७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

काठमाडौं - अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई यात्रुका लागि खुसीको खबर छ । हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपालीको बिमा रकम प्रतियात्रु १ लाख ५० हजार अमेरिकी डलर (डेढ करोड रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसद पठाउने निर्णय  मन्त्रिपरिषदले गरेको छ।  

हाल हवाई मार्गबाट विदेश आवागमन गर्दा वायुसेवा कम्पनीले नेपालीको बिमा रकम प्रतियात्रु २० हजार अमेरिकी डलर (२० लाख रुपैयाँ) मात्र गरिरहेका छन् र यस्तो नियममा ६३ वर्षदेखि कुनै परिवर्तन आएको छैन । सरकारले यस्तो गम्भीर विषयमा लामो समयदेखि चासो नदिँदा नेपाली यात्रु विदेशी यात्रुको दाँजोमा विभेदको शिकार हुँदै आएका छन्।

‘तर, अब भने जहाज चढेर विदेश जाने–आउने नेपाली यात्रुको बिमा रकम डेढ करोड रुपैयाँसम्म हुने गरी ‘मोन्ट्रियल अभिसन्धि’ कार्यान्वयन गर्ने प्रस्ताव संसदमा पेस गर्न मन्त्रिपरिषदले निर्णय गरेको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधबार नागरिकसँग भने, ‘यो प्रस्तावलाई संसदले एक साताभित्र अनुमोदन गर्ने छ।’

उनका अनुसार संसदले पर्यटन मन्त्रालयको प्रस्ताव अनुमोदन गर्नासाथ यससम्बन्धी पत्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मा पठाइने छ । त्यसपछि नेपालमा मोन्ट्रियल अभिसन्धि कार्यान्वयनमा आउँछ ।
‘यो सन्धि कार्यान्वयनमा आउनु भनेको हवाई मार्गबाट विदेश आवागमन गर्ने नेपालीको बिमा रकम ड्ढ करोड रुपैयाँबराबर पुग्नु हो,’ मन्त्री अधिकारीले भने, ‘यसमा अहिले हामी ९९ प्रतिशत सफल भएका छौं ।’

हालका लागि अन्तर्राष्ट्रिय उडानमा यो नियम कार्यान्वयनमा ल्याउने तयारी अन्तिम चरणमा पुगे पनि आन्तरिक उडानमा समेत नेपाली यात्रुको बिमा रकम ७५ हजार डलर (७५ लाख रुपैयाँ) हाराहारी पुर्याउने योजना रहेको उनले जानकारी दिए । ‘हामी सम्भवतः एक वर्षभित्र यो नियम कार्यान्वयनमा ल्याउने गरी काम गरिरहेका छौं,’ उनले भने।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई मार्गबाट विदेश आवागमन गर्ने नेपालीको बिमा रकम प्रतियात्रु २० हजार डलर (२० लाख रुपैयाँ) बराबर हुने भनेर सन् १९५५ मा नेपालले ‘हेग प्रोटोकल’ मा हस्ताक्षर गरेको थियो । यो प्रोटोकल १९२९ मा बनेको ‘वार्सा अभिसन्धि’ को संशोधित रूप हो । त्यसयता जहाजमा विदेश आवागमन गर्ने नेपालीको बिमा रकम २० हजार डलरबाट माथि जान सकेको छैन।

त्यसपछि पुनः सन् १९९९ मा क्यानडाको मोन्ट्रियलमा भएको ‘मोन्ट्रियल अभिसन्धि’ ले हवाई यात्रुको बिमा रकम वृद्धि गरी १ लाख ५० हजार डलरहाराहारी पु¥याएको थियो । यो अभिसन्धिलाई आइकाओका अधिकांश सदस्य राष्ट्रले कार्यान्वयनमा ल्याएका छन् । नेपाल आइकाओको सदस्य भएका कारण त्यही बेला यो अभिसन्धि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, दक्षिण एसियामा नेपाल र बंगलादेशले यो अभिसन्धिलाई कार्यान्वयन गरेका छैनन्।

सन् २०१२ मा आइकाओका अध्यक्षले नेपाल भ्रमण गरेका बेला यहाँका राष्ट्रपति, प्रधानमन्त्री, पर्यटन मन्त्रीलगायत उच्च सरकारी अधिकारीलाई भेटेर मोन्ट्रियल अभिसन्धि कार्यान्वयन तथा उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउन आग्रह गरेका थिए ।त्यसबेला सरकारले पुनः प्रतिबद्धता जनाएको थियो । तर, ६ वर्षदेखि हालसम्म मोन्ट्रियल अभिसन्धि कार्यान्वयनमा आएको छैन । त्यसयता आइकाओले धेरै पटक नेपालको ध्यानाकर्षण गराइसकेको छ।

‘मोन्ट्रियल अभिसन्धि कार्यान्वयन गर्ने हाम्रो विगतकै प्रतिबद्धता हो । आइकाओको सदस्य राष्ट्र भएका कारण यात्रुको हकहितका लागि यसका नीति, नियम, सिद्धान्त पालना गर्नु कर्तव्य हो,’ उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘हाम्रा वायुसेवाले विदेश उडान गर्दा त्यसमा सवार विदेशी यात्रुको बिमा डेढ करोड रुपैयाँबराबर नै हुन्छ तर नेपालीको भने उही २० लाख रुपैयाँमात्रै हो । यस्तो असमानता हटाउन मोन्ट्रियल अभिसन्धि कार्यान्वयनमा ल्याउनैपर्छ ।’

 

प्रकाशित: ३ श्रावण २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App