरुआत गर्दैछ । सोही खेल शक्तिका लागि भने राष्ट्रिय टोलीबाट अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । युरोप भ्रमणमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले विश्राम लिने मनसाय सुनाएका हुन्। 

‘खेल्दा खेल्दै नेपाली जनताको अगाडि विदाई हुने इच्छा छ, एउटा खेलाडीका लागि त्यो भन्दा सुखद क्षण कुनै हुँदैन । त्यसैले नेपालमा आयोजना हुने खेलबाट मैले विश्राम लिने निर्णय गरेको छु । यद्यपि नेदरल्यान्ड्स विरुद्धको शृंखला भने मेरो लागि अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुनेछ,’ बुधबार टोलीको विदाईमा आयोजित कार्यक्रममा भावुक बनेका शक्तिले भने, ‘मैले पहिला पनि मभन्दा राम्रो खेल्न मेरा भाइहरुले विश्वास दिलाएको बेला मात्रै सन्यास लिन्छु भनेको थिएँ । अहिले नेपाली टोलीमा प्रतिभाशाली युवा खेलाडीको कमी छैन । त्यसकारण संन्यास लिन यो नै मेरो लागि उपयुक्त समय हो।’

‘जसरी पहिलो पटक नेपालले एकदिवसीय खेल खेल्दै सन्यास लिने प्रविबद्धता लिएको थिएँ, नयाँ जोशिला भाइहरुले अझ राम्रो गर्दै टेष्ट खेल्दै मैले जस्तै सन्यासको घोषणा गर्नुपर्छ’, शक्तिले थपे। 

शक्तिले नेपालको राष्ट्रिय टोलीबाट एकदिवसीय खेल्ने चाहना पुरा हुन लागेकोमा समेत खुसी लागेको बताए । उनले भने, ‘मलाई नेपाली टोलीको जर्सी लगाएर एकदिवसीय खेल्ने रहर थियो, त्यो नेदरल्यान्ड्ससँग खेलेर पुरा हुँदैछ । म असाध्यै खुसी छु।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)बाट एक दिवसीय मान्यता पाएपछि नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शृंखलाका लागि साउन १६ र १८ मा नेदरल्यान्ड्ससँग खेल्दैछ । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय टोली बिहिबार इङ्ल्यान्डको लर्डसतर्फ प्रस्थान गर्दैछ ।  साउन १३ गते लन्डनको  लर्डस क्रिकेट मैदानमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक ट्वान्टी–२० शृंखला हुनेछ।

ट्वान्टी–२० शृंखलापछि नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट खेल्ने छ । जुन शक्तिका लागि अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । लगातार १६ वर्ष राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शक्ति गौचन नेपाली क्रिकेट खेलका अनुभवी  र पाका  खेलाडी हुन् । उनले २००२ मा ओमनविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

नेपाली टोलीका भरपर्दा खेलाडी शक्तिसँग खेल्ने मौका पाउनु नै भाग्य रहेको कप्तान पारस खड्काले बताए । ‘शक्ति दाई नेपाली क्रिकेटमा सबै भन्दा मेहनत गर्ने खेलाडी हो । मलाई लाग्छ उहाँको उमेर जति म क्रिकेट खेल्न सक्दिन । किन भने क्रिकेटप्रतिको लगाव र झुकाबले उहाँलाई स्थापित गरिसकेको छ,’ खड्काले भने, ‘त्यसैले क्रिकेटमा समपर्ण गरेबापत उहाँलाई सरकारले उचित मूल्याङ्कन गर्नुपर्छ।’  

यु–१७ हुँदै यु–१९ टोलीबाट राष्ट्रिय टोलीमा प्रवेश गरेका गौचन विपक्षी टोलीको इनिङलाई धरासयी बनाउँदै अन्य खेलाडीलाई जोश प्रवाह गर्ने बलर हुन् । कठिन मोडमा नेपाललाई निकास दिने सदस्य हुन् । ९ वटा अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा सहभागिता जनाएका शक्तिले ५.६३ को इकोनोमीमा ८ विकेट हात पारेका छन् । चारवटा प्रथम श्रेणीका खेल खेलेका शक्तिले ६ इनिङमा १ सय ७१ रन बनाएका छन । यस्तै, लिष्ट ‘ए’ का २३ खेलमा ३ दशमलव ८५ को इकोनोमीमा १८ विकेट शक्तिले लिएका छन।  

विभिन्न कठिन समयमा शक्तिले आफ्नो ब्याटिङबाट पनि टोलीलाई संकटबाट बचाएका छन् ।  सन २००१ मा नेपालको यू– १७ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका शक्तिले यू–१९ को विश्वकप टोलीमा नेपालको प्रतिनिधित्व गरेका थिए। 

२०१२ मा भएको आईसिसी ट्वान्टी–२० विश्वकप छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका थिए । छनोट खेलमै शक्तिले डेनमार्कविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । उनी नेपाली क्रिकेट टोलीबाट ह्याट्रिक विकेट लिने पहिलो खेलाडी थिए ।  २०१२ मै भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिँदा डिभिजन  ४ मा १० विकेट हात लिन सफल भएका थिए। 

डिभिजन ४ अन्तर्गत मेलेसियाविरुद्धको खेलमा १० ओभरमा ८ मेडन राख्दै दुई रनमा तीन विकेट लिएर शक्तिले आफ्नो नाममा कीर्तिमान बनाएका छन्।  

प्रकाशित: ३ श्रावण २०७५ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App