७ वैशाख २०८१ शुक्रबार
राजनीति

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

काठमाडौं– नयाँ संविधान अनुसार पार्टीको सांगठनीक संरचना परिर्वतनका लागि नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्ने तयारी गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान नेता रामचन्द्र पौडेलसहितका नेताहरूको बैठकले बिहीबारभित्र मस्यौदा समिति गठन गर्ने समझदारी गरेका हुन्।

बिहीबार अपराह्न पार्टीका शीर्ष नेता पौडेलले आफ्नो तर्फबाट समितिमा सहभागी गराउने नेताको नाम दिने सहमति भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । ‘उहाँ(रामचन्द्र पौडेल)ले भोलिसम्म नाम दिन्छु भन्नुभएको छ,’ महतले भने, ‘नाम आयो भने समिति गठन हुन्छ ।’

सभापतिसँगको छलफलपछि बुधबार नै चितवन पुगेका पौडेलले निकटहरुसँग कुरा गरेर बिहीबार अपहन पुनः बस्ने बैठकमा नाम दिने आश्वासन दिएका छन् । नौ सदस्यीय विधान संशोधनका लागि मस्यौदा समिति गठनको तयारीमा रहेका सभापति देउवाले नेता पौडेलसँग चारजनाको नाम मागेको नेताहरूको दाबी छ । समितिमा सहभागी हुने संख्यामा दुई पक्षीय नेताबीच सहमति जुट्न नसक्दा वैशाख १६ गतेसम्म सम्पन्न केन्द्रीय समितिले तत्काल मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म समिति गठन हुन नसक्दा आसान्न महासमिति बैठकसमेत प्रभावित हुन लागेको भन्दै नेताहरूको आलोचना सुरु भएको छ।

त्यस्तै, बैठकमा पार्टीको निर्वाचन, अनुशासन समितिसहितका विभाग गठनका विषयमा पनि छलफल भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र भ्रातृ संगठनका महाधिवेशन गर्ने विषयमा पनि भेटमा छलफल भएको थियो । विभागहरू जतिसक्दो छिटो गठन गरेर जाने विषयमा छलफल भइरहेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘विभाग गठनका लागि पनि सभापतिले रामचन्द्र पौडेलसहितका नेताहरूसँग नाम मागिरहनु भएको छ । उहाँहरुले नाम दिए तत्काल विभाग गठन हुन्छ ।’

नेताहरूको बैठकले केपी ओली नेतृत्व सरकार एकदलीय अधिनायकवाद लाद्न उद्यत भएको ठहर गर्दै त्यसविरुद्धको आन्दोलनलाई शसक्त बनाउने निष्कर्ष निकालेको छ । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । आन्दोलनको पक्ष र सरकारविरुद्धमा सदन र सडक दुवैलाई प्रभावकारी उपयोग गर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित: ३ श्रावण २०७५ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App