coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुलुककाे समस्या समाधान नगरी प्रधानमन्त्री भारत जानु गलत: यादव

काठमाडौं–संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने बताएका छन्।

 

आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा स्वयम् प्रधानमन्त्रीलाई पनि भारतले राम्रो मान्दैन, त्यसैले जाने बेलामा दिल्ली जाने तर फर्कने बेलामा बिल्ली बन्न नपरोस्।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्विपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताए। उनले अघि भने, ‘आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा स्वयम् प्रधानमन्त्रीलाई पनि भारतले राम्रो मान्दैन, त्यसैले जाने बेलामा दिल्ली जाने तर फर्कने बेलामा बिल्ली बन्न नपरोस्।’

अध्यक्ष यादवले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने बताएका छन्। उनले अघि भने,‘मुलुकका बर्निङ् इस्युलाई सम्बोधन नगरी, लथालिंग छोडेर भ्रमणमा जाने रुचि नै गलत हो, यो प्रवृत्ति नै गलत छ।’
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारको प्रश्नमा यादवले भने, ‘हुन त स्वयम् प्रधानमन्त्रीले पनि भारत भ्रमणको बारेमा केही माग्न जान लागेको होइन भन्नुभएको छ, तर पनि जनतालाई सुसूचित गर्नुपर्छ।’

उनले प्रधानमन्त्री दाहालले भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाए। यादवले भने, ‘अहिले किन जानु पर्यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ नि!’ उनले प्रधानमन्त्रीलाई विदेशी सहयोग लिन चाहेको भएपनि अझै प्रशस्तै समय रहेको भन्दै व्यंग्य गरे।

अध्यक्ष यादवले सरकारले संविधान संशोधन त परै जाओस मोर्चासँग गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप समेत लगाए। उनले थपे, ‘गृहकार्य भइरहेको छ भनेर बाहिर कुरा आएको छ, तर कहाँ भएको हो, मलाई त थाहा छैन, यदि घरभित्र भएको हो भने हामीलाई थाहा छैन्।’ संविधान संशोधन गर्ने नेपालको आन्तरिक मामिला भएकोले सो विषय नेपाल आँफैले टुँगो लगाउने कुरामा आफू विश्वस्त रहेको यादवले बताए ।

संविधान जारी भएयता नेपाल–भारतबीच दूरी बढेको उल्लेख गर्दै असन्तुष्ट पक्षहरुको मागलाई संवैधानिक ढंगले संशोधनमार्फत हल गर्नुपर्ने आजको आवश्यकता रहेको बताए। यादवले संविधान कार्यान्वयनको लायक नै नभएकाले आफूहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेको स्प्ष्ट पारे ।

यादवले थपे,‘मधेशीको लाशमाथि टेकेर रगतको छिट्टाले पोतिएको संविधान बलजफ्ती जारी गरिएको हो, यसको हामी देशभर विरोध गर्दछौं।’
उनले भने,‘सरकार गठन पुरा नहुँदै छिमेकी देशमा दूत पठाएर सरकारले गम्भिर गल्ती गर्यो, अब हेर्दै जानुहोस के के असर पर्ने हो?’ स्थानीय निकाय प्रादेशिक सरोकारको विषय भएकोले केन्द्रीय निकायले हस्तक्षेप गरेको आरोप लगाए।

उनले प्रादेशिक संरचना र संघीयतालाई नै धरापमा पार्ने षड्यन्त्रको लागि स्थानीय निकायको चुनावको हल्ला चलाइएको बताए। संविधान संशोधनमार्फत आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव सम्भव नभएको यादवको दाबी थियो।

संशोधनको नाममा संशोधन गर्ने काम गरिए आफूहरुलाई त्यो कुरा कुनै हालतमा मान्य नहुने यादवले चेतावनी दिए। यादवले भने,‘गठबन्धन वा मोर्चासँग सहमति नगरिकन संशोधन गरियो भने हामी त्यसको घोर विरोध गर्छौं, समष्टिगत रुपमा समस्याको समाधान हुनुपर्छ, त्यसकालागि संविधान संशोधन गर्नुपर्छ।’

बलजफ्ती नाम मात्रैकालागि संशोधन गर्ने काम गरिए आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिँदै यादवले भने,‘आन्दोलनले संविधान बर्खास्त गर्छ, आँफैले गरेको गल्ती सुधार गर्ने वा सच्याउने अवसर हो, बल सरकारको कोर्टमा छ ।’ ९० प्रतिशतबाट संविधान जारी भएको भन्नेहरुले नै आज आएर संविधान संशोधन गर्नुपर्छ भन्दै हिँडेकोले संविधान संशोधनको विकल्प नभएको यादवको भनाई थियो ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App