८ वैशाख २०८१ शनिबार
समाज

नेपाली भाषामा विदेशी रुचि

काठमाडौं - कक्षामा लहरै विद्यार्थी बसेका छन् । शिक्षक अगाडि उभिएर लेक्चर दिइरहेका छन् । यो दृश्य हो राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसको । यस क्याम्पसमा विभिन्न भाषा पढाइन्छ।

यहाँ बुधबार विभिन्न देशका विद्यार्थीलाई नेपाली भाषाको अध्ययनबारे परामर्श कक्षा सञ्चालन गरियो । साउन ८ देखि यहाँ पहिलो सेमेस्टरको क्लास सुरु हुँदैछ । नेपाली भाषा पढ्न पहिलो सेमेस्टरमा १ सय ५४ जना विद्यार्थी भर्ना भएका छन् । यीमध्ये २५–२५ जनाको समूह बनाएर कक्षा सञ्चालन हुन्छ । विश्वभाषामा ६ तहसम्म नेपाली भाषाको पढाइ हुन्छ । क्याम्पसमा सबै सेमेस्टरमा गरी नेपाली पढ्ने विद्यार्थी २ सय ३६ जना छन्।

क्याम्पस प्रमुख भीम रेग्मीका अनुसार नेपाली पढ्न आउनेमा अमेरिकी नागरिक बढी छन् । दोस्रोमा कोरियाली र तेस्रोमा जापानी छन् । नेपाली भाषाको अध्यापन सहायक क्याम्पस प्रमुख चन्द्रमणि शर्मा, डा. घनश्याम न्यौपाने, कृष्ण पौडेल, परशुराम पौडेल, मुकुन्द राजपति र तिलबहादुर गुरुङले गराउँछन् ।

नेपाली पढ्न किन आउँछन् विदेशी ?
परामर्श कक्षामा भेटिएकी अस्ट्रेलियाकी मियाले नेपाली समाज, संस्कृति र नेपालीको मिलनसार व्यवहारले आफू नेपाली भाषातर्फ आकर्षित भएको बताइन् । उनी तीन वर्षपहिले नेपाल आएकी हुन् ।

उनका साथी सिन्धुपाल्चोकमा स्वयंसेवक शिक्षकको रुपमा काम गर्थे । उनी पनि आइन् र स्वयंसेवक शिक्षकका रुपमा काम गर्न थालिन् । ‘कक्षामा विद्यार्थी राम्रोसँग अंग्रेजी बोल्थे । ‘उनीहरुले हामी तपाईंको भाषा खरर बोल्छौं, तपाईंले हाम्रो भाषा नसिक्ने भनेपछि नेपाली पढ्ने मनस्थिति बनाएँ’, उनले भनिन् । उनलाई नेपाली संस्कृतिले पनि आकर्षित गर्यो।

नेपाली भाषा पढ्न आउनेमा अमेरिकी नागरिक बढी छन् । दोस्रोमा कोरियाली र त्यसपछि जापानी छन् ।

यस्तै जापानका थाकुमा आफ्नो देशमा रहेका नेपालीसँग कुरा गर्नलाई नेपाली भाषा पढ्न आएका हुन् । ‘मेरो गाउँमा नेपाली केटाकेटी धेरै छन् । उनीहरुसँग गफ गर्दा नेपाली सिक्न मन लाग्यो’, उनले भने, ‘सिकेर म जापान फर्किन्छु र त्यहाँ रहेका नेपालीसँग मन खोलेर कुरा गर्छु ।’कोलम्बियाकी जया मिन नेपाल आएको दुई वर्ष भयो । उनी पनि नेपाली भाषा पढ्दैछिन् । पर्यटक भएर नेपाल आउँदा यहाँको संस्कृति, मौसम र मानिस मन परेका फेरि भाषा पढ्न फर्किएको उनले सुनाइन् ।

इंग्ल्यान्डका डेभिट नेपाली संस्कृति मन परेर नेपाली भाषा पढ्न आएका हुन् । उनी १० वर्षअघि धार्मिक विषयको डकुमेन्ट्री बनाउन नेपाल आएका थिए । त्यति बेला नै उनलाई नेपाली संस्कृतिले प्रभावित बनाएको थियो । ‘लन्डनमा शान्ति मिलेन, काठमाडौंमा शान्ति पाएँ’, उनी भन्छन्, ‘बाँचुन्जेल नेपालमै बस्ने मन छ । बरु सरकारले भिसा दिन्छ कि दिँदैन भन्ने चिन्ता छ।’

नेपाली भाषा पढ्न आएका प्रायः विदेशी नेपालीको मिलनसार व्यवहार, संस्कृति र हावापानीका कारण आउने गरेको अध्यापक पौडेल बताउँछन् । ‘सस्तोमा पढ्न सकिने र काठमाडौंमा खानबस्न पनि सस्तो भएकाले विदेशीहरु नेपाली भाषा पढ्न आउँछन्’, उनले भने ।

नेपाली भाषाको स्नातक तह सञ्चालन

क्याम्पसले विदेशी विद्यार्थीका लागि यसै वर्षदेखि नेपाली भाषामा स्नातक तहको पढाइ सुरु गरेको छ । ३ बर्से कोर्सका लागि हालसम्म चारजना भर्ना भएका छन् ।

‘१० दिनपछि पहिलो सेमेस्टरको क्लास सुरु हुन्छ । चिनियाँ तीन र अन्य एक गरी चारजना भर्ना भएका छन् । ३ बर्से कोर्स हुँदा विद्यार्थी कम हुँदा रहेछन्’, क्याम्पस प्रमुख रेग्मीले भने । उनका अनुसार चिनियाँ, कोरियन, जापानिज र अरेबिक भाषामा पनि स्नातक सञ्चालन गर्ने तयारी भइरहेको छ ।

नेपालीको आकर्षण चिनियाँ भाषातिर

सहायक क्याम्पस प्रमुख चन्द्रमणि शर्माका अनुसार नेपाली विद्यार्थीको आकर्षण भने चिनियाँ भाषातिर देखिएको छ।

विश्वभाषा क्याम्पसले चिनियाँ भाषाका लागि २ सय ८० कोटामा आवेदन माग गरेकोमा ५ सय ७० जनाले आवेदन दिएका छन् ।विश्वभाषामा विद्यार्थीको अभाव नभए पनि भौतिक संरचना अहिले मुख्य समस्या रहेको छ । भवन, पुस्तकालयलगायतको स्तरोन्नति आवश्यक रहेको र बजेट अभावका कारण काम गर्न नसकेको शर्माले बताए ।
 

 

प्रकाशित: ३ श्रावण २०७५ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App